20th January | 2018 | Saturday | 7:08:33 AM

स्वास्थ्य स्वयंसेविका पुनर्वहालीको माग

  POSTED ON : 2018-01-03 08:27:11

स्वास्थ्य स्वयंसेविका पुनर्वहालीको माग

हिमालय टाइम्स

काठमाडौं । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रलाई कार्यरत नर्सलाई निकालेर आफ्नो नातेदारलाई काममा राखेको आरोप छ । विगत पाँच र तीन वर्षदेखि निरन्तररूपमा सेवाग्राहीलाई सेवा दिँदै आएकी सजना देउला र सजिना जतिलाई विनासूचना जबर्जस्ती कामबाट निकालेपछि केन्द्रलाई यस्तो आरोप लागेको हो । गएको साउन महिनामा उनीहरूलाई केन्द्रले विनासूचना कामबाट निकालेको थियो ।

आफूमाथि भएको अन्यायका कारण मानसिक तनावले अहिले उनीहरू अस्पताल भर्ना भएका छन् । बिरामीपछि केन्द्रमै उपचाररत उनीहरूले स्थापनाकालदेखि नै आफूहरूले सेवा गर्दै आएकाले काममा फर्काइनुपर्ने माग राखेका छन् । 

केन्द्रले दिएको जानकारीअनुसार करार नवीकरण नभएकाले उनीहरूलाई कामबाट हटाउनुपरेको हो । पीडितले भने राज्यका कुनै पनि पक्षले आफूहरूलाई सहयोग नगरेको गुनासो गरेका छन् । 

पीडितपक्षले केन्द्रमा स्वयंसेविकाको रूपमा सेवा दिँदै आएका नर्सहरूको विषयमा वकालत गरेका कारण आफूहरूलाई जबर्जस्ती निकालेको भनेका छन् । 

केन्द्रबाट निकालिएका नर्सहरूको कुरा सुनुवाइ नभए आन्दोलनमा उत्रने चेतावनी नेपाल नर्सिङ संघले दिएको छ । केन्द्रबाट विनासूचना नर्सहरू निकालिएको विषयलाई सरकारले समेत बेवास्ता गरेको भन्दै संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त चेतावनी दिएको हो ।

पीडितका पक्षमा सकारात्मक पहल नथालिए देशैभरका नर्स मिलेर आन्दोलनमा उत्रनेसमेत चेतावनी संघको छ । संघले विनासूचना निकालिएकी केन्द्रकी नर्सलाई न्याय दिलाउन अस्पताल र स्वास्थ्य मन्त्रालयलाई समेत पत्राचार गरिसकेको जनाएको छ ।