20th January | 2018 | Saturday | 7:22:30 AM

३८६ जनाको मिर्गौला प्रत्यारोपण सम्पन्न

  POSTED ON : 2018-01-12 01:03:16

३८६ जनाको मिर्गौला प्रत्यारोपण सम्पन्न

भक्तपुर । मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरले हालसम्म ३८६ जनाको मिर्गाैला प्रत्यारोपण गरेको छ । २०६९ साल वैशाख ११ गतेदेखि सेवा सञ्चालन गरेको केन्द्रले हालसम्म ३८६ जनाको मिर्गौला प्रत्यारोपण गरेको र गत वैशाखदेखि हालसम्म मात्र १०४ जनाको मिर्गौला प्रत्यारोपण गरेको केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले बताए । 

केन्द्रले चौबिसै घण्टा दैनिक १०० जनाभन्दा बढीको हेमोडायलाइसिस सेवा सञ्चालन गरेको पनि उनले जानकारी दिए । केन्द्रले मुलुकमा नै पहिलो पटक सफल मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौलाको प्रत्यारोपण, सफल कलेजो प्रत्यारोपण गर्नाका साथै सरकारी अस्पतालमा पहिलो पटक इन्डोस्कोपिक अल्ट्रासाउण्ड सेवा सर्वसुलभ रुपमा उपलब्ध गराएको बताए । 

मिर्गौला रोगीको चाप बढेसँगै सेवा थप्दै लगेको केन्द्रले अबको केही दिनमै भक्तपुरमा पहिलोपटक मुटुको ओपन हर्ट सर्जरी सेवा शुरु गर्न लागेको डा श्रेष्ठले बताए । विकास समिति ऐन, २०१३ को दफा ३ अनुसार मानव अंग प्रत्यारोपण विकास समिति गठन आदेश, २०६८ अनुसार गठन भएको यस केन्द्रको नामसमेत परिवर्तन गरी शहीदको नाममा नामाकरण गरेको छ । 

गत पुस १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र राख्ने निर्णय गरेको थियो । मन्त्रालयबाट परिपत्र आउने बित्तिकै अहिलेको बोर्ड परिवर्तन गरिने उनले जानकारी दिए । रासर