22nd July | 2018 | Sunday | 8:36:36 PM

चिसोका कारण बिरामी बढ्दै

  POSTED ON : Friday, 12 January, 2018 (3:25:44 PM)

चिसोका कारण बिरामी बढ्दै

पार्वती थापामगर

काठमाडौं । नियमित औषधि सेवन गरेर पनि रुघाखोकी निको नभएको भन्दै स्वास्थ्य परीक्षण गर्न आउने बिरामीको संख्या बढेको छ । अत्यधिक चिसोका कारण यसवर्ष शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिरामीको संख्या बढ्दै गएको छ । रुघाखोकी लागेर औषधि सेवन गर्दा पनि निको नभएपछि परीक्षणका लागि आउने बिरामीको संख्या बढी रहेको अस्पतालले जनाएको छ ।

चिसो तथा अत्यधिक धुलोधुँवाका कारण रुघाखोकीको औषधि सेवन गरे पनि रोग निको हुन नसकेको चिकित्सकहरूको भनाइ छ । अहिले अस्पतालमा त्यस्ता बिरामी दैनिक २० जनाको हाराहारीमा आउने गरेका छन् । यो संख्या दिनानुदिन बढ्दै गएको बताइएको छ । चिसो मौसम र धुलोधुवाँका कारण रुघाखोकीको समस्या लिएर परीक्षणका लागि आउने गरेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए ।

चिसोको समयमा  नवजात शिशु तथा बालबालिका, ६५ वर्ष नाघेका वृद्धवृद्धा, गर्भवती महिला, सुत्केरी, दम, श्वासप्रश्वासका बिरामीलाई छिटो संक्रमण देखिने भएकाले उनीहरूको स्वास्थ्यमा विशेष ध्यान दिन डा. पुनको सुझाव छ । केही दिन घरेलु उपचार गरेर हेर्ने मनसाय आम नागरिकमा पाइएको भन्दै उनले यस्ता व्यक्तिको विषयमा लापरबाही गर्न नहुने बताए । 

अत्यधिक बढ्दै गएको चिसोले यस्ता व्यक्तिलाई चाँडो समात्ने भएकाले अभिभावकले सामान्य रुघाखोकी र ज्वरो आउनेबित्तिकै तुरुन्तै नजिकैको स्वास्थ्यसंस्था तथा अस्पताल पु¥याई जाँच गराइहाल्नुपर्नेमा उनको जोड छ । 

बालबालिका र वृद्धवृद्धाको मामिलामा यस्ता समस्या आउनासाथ स्वास्थ्यचौकी नलगे उनीहरूको ज्यान जोखिममा समेत पर्न बेर नलाग्ने चिकित्सकहरूको भनाइ छ । उनीहरूका अनुसार वृद्धवृद्धा पहिल्यैदेखि नै विभिन्न रोगका शिकार भइरहेका हुनाले उनीहरूलाई चिसोको प्रभावले चाँडै असर गर्छ । केही दिनयता देशरभर चिसो बढेको छ । चिसो बढेसँगै आममानिसलाई रुघाखोकी, घाँटी दुख्ने, ज्वरो आउने, छाती दुख्नेलगायत समस्याले सताइरहेको छ ।

यदि चिसोका कारण रुघाखोकी र घाँटी दुख्ने समस्या भएमा त्यसलाई बेवास्ता नगर्न सरुवा रोग विशेषज्ञ डा. पुनको आग्रह छ । युवापुस्तालाई यस्ता रोगले बढी असर नगरे पनि वृद्धवृद्धा र बालबालिकामा भने निकै खतरनाक सावित हुने उनी बताउँछन् । चिसोको समयमा रुघाखोकीलाई सामान्य लिए लामो समयसम्म स्वास्थ्य समस्या देखिन सक्ने भएकाले पनि यस विषयमा सबै सजग हुनुपर्ने उनले बताए ।

चिसोबाट बच्नका लागि आम मानिसले न्यानो कपडा लगाउने, मास्क लगाएर बाहिर निस्कनुपर्ने, धेरै भीडभाड भएको ठाउँमा जान नहुने, चिसो पानी नपिउने, राम्ररी उमालेर मात्रै पानी पिउनुपर्ने, प्रशस्त झोलिलो पदार्थ पिउने, धुँवामा धेरैबेर नबस्ने, बाहिरबाट घर फर्केपछि हातगोडा राम्ररी धुने, हरियो सागपातलगायत पोषिलो खानेकुरा प्रशस्त खानुपर्ने चिकित्सकहरूको सुझाव छ ।

अचानक नाक बन्द हुने, घाँटीमा समस्या हुने, टाउको दुख्ने, रुघाखोकी जस्ता लक्षण देखा पर्ने भएकाले यसबाट समयमै सचेत हुन चिकित्सकहरू आग्रह गर्दछन् । अहिले बढ्दै गएको चिसोका कारण काठमाडौं उपत्यकालगायत देशभरको जनजीवन प्रभावित भइरहेकै बेला तराईका विभिन्न जिल्लामा सर्वसाधारण केही नागरिक, बालबालिकाको मृत्यु भएको छ । कर्णालीमा मात्र भाइरल ज्वरोका कारण पाँच वर्षमुनिका ७ जना बालबालिकाको मृत्यु भइसकेको छ ।