22nd September | 2018 | Saturday | 7:44:43 PM

क्यान्सर अस्पताल निर्माणका लागि आग्रह

अनिल पोखरेल   POSTED ON : Friday, 01 June, 2018 (7:31:22 PM)

क्यान्सर अस्पताल निर्माणका लागि आग्रह

राजविराज । सिरहाको लहानमा क्यान्सर अस्पताल निर्माणका लागि प्रदेश २ का मुख्यमन्त्री लालवावु राउतलाई स्थानीयले आग्रह गरेका छन् । 

विश्व धुम्रपान रहित दिवसका अवसरमा नेपाल अर्वुद रोग निवारण संस्थाले बिहिवार सिरहाको लहानमा आयोजना गरेको कार्यक्रममा उपस्थित भएका मुख्यमन्त्री राउतलाई यस्तो आग्रह गरिएको हो ।

नेपाल अर्वुद रोग निवारण संस्था सिरहाका जिल्ला अध्यक्ष अशोक अमात्यले २०७० साल फागुन १० गतेदेखि लहानमा क्यान्सर केयर सेन्टर स्थापना गरी भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक समेत झिकाएर क्लिनिक सञ्चालन भईरहेको जानकारी दिदै त्यसलाई क्यान्सर अस्पतालमा रुपान्तरणका लागि आग्रह गरे । उनले भने, ‘अस्पतालका लागि नगरपालिकाले २५ विगाह जग्गा समेत उपलब्ध गराउने भएको छ, अस्पताल निर्माण भए यस प्रदेशका क्यान्सरका रोगीहरुलाई ठुलो राहत मिल्ने छ ।’

प्रदेश सभा सदस्य रामकुमार यादव, सुनिता राम, धनगढी माई नगरपालिकाका मेयर हरिनारायण चौधरी, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलगायतले पनि क्यान्सर अस्पताल निर्माणका लागि पहल गर्न राउत समक्ष आग्रह गरे ।

कार्यक्रममा बौल्दै मुख्यमन्त्री राउतले क्यान्सर लागि सकेपछि उपचार गराउनु भन्दा क्यान्सर हुँनै नदिन प्रयास गर्नु पर्नेमा जोड दिए । उनले क्यान्सरको जरो नै धुम्रपान रहेकाले अहिले देखि नै परित्याग गर्न सबैलाई आग्रह गरे । धुम्रपानको लत लाग्नुको पछाडि अभिभावकको भूमिका पनि निर्णायक हुने भन्दै यसप्रति चनाखो रहन उनको आग्रह थियो ।

नेपाल अर्वुद रोग निवारण संस्थाका केन्द्रिय महासचिव जीवन होडाले पब्लिक प्राईभेट पार्टनरसिपमा प्रदेश २ मा क्यान्सर अस्पताल निर्माण गर्नु सान्दर्भिक हुने भन्दै त्यसका लागि आफूले समेत सक्दो सहयोग पुर्याउने प्रतिवद्धता जनाए ।

उक्त अवसरमा सप्तरीको डाकनेश्वरी नगरपालिकाका मेयर शिवनारायण साहले आफनो नगर क्षेत्रका विद्यालयहरुमा धुम्रपान त्याग्ने वातावरण मिलाउन विशेष कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाए । विद्यालयका वालवालिका मार्फत उनीहरुका अभिभावकलाई धुम्रपान त्याग्नका लागि सन्देश प्रवाह गरीने उनले जानकारी दिए ।


Views: 0