16th December | 2018 | Sunday | 10:50:11 AM

टेस्टट्युब बेबीका आफन्तले भने – ‘खुसीको त सीमै छैन’

पार्वती थापामगर   POSTED ON : Sunday, 03 June, 2018 (5:55:40 PM)

टेस्टट्युब बेबीका आफन्तले भने – ‘खुसीको त सीमै छैन’

काठमाडौं । ‘निःसन्तान हुँदा  गाउँमा बेलाबेला हुने भोजमा तितो शब्दले स्थानीयले घोचिरहन्थे ।  सन्तान प्राप्तिका लागि मुलुकभरका धामीझाँक्री तथा ज्योतिष सबैकहाँ धायौं । तर सन्तान भएन, निकै पछि ओम अस्पतालले ‘टेस्ट्युब बेबी’ प्रविधिद्वारा २००५ मा ‘ओममणि’ को बाबु बनाइदियो । त्यसबेला  खुसीको सीमा रहेन,’ भोजपुरका ६२ वर्षीय राजेन्द्र तामाङले भने । 

राजेन्द्र शनिबार राजधानीमा ‘फर्टिलिटी सोसाइटी अफ नेपाल, फेसन’ द्वारा आयोजित कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै थिए । ओममणि तामाङ ‘टेस्ट्युब बेबी प्रविधि’द्वारा जन्मिएका पहिलो सन्तान हुन् । सन्तान प्राप्तिका लागि आफूहरू भारतसमेत पुगेको राजेन्द्रले बताए ।

ओममणि अहिले १४ वर्षका भए । कक्षा ८ मा अध्ययनरत ओममणि कक्षाका सबै क्षेत्रमा अगाडि छन् । ‘छोराको आगमन हुने वित्तिकै छिमेकी सबैको मुख बन्द भएको थियो, त्यसबेला निकै आराम महसुस भएको थियो,’ राजेन्द्रले सम्झिँदै भने ‘निःसन्तानको पीडा राम्ररी बुझेको छु । त्यसैले टेस्ट्युब बेबी प्रविधिलाई धन्यवाद दिन्छु ।’ 

छोरा सबै क्षेत्रमा अगाडि रहेकाले आफूहरू निकै सन्तुष्ट रहेको उनको भनाइ थियो । कार्य व्यस्तता र वैदेशिक रोजगारीका कारण राजेन्द्रले ४० वर्षको उमेरमा विवाह गरेका थिए । ४८ वर्षमा बाबु बन्न पाउँदा आफ्नो खुसीको कुनै सीमा नरहेको उनी बताउँछन् । ‘कसैले तपाईंहरूको सन्तान कतिजना हो भनेर प्रश्न गर्दा मन अमिलो भएर दुख्थ्यो,’ उनले भने ।

अनामनगरका अर्का १४ वर्षीय निस्क भट्टराईको पनि ‘टेस्ट्युब बेबी’ प्रविधिद्वारा नै जन्म भएको हो । फिल्म निर्माता केशव भट्टराई र निता भट्टराईका सन्तानको रूपमा चिनिने निस्क पनि अहिले कक्षा ८ मै अध्ययनरत छन् । निस्क अरु विषयमा भन्दा गायन र नृत्य क्षेत्रमा निकै अगाडि छन् । 

‘पाँचपटक गर्भमै बच्चा खेर गयो । त्यसका लागि औषधि पनि धेरै अपनाएँ । ‘त्यति गर्दा पनि सन्तान नजन्मिएपछि हामीले पनि यो प्रविधिको हल्ला सुन्यौं,’ निस्ककी आमाले भनिन्, ‘पतिले यस प्रविधिको विषयमा चिकित्सकलाई पनि भेट्नुभएछ । त्यसपछि ५ लाख खर्च गरेर आफूहरूले छोराको रूपमा निस्क पाएका हौं ।’ 

उनीहरू केही उदाहरण मात्रै हुन् । अहिले टेस्ट्युब बेबी प्रविधिद्वारा ५ हजारभन्दा बढीको जन्म भइसकेको विभिन्न निःसन्तान केन्द्रको तथ्यांक छ । 

नेपालमा पतिपत्नीबीच सबै कुराको मिलोमतो भएपनि सन्तान नहुने समस्या भने कायमै रहेको चिकित्सक बताउँछन् । यस किसिमको समस्या लिएर क्लिनिकमा आउने दम्पतीको संख्या करिब ४० प्रतिशत रहेको उनीहरूको भनाइ छ । 

स्त्रीरोग विषशेज्ञ डा. भोला रिजालका अनुसार शुक्रकीट शून्य हुने पुरुषको संख्या करिब २५ देखि ३० प्रतिशतको हाराहारीमा छ । महिलाको पाठेघरको दुवै नली बन्द हुने संख्या पनि उत्तिकै मात्रामा छ  । यस किसिमको समस्या योनीको सरसफाइमा ध्यान नदिँदा हुने संक्रमण, पटकपटक गर्भपतन गराउँदा हुनसक्ने इन्फेक्सन, पाठेघरको ट्युमर निकाल्दा हुनसक्ने संक्रमण, पेल्भिक संक्रमण, इन्ड्रोमेट्राइटिस, क्षयरोगलगायतका कारण उत्पन्न हुन सक्छ ।

सन्तान नहुँदा व्यक्तिगत तथा  पारिवारिक वातारण तनावपूर्ण हुने भएकाले यसको लागि काउन्सिलिङको जरुरी रहेको वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. सानुमैयाँ श्रेष्ठले बताइन् । पहिला सन्तान नहुनुको कारण पत्ता लगाएर मात्रै गर्भधारणका लागि साधारण तरिकाबाट उपचार सुरु गर्नुपर्ने उनले सुझाइन् ।

पछिल्लो समय ढिलो विवाह गर्ने क्रम बढ्दो छ । यसो गर्दा   निःसन्तान बढी हुन सक्ने भएकाले सबैले यस विषयलाइ ख्याल राख्नुपर्ने चिकित्सक सल्लाह दिन्छन् । हरेक देशमा करिब १५ प्रतिशतमा ‘इन्फर्टिलिटी’को समस्या भएको पाइएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांक छ । 


Views: 20