22nd September | 2018 | Saturday | 7:41:21 PM

‘समयमै पहिचान नभए भयानक बन्छ बाथरोग’

पार्वती थापामगर   POSTED ON : Saturday, 09 June, 2018 (3:27:57 PM)

‘समयमै पहिचान नभए भयानक बन्छ बाथरोग’

काठमाडौं । विराटनगरकी ७४ वर्षीया मैया शेर्पा दुई वर्षदेखि ओछ्यानमै छिन् । उनको शरीरका अंगहरू चल्दैनन् । दिसापिसाब लाग्दा पनि अरूको भर पर्नुपर्छ । एउटै कोल्टोले दिन कट्छ । कोल्टे फेर्न नसकेरै उनको शरीरमा घाउ, खटिरा आउन थालेको छ । 

घरीघरी ती खटिरा सुम्सुम्याउँदै रुन्छिन्, अनि भन्छिन्, ‘कुन जुनीमा के पाप गरेछु, मर्न पनि कति गाह्रो ।’ उनलाई युवावस्थादेखि जोर्नी दुख्ने रोग थियो तर बाथरोग भन्ने पहिचान भएन । 

‘बाथरोग भनेर तीन वर्षअघि गाउँकै स्वास्थ्यकर्मीबाट थाहा भयो, जँचाउन जाँदा ढिला भइसकेको रहेछ क्यारे डाक्टरले पनि सुईले घोपेर फर्काइदिए,’ उनले विगत सुनाउँदै भनिन्, ‘हातखुट्टा झमझमाउँथ्यो, कटकट खान्थ्यो, गल्थ्यो, कक्रक्क हुन्थ्यो, कहिलेकाहीँ लाटो हुन्थ्यो ।’ यतिबेला उनी बोल्नमात्रै सक्छिन् ।

काठमाडौंमा छोरासँगै भाडामा बस्दै आएकी मैयालाई आफ्नै जीवन बोझ लाग्न थालेको छ । रोगको पहिचानमा ढिलाइ भएको र जथाभावी औषधि प्रयोगसँगै खानपानमा समेत ख्याल राख्न नसक्दा अहिले यस्तो परिणाम भोग्नुपरेको चिकित्सकबाट उनले थाहा पाइन् ।  

उदयपुर लिमचुङबुङ गाउँपालिका–१ की ६७ वर्षीया मनसरी थापा पनि लामो समयदेखि बाथरोगबाट पीडित छिन् । धामीझाँक्रीमा विश्वास राख्ने उनले अहिलेसम्म खानामा ध्यान पु¥याउँदै आएकी छिन् तर पनि बेलबेलामा उनलाई निकै गाह्रो पार्छ । 

उनको पनि बेलाबेलामा हातगोडा झमझमाउने, जोर्नीहरू दुख्ने, औंलाहरू बाउँडिने भइरहन्छ । उनी अस्पताल जाने कुरा गर्दिनन् । अस्पतालको औषधिले निको हुँदैन भन्ने उनको धारणा छ । भन्छिन्, ‘म अस्पताल जान्न । बरु धामी लगाउँछु र गाउँकै जडिबुटी प्रयोग गर्छु, यसले मलाई धेरै आराम मिल्छ ।’ 

मैया र मनसरीजस्तै समयमा रोगको पहिचान नभए पक्षाघात हुन्छ, ज्यानसमेत जान सक्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वमा कुल जनसंख्याको करिब १० प्रतिशतलाई बाथरोग छ । नेपालमा हालसम्म २.४२ प्रतिशत बाथरोगीले मात्रै उपचार सेवा पाएको तथ्यांक छ ।

काठमाडौंको रातोपुलस्थित नेसनल बाथरोग सेन्टरमा ७५ हजार २७५ जना बाथका बिरामीले उपचार सेवा पाएका छन् । उक्त सेवा देशैभर विस्तार गर्न जरुरी रहेको चिकित्सकहरू बताउँछन् । उनीहरूले चेतनाको अभावका कारण पनि बाथ रोग न्यूनीकरणको साटो भयानक बन्दै गएको बताएका छन् । 

बाथरोग विशेषज्ञ डा. विनित वैद्यका अनुसार उपचारसँगै अनुसन्धान र जनचेतनामूलक कार्यक्रमसमेत पु¥याउन जरुरी छ । चेतनाको पाटोलाई सरकारी तथा गैरसरकारी संघसस्थाले समेत ध्यान दिन जरुरी रहेको डा. वैद्यको भनाइ छ । ठाउँठाउँमा निःशुल्क शिविरहरू सञ्चालन गर्नुका साथै सोही अवसर पारेर जनचेतनासमेत जगाउन जरुरी रहेको उनले बताए । बाथ रोगको उपचारमा आवश्यक जनशक्ति नहुँदा पनि समस्या कम नभएको उनको भनाइ छ । 

बाथरोगले शरीरका जोर्नी र यस वरपरका संरचनाहरू दुख्ने, सुन्निने र बांगिने, अररो भई राम्ररी नचल्ने, जोर्नी र जिउ दुख्नेलगायत लक्षण देखा पर्छ । बाथरोग एक सयभन्दा बढी प्रकारको हुने भएकाले पनि उपचारमा समस्या भएको चिकित्सकहरू बताउँछन् । बाथरोगमध्ये आमबाथ, जोर्नी खिइने बाथ, ‘युरिक एसिड’ को बाथ, ढाडको बाथ, मुटुजन्य बाथज्वरो र नसाको बाथ छन् । 

बाथरोग जुनसुकै उमेरको व्यक्तिलाई हुन सक्छ । नेपालमा धेरै मानिस बाथरोगबाट पीडित छन् । यसले धेरै व्यक्तिहरू शारीरिक, मानसिक र सामाजिक समस्या भोग्न परिरहेको चिकित्सकहरू बताउँछन् । चिकित्सकहरूका अनुसार जुनसुकै उमेरमा बाथरोग देखिने र लामो समयसम्म रहिरहने कडा कडा हुन्छ । पुरुषलाई भन्दा महिलालाई बढी बाथरोग लाग्ने विभिन्न बाथरोग सेन्टरहरूको तथ्यांक छ । नेसनल बाथरोग सेन्टरका अनुसार रोगको सुरु अवस्थामा हातगोडाका जोर्नी दुख्ने, औंला, नाडी, कुहिना, कुम, घुँडा र गोलीगाँठा दुख्ने, सुन्निने र अररो हुने जस्ता समस्या लिएर बिरामीहरू आउँछन् ।

रोग छिप्पिँदै गएपछि भने हातगोडाका जोर्नीहरू जाम हुने, बांगिने, उमेर बढ्दै जाँदा जोर्नीमा रहेको कुरकुरे हाड नष्ट हुँदै जाने, घुँडा, गर्धन, कम्मरको मेरुदण्ड, हात तथा खुट्टाका बुढीऔंलाका फेद तथा नितम्बको जोर्नीमा समस्या उत्पन्न हुन्छ । यस्तो अवस्थामा औषधिले समेत काम नगर्ने भएकाले यस विषयमा चनाखो रहन चिकित्सकहरू सुझाउँछन् । भित्री अंगमा समेत असर गर्ने भएकाले समस्या थपिँदै जान्छ । 


Views: 1