16th December | 2018 | Sunday | 12:38:45 PM

राष्ट्रकवि घिमिरेको स्वास्थ्यमा सुधार

  POSTED ON : Sunday, 10 June, 2018 (10:12:45 AM)

राष्ट्रकवि घिमिरेको स्वास्थ्यमा सुधार

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत घिमिरेको स्वास्थ्यमा सुधार भएको उनका छोरा इन्दिवर घिमिरेले जानकारी दिए । 

गत जेठ १९ गते मेदान्तबाट उपचार गराएर फर्किएका राष्ट्रकवि घिमिरेलाई पुनः सोही दिनदेखि नै सानो आन्द्राबाट रक्तश्राव हुन थालेपछि गत जेठ २१ गते मेदान्तमा उपचारका लागि पुनः लगिएको हो । 


“अहिले बुबाको स्वास्थ्य अवस्था राम्रो भएको छ । सानो आन्द्राबाट रक्तश्राव हुने क्रम रोकिएको करीब चार दिनजति भयो ।” छोरा इन्दीवरले भने, “पहिलेको तुलनामा धेरै सुधार भएको छ । आउँदो सोमबारसम्म चिकित्सकले अस्पतालमा राखेर हेर्ने भएका छन् ।” 

यसअघि उनलाई जेठ ९ गतेदेखि १० दिनसम्म मेदान्तमा राखेर उपचार गराइएको थियो, तर सोही दिनदेखि उनको पुरानो सानो आन्द्राबाट रक्तश्राव हुने समस्या पुनः बल्झिएको थियो । 

उनको अहिले मेदान्तमा उच्च हेरविचार इकाइ (हाइकेयर युनिट)मा राखेर चिकित्सक डा रणवीर सुदको टोलीले उपचार गरिरहेको छ । 

छोरा घिमिरेले छातीमा देखिएको निमोनियाको संक्रमण पनि ठीक भएको बताए । राष्ट्रकवि घिमिरे गत वैशाख २८ गतेदेखि सानो आन्द्राबाट निरन्तर रक्तश्राव भएपछि अस्वस्थ भएका थिए । शुरुमा धापासीस्थित ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालमा उपचार गराएका घिमिरेको स्वास्थ्यमा सुधार नआएपछि भारत लगिएको हो । 

राष्ट्रकवि घिमिरेको साथमा उनका कान्छा छोरा राजीव घिमिरे गएका छन् । ९९ वर्षीय घिमिरे विगत चार महिनादेखि अस्वस्थ छन् । रासस


Views: 13