16th December | 2018 | Sunday | 11:29:36 AM

अनुहारको चाया–पोतो कसरी हटाउने ? सरल तरिका.......

  POSTED ON : Monday, 11 June, 2018 (8:08:25 PM)

अनुहारको चाया–पोतो कसरी हटाउने ? सरल तरिका.......

हिमालय टाइम्स काठमाडौं । चाया–पोतोको समस्या महिलामा मात्र होइन आजकल पुरुषहरुमा पनि यो समस्या देखिन थालेको छ । जसलाई समयमै उपचार गर्न सके यसबाट छुट्कारा पाउन सकिन्छ । कालोपोतो अर्थात् चायाको बेलैमा उपचार ग¥यो भने शतप्रतिशत निको हुन्छ । 

कतिपय चाया–पोतो उपचारले समाधान भएको हुन्छ । तर सावधानी नअपनाउँदा फेरि बल्झिएको पनि हुन्छ । उपचारबाट पूर्णरुपमा निको हुने र फेरि आउँदै नआउने भन्ने धारणाचाहिँ गलत हो । यसर्थ यसलाई मेन्टन गरि रहनु पर्दछ । यो समस्या हुनेहरुले केयर वा मेन्टेनेन्स नगरे त्यो फेरि आउने गर्दछ ।

कालो चायापोतोको उपचार स्किन हस्पिटलका साथै क्लिनिकहरुमा पनि हुने गर्दछ । ब्युटिपार्लरमा पनि यसको उपचार हुने गरेको पाइन्छ । औषधिको प्रयोग, केमिकल पिलिङ र लेजर प्रविधिबाट पनि चाया–पोतोलाई हटाउन सकिन्छ ।

फेसियल गर्नु प्रभावकारी उपाय

यदि ब्युटिपार्लरमा उपचार गराउने हो भने तालिमप्राप्त एवम् अनुभवी ब्युटिसियनद्वारा उपचार गराउनुपर्ने हुन्छ । चाया–पोतो हटाउन फेसियल एकदमै प्रभावकारी हुन्छ । 

साथै घामबाट डढेर आएको सजिलै निको हुन्छ तर बिरामी र औषधिको साइड इफेक्टका कारण आएको चाया–पोतोको उपचार गर्न गाह्रो हुन्छ ।

सनब्लकको प्रयोग अनिवार्य

खासगरी चाया–पोतो जाडो महिनामा बढी देखा पर्ने गरेको छ । यो समयमा सनब्लक लगाउनुपर्दैन भन्ने आमबुझाइ छ । त्यसैले धेरैजसोले जाडोमा सनब्लक लगाउँदैनन् । सनब्लक नलगाउँदा छाला डढेर कालो हुन्छ अनि चाया–पोतो देखिन थाल्छ  । जाडोमा पनि सनब्लक लगाउनु उपयुक्त हुन्छ । बाहिर ननस्किए पनि वा घाम नै नलागेको दिन भए पनि सनब्लक क्रिम लगाउन जरुरी छ ।

 गर्मी महिनामा कम्तीमा शीतल छहारीमा त बसेका हुन्छौँ । जाडोको बेला होस् वा गर्मीको बेला, अनि जहाँसुकै बसे पनि सनब्लक लगाउनु राम्रो हो । 

फेसप्याक र फेसवासको प्रयोग

दिनको दुईपटक फेसवास प्रयोग गर्नाले छालाको मृतकोशिका बिस्तारै हट्दै जान्छ । यसका लागि नीम फेसवास प्रयोग गर्नु राम्रो हो । चाया–पोतो हटाउन घरमै विभिन्न प्रकारका फेसप्याक बनाएर लगाउन सकिन्छ । फेसप्याकले दाग, खटिरा, फोहोर र मृतछालासमेत हटाउन मद्दत मिल्छ । तर यसका लागि दक्ष ब्युटिसियनको सहयोग लिनु उपयुक्त हुन्छ ।

फेस प्याकमा मुसुरोको दाल, श्वेतचन्दन (श्रीखण्ड), रक्तचन्दन, कपुर, बेसार, मञ्जिष्ठाको मिश्रण गरेर घिउकुमारीको लेपमा मिलाई नियमित प्रयोग गर्नाले चाया–पोतो हट्दै जान्छ ।

यदि सामान्य रुपले कालोपोतोको समस्या देखिएको हो भने यसलाई आफैंले घरेलु उपचार गरेर निको पार्न सकिन्छ । घिउकुमारीको गुदीलाई कालोपोतो–चाया देखिएको भागमा लगाउँदा लाभदायक हुन्छ । कसै–कसैलाई भने डन्डिफोरसँगै कालोपोतो देखिने समस्यासमेत रहने गरेको छ । यस्तो स्थितिमा भने मुलाको बीउको पेस्ट लगाउनु राम्रो हुन्छ भने सिमलको काँडा घोटेर लगाउँदा पनि डन्डिफोरसँगै कालोपोतोको समस्याबाट मुक्ति पाइन्छ । 

–हेल्थ टिप्सबाट


Views: 19