21st September | 2018 | Friday | 12:41:06 PM

क्यान्सर पीडित गरिबका पीडा

पार्वती थापामगर   POSTED ON : Tuesday, 26 June, 2018 (1:06:39 PM)

क्यान्सर पीडित गरिबका पीडा

काठमाडौं । ‘कहिलेकाहीँ मलाई पनि सबैले माया गरून्  जस्तो लाग्छ, माया नपाउँदा सहानुभूति मात्रै देखाइदिए पनि हुन्थ्यो जस्तो हुन्छ,’ एकल महिला तथा क्यान्सर पीडित अस्मिले भनिन् । हरेक क्षेत्रमा आफूलाई नकारात्मक दृष्टिले हेर्दा समाजसँग भन्दा क्यान्सरसँग लड्न सजिलो लाग्छ ।

अस्मिको बिहे २७ वर्षको उमेरमा भयो । बिहे भएको ७ वर्षमा श्रीमान्को मृत्यु भयो । अहिले उनी ४५ वर्षीय अस्मिका सन्तान छैनन् । पतिको मृत्यु भएपछि केही वर्षपछि आफ्नै घर विरानो बन्न पुग्यो । ‘विहे भइसकेकी महिलाको घर भनेकै पतिको घर हो, माइत गए पनि केही दिनको पाहुना मात्रै हो । केही महिना माइत गएर बसिसकेपछि मलाई माइत झनै बस्न नहुने रहेछ भन्ने लाग्यो,’ उनले भनिन्, ‘सन्तान भइदिएको भए पनि घरमा अधिकार जमाएर बस्ने थिएँ, तर निःसन्तान थिएँ । त्यसैले माइतबाट पनि निकै टाढा गएर दैनिकी गुजार्न थालेँ ।’

बलबुता हुञ्जेल उनले राजधानीका गाईभैंसीलाई घाँस काटेर गुजारा चलाइन् । ‘पाठेघरको मुखको क्यान्सर भएको वर्षदिन पुग्नै लागेको छ । ‘गह्रौं भारी उचाल्न र बोक्न सक्दिनँ । कमाउन नसक्दा समाजले समेत विभिन्न नकारात्मक नजर र अपशब्दले घोच्न थालेको छ,’ गौरीघाटमा घाँस काट्दै गरेकी अस्मिले मलिन अनुहारमा भनिन् ।

ललितपुरकी शोभा पाण्डे दैनिक गुजारा र औषधि खर्च जुटाउनकै लागि अरुको घरमा सरसफाइ गर्न जान्छिन् । उनले आफ्नो स्वास्थ्य समस्याकै कारण गरिरहेको काम पटकपटक गुमाउनु परेको गुनासो गरिन् । उनलाई पनि पाठेघरको मुखकै क्यान्सर छ । ४० वर्षीया शोभालाई क्यान्सर भएको पाँच महिना भएको छ । उनका १४ वर्षीय छोरा छन् । उनको पनि विवाह भएको तीन वर्ष नबित्दै वैदेशिक रोजगार गएका पतिको मृत्यु भयो । अर्घाखाँचीकी शोभालाई समाजले पति टोकुवा, अलच्छिनी जस्ता अपशब्द प्रयोग गर्न थालेपछि काखमा छोरा च्यापेर राजधानी छिरेकी थिइन् । 

‘राजधानीबासीले समेत छोराको बाबु सोधेर हैरान बनाउँछन्, जवाफ दिँदादिँदा थाकिसकेको छु । बरु क्यान्सरको पीडा सहन सक्छु, समाजको अपहेलना सहन गाह्रो छ,’ उनले भनिन् । 

हेटौँडाकी सिर्जना तामाङ पनि पाँच महिनादेखि स्तन क्यान्सरबाट ग्रसित छन् । ३९ वर्षीया सिर्जनालाई चिकित्सकले ६ महिनासम्म निरन्तर रूपमा औषधि सेवन गरे औषधिबाटै क्यान्सर निको हुने बताएका छन् । उनले करिब ६ वर्षसम्म डान्सबारमा काम गरिन् । उमेर ढल्किदै गएपछि डान्सबार निकालिदियो । त्यसपछि ज्यामी काम गरिन् । ‘होटलमा भाँडा पनि माझेँ अहिले पनि यस्तै काम गर्छु, तर क्यान्सर भएपछि समस्या बढ्न थालेको छ,’ उनले भनिन् । काभ्रेकी सुनिता दनुवारले पनि केही समयअघि मात्रै स्तन र पाठेघर दुवैको क्यान्सरको अप्रेसन गरेकी छन् । राजधानीको एक रेस्टुरेन्टमा काम गर्ने उनलाई समाजले सकारात्मक रूपले सोच्दैन । 

उनीहरू केही उदाहरण मात्रै हुन् । नेपालमा अझै पनि सयौं एकल महिलाहरू समाज र रोग दुवैसँग कुस्ती खेल्दै आइरहेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांकअनुसार विश्वमा प्रत्येक ६ व्यक्तिमध्ये एकजना क्यान्सरका बिरामीले ज्यान गुमाउँछन् । त्यस्तै, वर्षेनी प्रत्येक वर्ष विश्वमा ८२ लाख मानिसले क्यान्सरका कारण ज्यान गुमाउने गरेका छन् । विकासशील देशमा झन्डै ७० प्रतिशतले क्यान्सरकै कारण ज्यान गुमाउँछन् । अत्यधिक सुर्तीजन्य पदार्थको सेवन, धुलो, धुवाँ, अस्वस्थ खानपान तथा अव्यवस्थित जीवनशैलीका कारण मानिसमा क्यान्सर भइरहेको चिकित्सकहरू बताउँछन् ।

नेपालमा सन् २०१४ मा गरिएको अध्ययनअनुसार वर्षेनी १४ हजार ३ सय मानिसले विभिन्न क्यान्सरबाट ज्यान गुमाउने गरेका छन् । 

भक्तपुर क्यान्सर अस्पतालमा मात्रै सन् २०१७ सम्ममा नयाँ पुराना गरी ६८ हजार ४ सय ४१ क्यान्सर रोगी पुगेको अस्पतालले जनाएको छ । तीमध्ये पाठेघरको मुखको क्यान्सर ४ सय ६२ वटा, स्तन क्यान्सर ३ सय ३७ वटा र घाँटीको क्यान्सर ४ सय २२ वटा थिए । 

समयमै स्वास्थ्य जाँच गर्न सकिए क्यान्सरलाई हराउन सकिने स्त्री रोग विशेषज्ञ डा. मिरा हाडा बताउँछिन् । उनले परीक्षणको क्रममा चिकित्सकले पाठेघरको मुखमा ‘एसिटिक’ नामक ‘एसिड’ लगाएपछि क्यान्सर पत्ता लाग्ने बताइन् । उनका अनुसार ‘एसिटिक’ नामक ‘एसिड’बाट परीक्षण गराउँदा क्यान्सर रहेछ भने सेता असामान्य कोषहरू देखा पर्छन् । त्यसलाई औषधिबाटै निको पार्न सकिन्छ । भयानक बन्न पाउँदैन । तर, नेपालमा अशिक्षा र चेतनाको अभावकै कारण अन्तिम अवस्थामा क्यान्सर पत्ता लाग्दा भयानक बन्न पुग्छ ।

(समाचारमा क्यान्सरपीडित महिलाको नाम परिर्वतन गरिएको छ)

 


Views: 0