18th November | 2018 | Sunday | 5:49:55 PM

टाइफाइडका बिरामी बढे

  POSTED ON : Wednesday, 04 July, 2018 (12:29:51 PM)

टाइफाइडका बिरामी बढे

काठमाडौं (रासस) । वर्षायामको सुरुवातसँगै टाइफाइडका बिरामी बढेका छन् । दूषित पानी र खानाका कारण टाइफाइडका बिरामी बढेका हुन् । गत वर्ष वर्षायामको सुरुआतमा भन्दा अहिले टाइफाइडका बिरामी बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रयोगशाला प्रमुख परमान्द भण्डारीले बताए ।

उनले भने, ‘गत वर्ष हप्तामा दुई–तीनजनामात्र टाइफाइडका बिरामी आउँथे, अहिले यो संख्या बढेको छ, अहिले हप्तामा आठ÷नौ जनासम्म यस्ता बिरामी प्रयोगशालाका जाँचमा देखिएका छन् ।’ गत वर्ष हैजाका बिरामी टेकूमा आएका थिएनन् तर यस वर्ष वर्षायामको सुरुवातमै तीनजनामा हैजा देखिएको उनले बताए । वर्षायाम सुरु भएकाले यो संख्या बढ्न सक्ने अस्पतालको भनाइ छ । 

टेकू अस्पतालमा आएका बिरामीमा आउँका बिरामी भने गत वर्षभन्दा कम देखिएका छन् । वर्षा हुने समय सुरु भएकाले सरुवा रोगका बिरामी अझै बढ्न सक्ने अनुमान अस्पतालको छ । गर्मीयाममा पानीको अभाव हुन, वर्षाले पानीका मुहान दूषित भएको पानी पिउँदा र खानाका कारण बिरामीको संख्या बढेको हुनसक्छ । यो संख्या शिक्षण, वीर र पाटन अस्पतालमा पनि बढेको बताइएको छ । 

वीर अस्पतालका प्रयोगशाला विभागका प्रमुख डा. हरिशचन्द्र उप्रेतीले हेपाटाइटिस ए, सी र ई तथा पखालाका बिरामी पनि आइरहेको बताए । यस वर्ष जेठ र असार १५ सम्म वीर अस्पतालको प्रयोगशालाबाट हेपाटाइटिस ई जाँच गराएका २५ बिरामीमध्ये नौ जनामा हेपाइटिस ई देखिएको थियो । उनले भने, ‘धेरैजसो पानीजन्य रोगका बिरामी टेकू जाने भएकाले हामी कहाँँ कम संख्यामा आउने गर्छन् ।’ 

निरन्तरको वर्षाले पानी, कीट र हावाजन्य रोगको जोखिम बढेको छ । पानीका मुहान् दूषित हुने हुँदा पानी उमालेरमात्र पिउन चिकित्सकले सुझाएका छन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन सिधै मुहानबाट ल्याइएको पानीमात्र नभई किनेर ल्याइएको जारको पानी उमालेरमात्र प्रयोग गर्नुपर्ने बताउँछन् । उनले भने, ‘जारको पानीमा भर पर्ने अवस्था छैन, गत वर्ष जारको पानी दूषित पाइएको थियो, पानी शुद्धीकरण नगरी बेच्ने गरेकाले जोखिम छ, पानी उमालेरमात्र पिउनुपर्छ ।’

दूषित पानी, सरसरफाइ नपुग्दा तथा भाइरस र ब्याक्टेरिया संक्रमणले बिरामीको संख्या बढेको असपतालका सरुवा रोग विशेषज्ञ पुनले बताए । दूषित पानी, हावा र खानाबाट सर्ने टाइफाइड, हैजा, आउँ, पखाला र रुखाखोकी छिटो एकबाट अर्को व्यक्तिमा सर्ने रोग हुन् । समयमा उपचार नभए यस्ता रोगले ज्यानसमेत लिन सक्छ । बान्ता हुने, पातलो दिसा हुनु र जिउ शिथिल हुने लक्षण देखिने हैजा रोग ब्याक्टेरियाबाट सर्ने गर्दछ । 

यसबाट बच्न स्वच्छ पानी, सफा शौचालय प्रयोग गर्ने, सफा तथा ताजा खानेकुरा खाने र साबुनपानीले हात धुने गर्नुपर्ने डा. पुनको भनाइ छ । उपत्यकामा हैजाको जोखिम सधैं रहने गरेको छ । हैजा, पखालासँगै हेपाटाइटिस ए, टाइफाइडजस्ता सरुवा रोगको यो समयमा उच्च जोखिम हुने गरेको छ । 


Views: 10