18th November | 2018 | Sunday | 6:16:51 PM

नसर्ने रोगको बढ्दो खतरा

पार्वती थापामगर   POSTED ON : Friday, 06 July, 2018 (12:53:29 PM)

नसर्ने रोगको बढ्दो खतरा

नेपालमा पछिल्लो समय सडकमा उड्ने धुलो, धुवा, धुम्रपान, मध्यापान, सुर्तीजन्य पदार्थका अत्यधिक सेवन, अस्वस्थकर खानपान, नियमित जंगफुड सेवन, अत्यधिक माछामासु सेवन र शारीरिक व्यायमको अभावका कारण क्यान्सर, पक्षघात, मुटु रोग, मृगौला फेल, अल्जाइमर, पार्किन्ससजस्ता नसर्ने घातक रोग निम्तिन थालेका छन् । सबैले दैनिक खाने खानपान र बिहान नियमित आधा घण्टा शारीरिक व्यायम गर्न सके ८० प्रतिशतको हाराहारीमा यस्ता रोग न्युनीकरण गर्न सकिने क्यान्सर रोग विषशेज्ञहरूको भनाइ छ । 

स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा स्वास्थ्य केन्द्रले वर्षभरि देशैभर गरेको अध्ययन प्रतिवेदनअनुसार नेपालमा हरेक वर्ष ८ देखि १० हजारको हाराहारीमा नयाँ क्यान्सरका बिरामी थपिने गरेका छन् । प्रतिवेदनमा सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण नभएकै कारण यसरी नसर्ने रोग दिन प्रतिदिन बढ्दै गइरहेको अध्ययन प्रतिवेदनको निष्कर्ष छ । 

यो अध्ययन २०७४ वैशाखमा सुरु गरिएको थियो । अध्ययनअनुसार देशको एक तिहाइ जनसंख्यामा उच्च रक्तचाप भएको छ भने १५ प्रतिशतलाई मधुमेह भएको छ । जसमध्ये ४४ प्रतिशतको मृत्यु हुने गरेको छ । धुवाधुलोका कारण स्वासप्रश्वासका र मुटुका रोगीहरू ४० प्रतिशत छन् । यस्तै १२ प्रतिशतलाई मधुमेह हुने गरेको छ भने ५ प्रतिशतलाई क्यान्सर भएको पाइएको छ । 

जीवनशैलीमा आधारित नसर्ने रोगहरूको उच्च प्रकोप पछिल्लो समय निकै बढ्न थालेको पाइन्छ । नसर्ने रोगले वर्षेनी ६० प्रतिशत करिब बिरामी मृत्यु भइरहेको सरकारी तथ्यांक छ । नसर्ने रोगहरूको समयमै पहिचान र रोकथाम हुन नसक्दा व्यक्ति, परिवार र राष्ट्रका लागि नै भयानक बन्दै गइरहेको छ ।

यसले अकालमा मृत्यु हुनेमात्रै नभएर अपांगता समेत बढाएको छ । धेरैजसो नसर्ने रोगको उपचार महँगो हुन्छ । कम आम्दानी भएका र गरिबहरूका लागि नसर्ने रोग मृत्युघण्ट बनेर आउन थालेको छ । जीवनशैलीमा सामान्य परिवर्तन वा प्रयासबाट पनि यस्ता भयानक रोगबाट बज्न सकिने चिकित्सकहरूले सुझाउँदै आइरहेका छन् । 

दक्षिण एसियामा १८.५ प्रतिशत जनसंख्याले सुर्तीजन्य पदार्थ सेवन तथा धुमपान गर्ने गरेको तथ्यांक छ । जसमध्ये १५ प्रतिशत महिला छन् । तथ्यांकअनुसार १७ प्रतिशतले मध्यापान गर्ने गरेको पाइन्छ । यस्तै अनियमित तथा अस्वस्थकर खानपानकै कारण १८ प्रतिशत मोटोपना र ४ प्रतिशत अति मोटोपनाका सिकार समेत भएका छन् । ग्रामीण भेगमा पनि वातावरणीय तथा वायु प्रदूषणका कारण धेरैलाई मुटु रोग तथा क्यान्सरजस्ता नसर्ने रोगले पिरोल्न थालेको छ । कृषि उत्पादान खासगरी तरकारी र फलफूलमा विषादी प्रयोगका कारण पनि यस्ता रोगहरू बढ्दै गइरहेको पाइन्छ । 

सुर्ती र चुरोटले मुख र फोक्सोको क्यान्सर, मुटुरोग, हृदयाघात जस्ता थुप्रै नसर्ने रोगहरू लाग्ने गरेको क्यान्सर विषशेज्ञ डा. सुदीप श्रेष्ठ बताउँछन् । सुर्तीजन्य पदार्थको सेवन नगरे हरेक व्यत्तिको स्वास्थ्यमा सकारात्मक परिवर्तनहरू हुने उनी बताउँछन् । धुमपान गरिरहको मानिसले धुमपान त्याग गरे स्वासप्रस्वास, रक्तचाप, क्यान्सर, मुटुरागलगायतका रोग नियन्त्रणमा मद्दत पुग्नेछ । यस्ता पदार्थ सेवन गरिरहेका व्यक्तिले सजिलै छोडन नसके पनि प्रयास गरे विस्तारै सम्भव छ । 

मदिरा तथा धुमापान र सुर्तीजन्य पदार्थको प्रयोग गर्ने बानी छोड्न परिवारको सहयोग पनि आवश्यक पर्छ । चिकित्सक वा पुनस्र्थापना केन्द्रमा गएरसमेत विस्तारै त्याग्न सकिन्छ । रक्सी सेवन गर्न विस्तारै कम गर्दै जाँदा रक्तचाप सुधार हुने, कोलेस्टेरोल घट्नेलागायत सकारात्मक प्रभाव पर्ने भएकाले पनि चिकित्सकहरू कुलतका सबै बाटो त्याग्न प्रयास गर्न सल्लाह दिन्छन् ।

तन्दुरुस्त हुन मद्दत मिल्ने भएकाले पनि यसलाई सबैले नियमितता दिन जरुरी छ । यसले तौल र बोसोको मात्रा नियन्त्रण गर्नुका साथै मुटुरोग र मधुमेहको सम्भावना न्युन गर्छ । शरीरका मांसपेशी र हड्डी बलियो बनाउँछ र मानसिक स्वास्थ्यमा सुधार हुन्छ । चिकित्सकहरूले बालबालिकालाई समेत व्यायामको बानी बसाल्नसुझाउँदै आएका छन् । स्वस्थ रहनका लागि १८ देखि ६४ वर्षका मानिसले दैनिक कम्तिमा ३० मिनेट व्यायाम गर्नुपर्ने चिकित्सकहरूको भनाइ छ । 

चिकित्सकहरूका अनुसार २५ वर्ष नाघेका व्यक्तिले नियमित स्वास्थ्य जाँच गराउनुपर्छ । रोगको लक्षण देखापर्नु अगावै यसरी समयसमयमा स्वास्थ्यजाँच गराइरहँदा रोग न्युनीकरण सकिन्छ । पहिलो चरणमै रोग पत्ता लागेमा नसर्ने रोग पनि निको पार्न सकिने विषशेज्ञहरू बताउँछन् । स्वच्छ, पोषणयुक्त र सन्तुलित खाना खाने बानीले बालबालिकामा हुने कुपोषणलगायत अन्य प्रकारका नसर्ने रोगहरू नियन्त्रण गर्न सकिन्छ । 

सरकारले सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण गर्न, मदिरा सुर्तीजन्य पदार्थ, चिनियुक्त पदार्थ प्रयोगमा कमी ल्याउन कर वृद्धि गर्ने, वायु प्रदुषण घटाउने, पानीको गुणस्तर सुधार गर्ने प्रयास गरेको बताइएको छ । राष्ट्रिय पोषण केन्द्र र पोषण अधिकारीहरूको व्यवस्था, मानसिक स्वास्थ नीति, विद्यालयाहरूमा पनि सामुदायिक नर्सहरूको व्यवस्था गर्ने भनिएको छ । 

आठ किसिमका नसर्ने कडा रोग लागेका विपन्न नागरिकलाई १ लाख रुपैयाँ उपचार खर्च दिने व्यवस्था भएको छ । साथै निःशुल्क डायलासिस र बाथ मुटुको भल्भ शल्यक्रिया समेत निःशुल्क व्यवस्था गरिएको छ । 

सरकारले ७५ वटै जिल्लामा पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन निःशुल्क परीक्षण व्यवस्था गरेको छ । यस्तै देशका ५० वटा भन्दा बढीमा अस्पतालका फार्मेसीहरू सञ्चालन गरेको छ । छिल्लो समय नसर्ने रोगमध्ये सबैभन्दा बढी भयानक र घातकको रुपमा क्यान्सरलाई लिइएको छ । नेपालमा सन् २०१४ मा गरिएको अध्ययनअनुसार वर्षेनी १४ हजार ३ सय मानिसले क्यान्सरलगायत घातक नसर्ने रोगबाट ज्यान गुमाइरहेका छन् । विश्वमा प्रत्येक ६ व्यक्तिमध्ये एकजना क्यान्सरका विरामीले ज्यान गुमाइरहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांक छ । विश्वमा वर्षेनी ८२ लाख मानिसले क्यान्सरकै कारण ज्यान गुमाउने गरेका छन् । 


Views: 22