17th July | 2018 | Tuesday | 1:16:43 PM

आवासीय चिकित्सक हड्तालमा–आकस्मिक बाहेकका सेवा ठप्प

हिमालय टाइम्स   POSTED ON : Friday, 13 July, 2018 (12:33:12 PM)

आवासीय चिकित्सक हड्तालमा–आकस्मिक बाहेकका सेवा ठप्प

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु हड्तालमा उत्रेका छन् । १४ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै उनीहरु आजदेखि हड्तालमा उत्रेका हुन् ।

त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडिए) ले आजदेखि आकस्मिकबाहेकको सेवा ठप्प पार्ने घोषणा गरेको छ ।

एसोसिएसनका अध्यक्ष डा. सुमित पाण्डे र सचिव डा.विश्वराज तिमल्सिनाले विज्ञप्तिमार्फत १३ दिनसम्म पनि अनशनप्रति सरकार मौन रहनुले स्तब्ध बनाएको उल्लेख छ । 

नेपाल चिकित्सक संघको आह्वानमा देशभरका चिकित्सक एवं पेसाकर्मीले बुधबारैदेखि देशभरका स्वास्थ्य संस्थामा एक घण्टा सेवा छाडेर धर्नाको कार्यक्रम जारी राखेका थिए । संघले सरकार तत्काल संवेदनशील नभए देशभर सेवा ठप्प पार्ने चेतवनी समेत दिँदै आएको थियो ।

एनआरडीएद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कालोपट्टी बाँध्नेलगायतका विरोधका कार्यक्रमको सुनुवाइ नभएपछि कठोर कदम चाल्न बाध्य भएका छौं ।’

एनआरडीएले यसबाट हुने क्षति र असुविधाप्रति संगठन नभएर सरकार जिम्मेबार हुने समेत विज्ञप्तिद्वारा स्पष्ट पारेको छ ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यसंस्थामा कुनै किसिमका बन्द, हडताल, घेराउ, प्रदर्शनजस्ता कार्य नगर्न स्वास्थ्यकर्मीलाई चेतावनी दिएको छ ।

मन्त्रालयले देशमा बाढीपहिरो, सरुवा तथा संक्रामक रोगहरुले प्रभावित गर्ने समय भएको भन्दै देशभरका स्वास्थ्यसंस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई नियमित रुपमा कामकाजमा खटिन समेत निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीद्वारा हस्ताक्षरित सूचनामा अस्पतालभित्र बन्द, हडताल, घेराउ गरेगराएको पाइएमा त्यसमा संलग्न स्वास्थ्यकर्मीलाई आवश्यक सेवा सञ्चालन एन २०१४ को दफा ३ उपदफा १ ले दिएको अधिकार प्रयोग गरी कारबाही गरिने उल्लेख छ ।