22nd September | 2018 | Saturday | 4:48:30 PM

स्वाइन फ्लू र हङकङ फ्लुको प्रकोपपछि कञ्चनरुप नगरपालिका क्षेत्रलाई विपत क्षेत्र घोषणा

अनिल पोखरेल   POSTED ON : Friday, 14 September, 2018 (9:47:19 PM)

स्वाइन फ्लू र हङकङ फ्लुको प्रकोपपछि कञ्चनरुप नगरपालिका क्षेत्रलाई विपत क्षेत्र घोषणा

सप्तरी । स्वाइन फ्लू र हङकङ फ्लुको प्रकोप फैलिएपछि सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका क्षेत्रलाई विपत् क्षेत्र घोषणा गरे पछि  आम जनमानसको स्वास्थ्यलाई मध्य नजर गर्दै नगरका पुन तीन ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

कञ्चनरुप नगरपालिका क्षेत्रमा पछिल्लो तीन हप्तादेखी फैलिएको भाइरल ज्वरो कारण तीन बालकसहित चारजनाको मृत्यु भएको छ भने २ हजार भन्दा बढी बिरामी छन । भारतको झारखण्डस्थितको प्रसिद्ध तिर्थयात्रा बाबाधामगएकाहरु फर्केर आउदा स्वाइन फ्लू र हङकङ फ्लु सरेर आएको डाक्टरहरुको भनाइ रहेको छ ।

‘स्वास्थ्य सम्बन्धी जानकारी घरघर र्पुयाउने सहज माध्यम विद्यालय र विद्यार्थी पनि भएकाले हामीले शिक्षक समेत परिचालन गर्ने निर्णय गरेका छौं ।’ शुक्रवार नगर क्षेत्रका विद्यालयमा भाइरसको संक्रमण तथा त्यसबाट बच्ने उपायका बारेमा जानकारी दिँदै विद्यालयको पठनपाठन बन्द गर्ने सहमतिसमेत भएको नगरपालिकाका प्रवक्ता तथा ८ का वडा अध्यक्ष राजकुमार साहले बताए ।  

स्वाइन फ्लु र हङकङ फ्लुको भाइरस बढ्न नदिन र बिरामीको स्वास्थ्य उपचार गर्न नगरपालिकाका १२ वटै वडामा ‘घरघर पुगी’ स्वास्थ्यकर्मी परिचालन गरी उपचार गराउन स्वास्थ्यकर्मीको टोली परिचालित गरिएको छ । पर्याप्त औषधि सहित ३ सदस्यीय टोली हरेक वडामा परिचालित भएको संयोजक गुप्ताले बताए ।

यसैबीच स्वाइन फ्लुको भाइरस देखिएका कञ्चनरुप न.पा. ७ का हरिलाल साहलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । उनलाई धरानमा आइसोलेटेड गरी उपचार गरिने स्वास्थ्य संयोजक डम्बर गुप्ताले जानकारी दिए ।

कञ्चनरुप नगरपालिकामा ज्वरो आउने, खोकी लागेर सुरुमा तीन बालबालिका,एक वृद्ध महिला तथा महदेवा गाउँपालिकामा बालकको समेत सोही लक्षणले मृत्यु भएको थियो । 

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा महामारी रोग नियन्त्रण शाखाको टोलीले बिरामी मध्ये १० जनाको ¥याल परिक्षणका लागि केन्द्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाएको थियो । 

परिक्षणका क्रममा केही नमुनामा स्वाइन फ्लूको जिवााणु फेला परेपछि कञ्चनरुप नगरपालिका क्षेत्रका उच्च सर्तकता अपनाउँदै विपत् क्षेत्र घोषणा गरिएको हो ।

नगर कार्यपालिकाले आगामी मंगलबारसम्मका लागि नगरपालिका क्षेत्रमा रहेका सबै विद्यालय बन्द गर्न समेत निर्देशन दिएको छ । 

विद्यालयमा एकै स्थानमा बढी विद्यार्थीहरु जम्मा हुने भएको र त्यहाँ रोग सर्न सक्ने सम्भावना रहेकाले मंगलबार सम्मका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको नगर प्रवक्ता साहले बताए । औषधिसहितको स्वास्थ्यकर्मीको टोली परिचालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

सीमा नाकाबाट नेपाल प्रवेश गर्ने शंकास्पद बिरामीहरुका बारेमा उच्च सर्तकता अपनाउने, कुनौली सीमामा हेल्थ डेस्क स्थापना गर्ने, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय गरी विशेषज्ञ, औषधी र मास्कको व्यवस्थापन गर्ने निर्णय समेत विपत् व्यवस्थापन समितिले गरेको छ ।

 ग्रामिण क्षेत्रमा रहेको निजी स्वास्थ्य क्लिनकहरु र औषधि पसलहरुमा रोगका लक्षण देखिएका बिरामी आए तत्काल सुविधा समपन्न स्वास्थ्य संस्थामा रेफर गर्न समेत जिल्ला विपत् व्यवस्थापन समितिले आग्रह गरेको छ ।

यता कञ्चनरुप नगरमा स्वाइन फ्लू र हङकङ फ्लुको प्रकोप फैलिएपछि सिमना जोडिएको सप्तकोशी नगरपालिका पनि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । तर त्यस्तो कुनै प्रकारको संकास्पद लक्ष्ण भने नदेखीएको सप्तकोशी स्वास्थय शाखा प्रमुख जिवछ साहले बताए ।

यस्तै सप्तकोसी नदीको बाढीबाट पीडित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा फैलिएको इन्फलुएन्जा नियन्त्रणमा रहेको उक्त नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामदेव यादवले जानकारी दिए । उनका अनुसार नगरपालिकाको १२ नम्बर वडाका १ सय ३७ जना बिरामी छन् । त्यहाँका ६ जनाको ¥याल परिक्षणका लागि केन्द्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको पाँचजनामा इन्फलुएन्जाको जिवाणु फेला परेको थियो ।


Views: 25