17th December | 2018 | Monday | 12:58:14 AM

सम्भव छ मानसिक रोगको उपचार

पार्वती थापामगर   POSTED ON : Friday, 21 September, 2018 (2:50:57 PM)

सम्भव छ मानसिक रोगको उपचार

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा दैनिक ८० देखि सयजनाको हाराहारीमा नयाँ मानसिक रोगी आउँछन् । तीमध्ये १५ देखि २० जना कडाखाले मानसिक रोगी हुन्छन् जसलाई अस्पताल भर्ना गर्नुपर्छ । रोग पुरानो भएपछि मात्रै उपचारका लागि अस्पताल आउने भएकाले कतिपयलाई निको मुस्किल पर्ने वरिष्ठ मनोचिकित्सक डा सरोजप्रसाद ओझा बताउँछन् । शिक्षण अस्पताल महराजगन्जमा मानसिक स्वास्थ्य विभागका प्रमुख रहेका डा ओझा २० देखि ३० वर्षका व्यक्तिहरूलाई बढी कडाखालका मानसिक रोग लाग्ने गरेको बताउँछन् । 

यस्तै पाटनस्थित मानसिक रोग अस्पतालमा पनि दैनिक करिब २ सयको हाराहारीमा मानसिक रोगी आउने गरेका छन् । चिकित्कहरूका अनुसार मानसिक रोगको मुख्य कारण तनाव हो । कतिपयलाई वंशानुगत कारणले पनि मानसिक रोग हुन्छ । पारिवारिक, आर्थिक, सामाजिक लगायत अनेक कारणले उत्पन्न हुने तनावले मानसमा थाहै नपाई निराशा बढ्न सक्छ । निराशा बढ्दै गए अवसाद अर्थात डिप्रेसन हुने अवस्था हुन्छ । समयमै उपचार नभए कडाखाले मानसिक रोग हुन सक्ने मनोचिकित्सकहरूको भनाइ छ । 

कतिपय मानसिक रोगीलाई शारीरिक समस्याको अनुभव हुन्छ । त्रिवि शिक्षण अस्पतालको एक शैøयामा ललितपुरकी ३० वर्षीया एक महिला आफ्नै तालमा थिइन् । आफन्तको सहयोगमा उपचार गराइरहेकी ती महिलालाई बेलाबेला पेट दुख्ने समस्या हुन्छ । अस्पताल पु¥याउँदा चिकित्सकले पेटमा समस्या नहेको बताउँछन् तर उनी पेट दुख्यो भन्दै चिच्याउँछिन् । सुरुसुरुमा आत्तिएर डाक्टरसँग झगडै गर्थिन् । अहिले उनको रोग विस्तारै निको हुँदैछ । मानसिक रोगकै कारणले उनको वैवाहिक सम्बन्ध पनि भंग भएको छ । 

त्रिवि शिक्षण अस्पतालमै सुनसरीका ४० वर्षीय एक पुरुष मानसिक रोगी आफ्नी श्रीमतीलाई उपचार गराउँदैछन् । दुई वर्षअघि विवाह भएका उनीहरूका एक वर्षका एक छोरा छन् । रोगी भएपछि श्रीमतीले छोरालाई स्तनपान गराउन छाडिन् । रोगले च्याप्दै गएपछि उनले उल्टो काम गर्छिन्, एक थोक गर्नुपर्नेमा अर्कै । 

पाटनमा भेटिएकी ३५ वर्षीया एक महिला आठ वर्षदेखि डिप्रेसनको सिकार भएका श्रीमान्को उपचार गराउँदै छिन् । रोगले च्याप्दा श्रीमानले आफू र छोराछोरीलाई समेत चिन्दैनन् । श्रीमान पटक पटक आफूले प्रगति गर्न नसकेको भन्दै आत्महत्या गर्न अघि सरेको उनले बताइन् । मानसिक रोगी हुनु पागल हुनु हो भन्ने धारणाले गर्दा उपचारमा समस्या भएको डा ओझाको भनाइ छ । मनोचिकित्सकहरूका अनुसार तनाव र जीवनका कतिपय घटना र केही रासायनिक परिवर्तनहरूको असन्तुलनका करणले डिप्रेसन हुन्छ । घटनाहरूको सामना गर्न सके डिप्रेसनको सम्भावना कम हुने डा ओझा बताउँछन् । 

उदासिनता, इच्छाशक्तिको अभाव, अनिन्द्रा, शारीरिक कमजोरीलगायतले पनि डिप्रेसन हुन्छ । यस्तो लक्षण देखा परेमा तत्काल मनोचिकित्सकसँग परामर्श गर्नुपर्छ । ससाना कुरामा पश्चात्ताप हुने, खाना नरुच्ने, बोल्न मन नलाग्ने, मन खुसी नहुने, टाउको दुख्ने, मुटु काम्ने, एक्लै बसेर रुन मन लाग्ने डिप्रेसनका लक्षण हुन् । यस्तो लक्षण देखिएमा तत्काल उपचार गराउन चिकित्सकहरूको सुझाव छ । समयमै पहिचान भई उपचार गर्न सकिए मनोरोग सजिलै निको हुने डा ओझा बताउँछन् । 

डिप्रेसनबारे जनचेतना जगाउने कार्यक्रम चलाउनुपर्ने डा ओझा बताउँछन् । मुख्यरूपमा औषधिबाट र मानसिक उपचार (साइको थेरापी) बाट मानसिक रोगको उपचार गरिन्छ । साइको थेरापीमा मानिसको नकारात्मक सोंच बदलेर सकारात्मक सोंच बनाउन सिकाइन्छ । रोगीले आफूखुसी औषधि सेवन गर्नु हुँदैन । दैनिक करिब ८ घन्टा अनिवार्य ढुक्कले सुत्न मनोचिकित्सकहरूको सुझाव छ । 


Views: 98