19th October | 2018 | Friday | 4:12:09 AM

‘क्यान्सर न्यूनीकरणमा सर्भाइबर महत्वपूर्ण’

हिमालय टाइम्स   POSTED ON : Tuesday, 25 September, 2018 (2:45:00 PM)

‘क्यान्सर न्यूनीकरणमा सर्भाइबर महत्वपूर्ण’

काठमाडौं । ‘क्यान्सर सर्भाइबरसिप’ कार्यक्रमलाई उपलब्धिमूलक बनाउन क्यान्सर जितेकाहरूको साथ र सहयोगको आवश्यकता रहेको क्यान्सर विशेषज्ञहरूले बताएका छन् । सोमबार ललितपुरस्थित नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा आयोजित कार्यक्रममा विशेषज्ञहरूले एक्त कुरा बताएका हुन् । क्यान्सर निको भएका व्यक्तिहरूले यस्ता बिरामीहरूलाई अस्पतालमा बेलाबेलामा आएर परामर्श तथा सान्त्वना मात्रै दिन सके पनि उनीहरूको रोग ८० प्रतिशतको हाराहारीमा निको पार्न सकिने विशेषज्ञ डा सुदिप श्रेष्ठ बताउँछन् । 

डा श्रेष्ठका अनुसार अस्पतालले उक्त कार्यक्रमलाई देशव्यापी बनाउन क्यान्सर जितेर आफै आत्मनिर्भर भएकाहरूको मुख्य भूमिका रहन्छ । तर, क्यान्सर निको भएकाहरू पछि सम्पर्कविहीन भएकाले यस कार्यक्रमलाई तीव्र्र पार्न केही कठिनाइ भइरहेको छ । 

केही सर्भाइबरहरू अस्पतालको सम्पर्कमा आए पनि आफ्ना कुरा राख्न हिच्किचाउने, सान्त्वना दिन लजाउने र फेरि क्यान्सर झेल्नै नचाहँदा समस्या बढेको डा श्रेष्ठले बताए । क्यान्सर जितेर पनि लुकेर बस्ने हुँदा रोगीहरू झनै आत्तिएर रोगले च्याप्दा क्यान्सर न्यूनीकरण असम्भव रहेको उनी बताउँछन् । कार्यक्रममा क्यान्सर सहयोगी समूहका सचिव शशांक शर्माले क्यान्सर जितेकाहरूले हप्तामा एकजना बिरामीसँंग मात्रै आफ्ना हौसलासहितको कुरा राखिदिएमा उनीहरूलाई निको पार्न सहयोग मिल्ने बताए । उनले ग्रामीण भेगका महिलामा झनै क्यान्सरबारे कुनै जानकारी नहुने भएकाले यस विषय तीव्र पार्न पनि कार्यक्रमले सहयोग पुग्ने बताए । यसका लागि क्यान्सर सर्भाइबरहरूले आफू निको भएको कुरा मुस्कानसहित दुई वचन मात्रै बोलिदिए पनि क्यान्सरलाई धेरै हदसम्म निको पार्न मद्दत पुग्ने सचिव शर्मा बताउँछन् ।

आर्थिक अभाव र मानसिक तनावले रोगीहरूलाई असर परिरहेको परिप्रेक्षमा विश्वमा नै रोगीलाई आत्मविश्वास दिलाउनका लागि सर्भाइबरहरूले रोगसँग लड्दै गरेकाहरूलाई सान्त्वना दिन आवश्यक रहेको विशेषज्ञहरूको भनाइ छ । कार्यक्रम संयोजक स्वरूपा श्रेष्ठले क्यान्सरको नाम सुन्ने बित्तिकै बिरामीहरू आत्तिने भएकाले उनीहरूलाई सान्त्वना दिई आत्तिनबाट जोगाउन ‘क्यान्सर सर्भाइबरसिप’ कार्यक्रम सुरु गरेको बताइन् । पछिल्लो समय नेपालमा पनि क्यान्सरको सहज तरिकाको उपचारसँगै उपचार गर्ने नयाँ प्रविधिहरू पनि आइसकेकाले कोही पनि क्यान्सरसँग डराउन नहुनेमा उनको भनाइ थियो । 

अस्पताललगायत सरकारले समेत उपचारसँगै रोगी र रोगीका परिवारलाई विश्वास दिलाउनुपर्ने उनले बताइन् । रोगीको उपचारमा रेखदेख गर्ने आत्मविश्वासका साथ बाँच्न सिकाउने, रोगविरुद्ध लड्ने संजालमा आवद्ध गर्ने सबै प्रकारका क्यान्सरका रोगीहरू र उनीहरूका परिवारसमेत समावेश गरी कार्यक्रम अगाडि बढाइरहेको उनले बताइन् । अस्पतालले रोगीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले एक महिनादेखि ‘क्यान्सर सर्भाइबरसिप’ कार्यक्रमको सुरुवात गरेको थियो ।


Views: 328