17th December | 2018 | Monday | 2:41:20 AM

औषधि अभावमा मिर्गाैला प्रत्यारोपण स्थगित

हिमालय टाइम्स   POSTED ON : Thursday, 27 September, 2018 (2:42:41 PM)

औषधि अभावमा मिर्गाैला प्रत्यारोपण स्थगित

काठमाडौं । हप्तामा नौजनासम्मको मिर्गौला प्रत्यारोपण हुने शहीद धर्मभक्त राष्ट्रिय मिर्गौला प्रत्यारोपण केन्द्र भक्तपुरमा दुई हप्तादेखि प्रत्यारोपण कार्य रोकिएको छ । औषधि अभाव हुँदा मिर्गौला प्रत्यारोपणको रोक्नु परेको केन्द्रले जनाएको छ । केन्द्रमा ‘एन्टी थाइमोसाइट ग्लोभिन (एटिजी)’ नामक औषधि अचानक अभाव भएकाले प्रत्यारोपण रोकिएको हो । यसले बिरामीलाई बढी सास्ती दिएको केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए । 

(एटिजी) नामक औषधिविना मिर्गौला प्रत्यारोपण नै नहुने भएकाले अहिले तत्काल उक्त औषधि सकिएको डा. श्रेष्ठले बताए । अभाव हुनुको कारणसमेत अहिलेसम्म नखुलेको डा. श्रेष्ठले अझै कहिलेसम्म अभाव हुने भन्ने टुंगै नभएको पनि जानकारी दिए ।

उक्त औषधि ‘इम्युनिटी’ घटाउनका लागि एकदेखि दुई दिनसम्म प्रत्यारोपण गरिएका बिरामीका लागि दिइने केन्द्र तथा अस्पतालले जनाएको छ । डा. श्रेष्ठका अनुसार उक्त औषधि स्विट्जरल्यान्डमा बन्छ । नेपालमा मात्रै नभएर उक्त औषधि भारतमा समेत अभाव भएको छ । जसले नेपालको स्वास्थ्य समस्यामा बढी असर परिरहेको छ । 

उक्त औषधि भारत हुँदै नेपाल प्रवेश गर्ने हुँदा भारतमै अभाव हुँदा नेपालले बढी समस्या भोग्नुपरिरहेको अस्पतालले जनाएको छ । 

उनले ‘एटिजी’को ठाउँमा प्रयोग गरिने ‘सिमिल्याक्ट’ नामक औषधि समेत अहिले केन्द्रमा ठप्प हुँदा समस्या बढ्दै गइरहेको बताए । उक्त  औषधिको भण्डारण मापदण्ड नपुगेको भन्दै अहिले सो औषधि पनि नेपालमा आउनमा रोक लागिरहेको डा श्रेष्ठले बताए ।

‘सिमिल्याक्ट’ औषधि ल्याउने कम्पनीले नै उक्त औषधि ल्याउनमा रोक लगाएको उनले बताए । वर्षेनी सय जनाभन्दा बढी प्रत्यारोपण हुने केन्द्रमा एक्कासि औषधि अभाव हुँदा समस्याले तीव्र रूप लिइरहेको डा. श्रेष्ठले बताए । केन्द्रमा गतवर्ष अन्य वर्ष भन्दा बढी मिर्गौला प्रत्यारोपण भएको तथ्यांक छ । गतवर्ष १५३ जनाको प्रत्यारोपण सफलतापूर्वक भएको थियो ।

औषधि अभावले प्रत्यारोपणको कार्य रोकिइरहेको भए पनि प्रत्यारोपणका लागि औषधिको पखाइमा चार सयजनाले दर्ता गराएको डा. श्रेष्ठले जानकारी दिए । 


Views: 67