20th December | 2018 | Thursday | 12:22:21 AM

अस्वस्थकर जीवनशैलीले मुटुरोग

पार्वती थापामगर   POSTED ON : Sunday, 30 September, 2018 (6:49:15 PM)

अस्वस्थकर जीवनशैलीले मुटुरोग

काठमाडौं । पछिल्लो समय नेपालमा मुटुरोगीहरूको संख्या बढ्दै गएको पाइएको छ । यसो हुनुमा अस्वस्थ खानपान, अत्यधिक धूमपान, सूर्तीजन्य पदार्थ सेवन, बढी जंकफुड सेवन, नियमित शारीरिक व्यायाम नगर्ने, बोसोयुक्त खाना लगायत नै रहेको विज्ञहरूको भनाइ रहेको छ । यसकै कारण वयष्क उमेरमै हृदयाघात हुने गरेको समेत उनीहरू बताउँछन् ।

सानै उमेरमा मुटुरोग हुनु भनेको यो रोग डरलाग्दो तरिकाले फैलिनु हो । मुटुरोग नेपालमा मात्रै नभएर विश्वमै स्वास्थ्य समस्याको रूपमा रहेको छ ।

मुटुजन्य रोगले ज्यान नलिए पनि अंगभंग बनाउने भएकाले यस रोगलाई रोकथाम तथा निवारण एवं जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘विश्व मुटु महासंघ’ को आहृवानमा सन् २००० को सेप्टेम्बर अन्त्यदेखि मनाउन थालिएको ‘विश्व मुटु दिवस’ प्रत्येक ‘सेप्टेम्बर २९ तारिख’का दिन नेपालमा पनि मनाइने गरिन्छ ।

‘विश्व मुटु महासंघ’को तथ्यांकअनुसार विश्वभर वर्षेनी झन्डै १ करोड ७५ लाख मानिसको मृत्यु हृदयाघातकै कारण हुने गरेको छ । जसमध्ये ८० प्रतिशत ज्यान गुमाउने व्यक्ति विकासोन्मुख देशका विपन्न वर्गका रहेका छन् । यसलाई चाँडै नियन्त्रण गर्न सकिएन भने आगामी दिनमा मुटुरोगले महामारीकै रूप लिन सक्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ । 

चिकित्सकहरूका अनुसार अहिले रक्तनली, पक्षाघात तथा मुटुजन्य रोगका कारण जुनसुकै समयमा पनि ज्यान गुमाउनुपरेको अवस्था छ । अधिकांशले मुटुरोगलाई हृदयाघात तथा ‘हर्टएट््याक’को रूपमा बुझ्ने गरेको उनीहरू बताउँछन् । मुटु रोगलाई समयमै न्यूनीकरण नभए विश्वभर नै भयानक हुन सक्ने पनि चिकित्सकहरूको सुझाव छ । 

मुटुरोगलाई रोकथाम गर्न नियमित जाँचको साथै उचित शारीरिक तौल, नियमित व्यायाम तथा सन्तुलित भोजनबारे विश्वव्यापी रूपमा जनचेतना जगाउनुपर्ने चिकित्सकहरूको जोड छ । खानालाई ध्यान नदिनु पनि मूल कारण बनेको चिकित्सकहरू बताउँछन् । 

मुटुरोगबाट अपांगता भएका घटना लगायत धेरै जटिलताहरू समेत निम्तिई रहेकाले यस विषयमा चर्काे रूपमा चेतनामूलक अभियानहरू सञ्चालन गर्न जरुरी रहेको चिकित्सकहरू बताउँछन् । अहिले मुटुरोग विश्वमै मानव मृत्युको प्रमुख कारण बन्दै गइरहेकाले पनि मानिसमा सामाजिक, आर्थिक भार बढिरहेको पाइन्छ । मुटुजन्य रोगजस्ता नसर्ने रोगको हिस्सा अहिले क्यान्सर रोग जस्तै भाइरल बन्दै गइरहेको पनि मुटुरोग विशेषज्ञहरूको भनाइ छ । यस समस्याबाट जोगिने भनेकै जनचेतना भएको उनीहरू प्रस्ट पार्छन् । 

मुटुसम्बन्धी रोगलाई न्यूनीकरण तथा रोकथाम गर्ने उद्देश्यले ‘विश्व मुटु दिवस’को अवसर पारी काठमाडौं उपत्यकालगायत देशभर मुटुसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरियो । पछिल्लो समय मुटुरोगले संसारकै निकै घातक तथा ज्यानमारा रूप लिँदै गइरहेकाले देशैभर सरकारी तथा गैरसरकारी संघसंस्थाद्वारा चेतनामूलक कार्यक्रमहरू अभियानकै रूपमा सञ्चालन हुन थालेको छ । 

यसैबीच नर्भिक ‘इन्टरनेसनल हस्पिटल’ले पनि मुटुसम्बन्धी रोग न्यूनीकरण गर्नकै लागि चेतनामूलक ¥याली निकाल्यो । ¥यालीमा ‘मेरो मुटु तपाईंको मुटु’ भन्ने मूल नारा रहेको थियो । सोही ¥यालीलाई सम्बोधन गर्दै स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादवले अहिले सर्ने भन्दा नसर्ने रोगको प्रकोप बढ्न थालेकाले यसलाई सहज बनाउनका लागि सरकारले गरेका निःशुल्क रोगहरूको उपचार निजी क्षेत्रका अपस्तालमा पनि लागु गर्नुपर्ने बताए । राज्यमन्त्री यादवले सरकारी अस्पतालको तुलनामा निजी अस्पतालमा बढी उपचार गर्ने नयाँ विद्युतीय उपकरणहरू उपलब्ध हुने भएकाले पनि निःशुल्क उपचार निजीमा पनि लागु गर्न सकिए उपचारमा सहयोगसँगै रोग न्यूनीकरण हुने बताए । 

मुलुकमा भएका हरेक समस्या समाधानको जिम्मा सरकारले नै लिनुपर्ने भएकाले पनि यस्ता केही कुराहरूमा निजी संस्थाहरूले पनि लिइदिए सरकारको भार केही हलुका हुने उनले बताए । निजी क्षेत्रले पनि बिरामीलाई निःशुल्क उपचार दिएर सरकारलाई सहयोग गर्नुपर्ने उनको भनाइ थियो । 

यस विषयमा सरकार निजी क्षेत्रसँग हातेमालो गर्न तयार रहेको पनि उनले जानकारी दिए । राज्यमन्त्री यादवले अधिकांश चिकित्सकहरू सहरमै भएकाले गाउँका बिरामीहरूले उपचार सेवा लिन नपाइरहेको समस्या पनि धेरै भएको बताए । गाउँगाउँमा गएर डाक्टरहरूले उपचार सेवा दिनुपर्नेमा पनि उनले जोड दिए । 

मुटुरोगबाट बच्नका लागि युवावस्थादेखिनै आफ्नो मुटुबारे चेकजाँच गराइरहनुपर्ने चिकित्सकहरूको सुझाव छ । स–साना स्वास्थ्य समस्या पनि मुटुरोगका लक्षण हुने भएकाले यस विषयमा विशेष ध्यान पु¥याउनुपर्ने चिकित्सकहरू बताउँछन् । जब मुटु र रक्तनलीले काम गर्न छोड्छ त्यसपछि शरीरका अन्य असम्बन्धित भागमा यसको लक्षण देखिन्छ । 

अहिले भइरहेको विश्वव्यापी रूपमा औद्योगिकीकरण र जीवनशैलीको परिवर्तनसँगै मुटुरोग मानव मृत्युको पहिलो कारण बन्न पुगेकाले यस विषयमा सबैको ध्यान जानु अत्यन्तै जरुरी रहेको चिकित्सकहरूको सुझाव छ । 

चिकित्सकहरूका अनुसार समय समयमा स्वास्थ्य जाँच नगराउँदा मुटुको भल्व थुनिएमा अर्थात सानो भई दुख्न थाल्नुका साथै मुटुको धमनीमा ब्लक भई छातीको बीच भागमा बेस्सरी मुटु दुख्न थाल्छ । सो अवस्थामा हिँडडुल गर्न हुँदैन ।

घुर्ने तथा निन्द्रामा असन्तुलन, खुट्टा वा पैताला सुन्निनु, कमजोर यौन गतिविधि, स्खलन, काँध र घाँटीमा दुखाई, अपच, मुटुमा जलनलगायत मुटुरोगसम्बन्धी लक्षणहरू हुन् । यस्तै छातीमा कसैले च्यापेको अर्थात गाह्रो भएको महसुस हुनु, छाती पोल्नु, चिलाउनु जस्ता लक्षण देखा परे मुटुरोगका लक्षण भएकाले त्यस्तो भएमा तत्काल स्वास्थ्यसंस्थामा गएर जाँच गराइहाल्नुपर्ने चिकित्सकहरूको सुझाव छ । 


Views: 71