19th December | 2018 | Wednesday | 11:15:08 PM

कान्ति बाल अस्पतालको सेवामा अभिभावकको असन्तुष्टि

सविना कार्की   POSTED ON : Tuesday, 02 October, 2018 (9:09:49 PM)

कान्ति बाल अस्पतालको सेवामा अभिभावकको असन्तुष्टि

काठमाडौं ।  राजधानीस्थित कान्ति बाल अस्पतालले चुस्तदुरुस्त सेवा सुविधा दिन नसकेको गुनासो विरामीका अभिभावकले पोखेका छन् । लामो समयसम्म लाइनमा पालो कुर्दै बस्नुपर्ने र पालो पाए पश्चात पनि उपचार नपाएर फर्कनुपर्ने बिरामीको बाध्यता छ । 

बालबालिकाको उपचारका लागि राजधानीकै सबैभन्दा ठूलो अस्पतालका रुपमा रहेको कान्ति बालअस्पतालले बिरामी बालबालिकालाई सोचेजस्तो सुविधा दिन नसकेको सोही अस्पतालका डिउटी अफिसर रमेश नरसिंह केसी स्वीकार्छन् । असारदेखि यता मौसम परिवर्तन हुने समय भएकाले अस्पतालमा सामान्यदेखि रुघाखोकीका बिरामीको चाप बढेको छ । अस्पतालमा हाल ३ सय ३९ बेड मात्र व्यवस्थित छन् । केसीले भने, ‘बिरामीहरु लामो समयसम्म लाइन बसेर चेकजाँच गराउँछन् तर, बिरामीलाई भर्ना गर्नुपर्यो भने अस्पतालमा बेड पर्याप्त छैन, यो दुखको कुरा हो ।’ 

उनका अनुसार कान्ति बालअस्पतालमा ओपिडी तथा आइसियुमा गरि दैनिक ९ सय बिरामी दर्ता हुन्छन् । अस्पतालमा हाल ३३ वटा मात्र आइसियु बेड छन् । उनले भने, ‘आइसियु ५२ बेड सञ्चालन गर्नका लागि दुई वर्षअघि तयारी गर्यौ तर यहाँ नेपाल सरकारको दरबन्दी न्युन छ’ उनले भने ।  बिरामीका लागि अस्पतालमा आइसियुको पर्याप्त व्यवस्था नभएको उनले बताए । आइसियु बेड खाली नहुँदा दैनिक ७/८ जना बिरामी उपचारबिना घर फर्कनु पर्ने बाध्यता रहेको छ । 

अस्पतालमा बिरामीको चाप बढेसँगै डाक्टरको अभाव हुँदै गएको छ । राम्रो सेवा सुविधा दिन नसकेपछि अस्पतालमा कार्यरत कर्मचारी काम छोड्दै जान्छन् । एउटा डाक्टर पाँच देखि छ महिना मात्रै अस्पतालमा काम गर्छन् । विरामीको चाँपले गर्दा डाक्टर अस्पताल परिवर्तन गर्न रुचाउँछन् । जुनसुकै कर्मचारी पनि आफ्नो जागिर  सुनिश्चितता नभएसम्म राम्रो अवसर खोज्दै हिड्ने गर्छन् । त्यसमा अस्पतालले रोक्न नमिल्ने केसीको भनाइ छ । अस्पतालमा कार्यरत कर्मचारीलाई राम्रो सेवा सुविधा दिन र लामो समयसम्म टिकाउनका लागि अस्पतालले सरकार समक्ष पटक-पटक पहल गर्यो । तर, देशको संरचना मिलाउन र अन्य ठूला समस्या तिर मात्रै सरकारको ध्यान गएको उनी बताउँछन् । 

तत्कालका लागि उक्त अस्पतालमा नाक, कान घाँटी, हात प्लाष्टर, हाडजोर्नी, आँखाको साथै मुटुसम्बन्धी  विशेषज्ञ डाक्टरको अभाव रहेको उनले बताए  । बालबालिकाको रोगको निराकरण गर्नका लागि अस्पतालमा सबै संकाय नभएको केसीले बताए । अस्पतालले हाल क्यान्सर, सुगर सर्जरी, आइसियु, नेफ्रोलोजी, बनहार्ट (पोलेको) लगायत मेडिकल तथा मेडिसियनको सेवा दिइरहेको छ । 

उपचारका लागि कान्ति आएका बिरामीका अभिभावक अस्पतालको सेवा सुविधाप्रति असन्तुष्ट छन् । रोग हेरेर अन्यत्र अस्पतालले यहाँ रिफर गरेपनि यहाँ सामान्य रोगको उपचार पाउनसम्म गाह्रो छ । बाटोमा हिड्दा दुर्घटना भयो, हात भाचिँयो, प्लाष्टर गर्न कान्ती अस्पताल जाँदा उपचार पाइएन एक बिरामीका अभिभावकले गुनासो पोखे  । मुटुको भल्भ फेर्नु परेमा अस्पतालले बिरामीलाई गंगालाल अस्पतालमा रिफर गर्छ । त्यस्तै अस्पतालले बिरामीलाई सेवा दिन नसकेपछि अर्को अस्पताल पठाउँछ, कहाँ जाने भन्ने अन्योलमा परिन्छ, उनले भने । अस्पतालमा सानोतिनो रोगको उपचार नपाउँदा र उपचारकै लागि अर्को अस्पताल धाउदा बिरामीले सास्ती पाएको उनले बताए ।

सिन्धुपालचोककी राधा नेपाल पाँच वर्षीय छोरालाई लिएर बिहीवार कान्ती अस्पतालको ओपिडीमा लाइन बसिरहेकी थिइन् । छोराले केही दिन अघिदेखि माटो खाएको र दुब्लाउँदै गएकाले केही उनी उपचार गराउन सिन्धुपाल्चोकको खाडीचौरस्थित मेडिकल गइन् । उनी भन्छिन्, ‘मेडिकलमा डाक्टरले आफ्नो कुरा विश्वास गरेनन्, उल्टै तपाईको बाबुको पेटमा जुक्का परेको छ भने ।’ उनले भनिन् । त्यसपश्चात उनी छोराकै उपचारका लागि राजधानी आइन । अस्पतालमा बिरामीको चाप देखेर उनी उपचार पाउनमा कति समय कुर्नु पर्ने हो भन्दै थकित देखिन्थिन् ।

सोही लाइनमा पालो पर्खदै उभिएर मलिन अनुहार लगाउदैँ बसेकी अर्की महिला भन्छिन्, ‘बिहान सबेरै आउँदा पनि दिउँसो १२ बजेसम्म पालो आउँदैन, अस्पताल आउनु भन्दा घरमै सुतेर बस्नु बेस । घण्टौँसम्म लाइनमा बस्दा बिरामी बच्चालाई गाह्रो भइसक्छ, बिरामी लिइ आएकालाई पनि गाह्यो’े उनको भनाइ थियो । उनी सितापाइलादेखि ४ बर्षीया छोरीलाई लिएर उपचार गराउन कान्ति अस्पताल आएकी हुन् । छोरीलाई केहीदिन अघिदेखि सामान्य रुघाखोकी र ज्वरो आएको थियो । अचानक सोमवार घाँटी पनि सुनिएकाले उनी यहाँ आएको बताउँछिन् । 

विरामी बालबालिकाको चाँपलाई हेरेर अस्पतालले सेवा दिनुपर्ने अभिभावकको भनाइ थियो ।


Views: 251