20th December | 2018 | Thursday | 12:20:49 AM

विश्वमा ३ करोड ६० लाख मानिस दृष्टिविहीन, नेपालमा पनि १ लाख २० हजार

पार्वती थापामगर   POSTED ON : Thursday, 11 October, 2018 (2:16:52 PM)

विश्वमा ३ करोड ६० लाख मानिस दृष्टिविहीन, नेपालमा पनि १ लाख २० हजार

काठमाडौं । विश्वमा ३ करोड ६० लाख मानिस दृष्टिविहीन रहेको एक तथ्यांकले देखाएको छ । तिलगंगा आँखा प्रतिष्ठानको तथ्यांकले यस्तो देखाएको हो । नेपालमा १ लाख २० हजार मानिस दृष्टिविहीन छन् । 

विश्वमा १२ करोड ४० लाख मानिसमा दृष्टिदोष रहेको छ भने ६ करोड ५० लाख मानिस मोतिविन्दुको शिकार भएका छन् । यस्ता समस्याका शिकार भएका बिरामीहरूमध्ये ७५ प्रतिशत समस्याको समाधान गर्न सकिने आँखा विशेषज्ञहरू बताउँछन् । २५ करोड ३० लाख मानिस अन्धोपना वा न्यून दृष्टिबाट प्रभावित भएको प्रतिष्ठानको तथ्यांक छ । 

तथ्यांकअनुसार १ अर्ब मानिस नजिकको दृष्टि क्षमता कमजोर भएका छन् । यस्तै १ करोड ९० लाख बालबालिकामा दृष्टिदोष देखिएको छ । कूल दृष्टिदोषमध्ये झन्डै ६५ प्रतिशत मानिस ५० वर्ष र त्यसभन्दा माथिका उमेरका रहेका पनि तथ्यांकले देखाएको छ । अन्धोपना र दृष्टिदोषको संख्या विगतको तुलनामा केही मात्रामा घटेको पनि तथ्यांकले देखाएको छ । सन् १९९० मा ४.५८ प्रतिशत थियो भने सन् २०१५ मा घटेर ३.३७ प्रतिशत रहेको तथ्यांक छ ।

यसैगरी नेपालको तथ्यांकलाई नियाल्दा नेपालमा १० लाख २५ हजार मानिसमा उच्च तथा मध्यम दृष्टिदोषको शिकार भएका छन् । ११ लाख ५० हजार मानिस अन्धोपना वा दृष्टिदोषबाट प्रभावित छन् । दृष्टिदोष भएकामध्ये ८९ प्रतिशत मानिसहरू विकासोन्मुख देशका भएको पनि तथ्यांकले पुष्टि गरेको छ । 

अन्धोपनाको ६६ प्रतिशत अन्धोपन उपचार गर्न सकिने भएकाले यस्ता समस्या देखापर्ने वित्तिकै नजिकैको स्वास्थ्य संस्थामा गएर उपचार सेवा लिइहाल्नुपर्ने चिकित्सकहरूको भनाइ छ । अन्धोपनाको १६ प्रतिशत अन्धोपन रोकथाम गर्न सकिनेखालको हुने भएकाले पनि रोगीहरू यस्ता रोगको लक्षण देखा पर्नासाथ आत्तिइहाल्नु नपर्ने सुझाएका छन् ।

कुल उच्च तथा मध्यम न्यूनदृष्टि रहेका मध्ये ६० प्रतिशत महिला छन् । न्यूनदृष्टि दृष्टिदोष, मोतिविन्दु र जलविन्दुका कारण हुने पनि चिकित्सकहरूको सुझाव छ । यतिमात्रै नभएर मोतिविन्दु, जलविन्दु र आँखाको पर्दाका कारण दृष्टिविहीन नै हुने पनि उनीहरूले जोड दिएका छन् । पछिल्लो २० वर्षमा संक्रमण जस्तै भएको ट्रकोमाका कारणले हुने न्यूनदृष्टि समस्या पनि चेतना वृद्धिका कारण घट्दै गएको बताएका छन् । सन् २०१४ मा नेपालमा गरिएको एक सर्भेअनुसार ०.०६ प्रतिशत बालबालिकामा बाल अन्धोपन देखिएको तथ्यांक छ । त्यसमध्ये ८० प्रतिशत बालबालिकाहरूको उपचार गरेर हटाउन सकिने खालको अन्धोपन सर्भेमा भेटिएको थियो । 

अन्धोपनका कारण मोतिविन्दु र यस सम्बन्धित ६५ प्रतिशत आँखाको पर्दाजन्य रोगहरू १३, आँखाको नानीमा हुने अन्धोपना ६, जलविन्दु ५, दृष्टिदोष ४ र अन्य ७ प्रतिशत रहेको तथ्यांक छ । यस्तै आँखाले टाढा वा नजिकको वस्तु स्पष्ट देख्न नसक्नु, धमिलो देख्नु, टाउको दुख्नु, आँखा सानो पारेर हेर्नु दृष्टिदोषका लक्षण भएको चिकित्सकहरू बताउँछन् । चिकित्सकहरूले आँखा धमिलो हुनासाथ नजिकको आँखा केन्द्रमा गई जाँच गराइहाल्नुपर्नेमा जोड दिएका छन् । 

दृष्टिदोष रहेका बालबालिकाको गुणस्तरीय शिक्षा सुनिश्चित गर्न र उनीहरूको भविष्य उज्ज्वल बनाउन तुरुन्तै आँखा जाँच गराइहाल्नुपर्ने उनीहरूको भनाइ छ । दृष्टिदोष हुने व्यक्तिले अनिवार्य रूपमा चश्मा प्रयोग गर्नुपर्ने पनि उनीहरूको सुझाव छ । जनचेतनाको अभाव, घरायसी कामकाज तथा पारिवारिक व्यस्तता, निर्णय प्रक्रियामा सहभागिताको कमी, आँखा केन्द्र वा आँखा अस्पताल जान अरुको सहयोग लिनुपर्ने कारण महिलाहरूमा बढी आँखाको समस्या हुने तथ्यांक छ । 

हरेक ५ जना अन्धोपन भएका मानिसमध्ये ४ जनाको उपचार र रोकथाम सम्भव हुने प्रतिष्ठानले जनाएको छ । ४० वर्ष उमेर पुगेका सबैले आँखा जाँच गर्नुपर्ने सुझाव दिएको छ । 


Views: 55