21st November | 2018 | Wednesday | 9:30:14 AM

शङ्कास्पद रोगबाट दुई बालकको मृत्यु

  POSTED ON : Saturday, 27 October, 2018 (4:44:58 PM)

शङ्कास्पद रोगबाट दुई बालकको मृत्यु

राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिकामा शङ्कास्पद रोगबाट दुई बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–७ का ६ वर्षीया कृष्णजङ्ग कटुवाल र वडा नं ५ का १३ वर्षीय कृष्ण सदा रहेको स्थानीयवासी राजकुमार पासवनले जानकारी दिए ।

कटुवालको कात्तिक ६ गते र सदाको कात्तिक ७ गते मृत्यु भएको परिवारजनले जनाएका छन् । मृतक दुबै बालकलाई ज्वरो आउने, वान्ता हुने र टाउको दुख्ने भएपछि मृत्यु भएको पासवानले बताए ।

यता थप घटना हुन नदिन कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्त मिश्र, प्रशासकिय अधिकृत सविनराज ढकालले प्रदेश नं २ का सामाजिक विकास मन्त्रालय, महामारी तथा सरुवारोग नियन्त्रण महाशाखा टेकु र जिल्ला जनस्वास्थ्य कार्यालय राजविराजलाई मृत्युबारे आवश्यक अनुसन्धान गरी थप घटना हुन नदिन व्यवस्था मिलाउन सहयोगका लागि अनुरोध गरेका छन् । 

यसअघि दुई महिना अगाडि सो क्षेत्रमा भाइरल ज्वरोका कारण नगरवासी त्रसित भएका थिए । भाइरल ज्वरोकै कारण चार जनाको मृत्यु भएको थियो । 

रासस


Views: 35