25th March | 2019 | Monday | 2:48:51 AM

कुरा क्लियर हुनुपर्ने पिसाबको

पार्वती थापामगर   POSTED ON : मंसिर ३, २०७५ (७:३३ AM)

कुरा क्लियर हुनुपर्ने पिसाबको

काठमाडौं । काठमाडौं उपत्यकाका समस्यामध्ये सार्वजनिक स्थलमा ‘शौचालय अभाव’ एउटा मुख्य समस्याका रूपमा छ । ‘बसपार्क, सपिङ मल, खुला मार्केटिक क्षेत्र, लगायत धेरै भीडभाड हुने स्थलहरूमा बढी आवश्यक पर्ने शौचालय नै हुँदैन । 

राजधानीका यस्ता स्थलमा शौचालय नहुँदा समस्या पर्ने गरेको दोलखाका उत्तम सुनुवार बताउँछन् । काम परेर कतै जानु पर्दा आफूलाई शौचालयकै समस्याले पिरोल्ने गरेको उनले बताए । उनले भने, ‘ठाउँठाउँमा शौचालय र तिनको सफाइ अत्यन्तै आवश्यक छ । मैले धेरैपटक सार्वजनिक शौचालय दुःख पाएको छु ।’ 

हुन पनि शौचालयको आवश्यकता सबैभन्दा बढी सार्वजनिक स्थलमै पर्ने गर्छ । भएका शौचालय पनि अव्यवस्थित र फोहोरमैलाले दुर्गन्धित हुनछन् । ‘कुनै कनै सार्वजनिक शौचालय पाइला टेक्नै नमिल्ने गरी फोहोर हुन्छ, यस्ता समस्या राजधानीका अधिकांश सार्वजनिक शौचालयमा छ,’ बनेपाकी सन्तोषीले भनिन् । सार्वजनिक शौचालय सफाइमा ध्यान दिनुपर्ने पनि उनको सुझाव छ ।

काठमाडौं उपत्यकाका मुख्य सार्वजनिक स्थलहरूमै शौचालयको अभाव रहेको भुक्तभोगीहरूको गुनासो छ । शौचालय भए पनि अव्यवस्थित र फोहोरमैलाको थुप्रोका कारण त्यहाँ पस्नै सकिँदैन । 

आवश्यकता अनुसार शौचालय अनिवार्य भए भएकाले यस विषयमा सबैले चासो देखाउनुपर्ने विज्ञहरू सुझाउँछन् । 

कमलपोखरीकी गंगा सिवाकोटीलाई पनि कहीँकतै जानुपर्दा फोहोर र अव्यवस्थित शौचालयकै चिन्ताले सताउने गर्छ । ‘जताततै फोहोर र दुर्गन्धित हुन्छ शौचालय वरिपरि त्यसैले पनि शौच गर्नुभन्दा पहिले केहीबेर अल्मलिन्छु । पैसामात्रै लिन्छ सफाइमा ध्यान दिँदैन । पानी हुँदैन,’ गंगा भन्छिन् । 

कामको सिलसिलामा गौशला आएका रामेछापका सुदीप अधिकारी त्यहाँको सार्वजनिक शौचालय देखेर अकमक्क परे । निकै आपतकालीन अवस्थामा रहेका उनी के गरौँ र कसो गरौँजस्ता भए । बसबाट ओर्लिने बित्तिकै शौचालयतिर लम्किएका उनी लाइनमा थिए । ‘निकै लामो पर्खाइपछि शौचालयभित्र पसेको थिएँ, बस्नै कठिन प¥यो, फोहोर त भनेर साध्य नै छैन ।’ 

भएको शौचालय नै व्यवस्थित र सफा राख्न नसक्नेहरूलाई सरकारले व्यवस्थापन गर्नु र नगर्नुमा कुनै फरक नपर्ने केही सर्वसाधरणहरूको भनाइ छ । शौचालय सफा राख्न प्रयोगकर्ताको पनि निकै ठूलो भूमिका हुने उनीहरू बताउँछन् । सरकारलाई मात्रै दोष दिने बानीले पनि समस्या समाधान हुन नसकेको उनीहरूको टिप्पणी छ । 

सार्वजनिक शौचालय सही तरिकाले प्रयोग गर्न नजान्दा नेपालीहरूले दुःख पाइरहेको बाराका सुन्दर रायमाझीको बुझाइ छ । चेतना भए पनि नभएझैँ गरी शौचालय फोहोर पार्ने सर्वसाधारण आफैँले पनि दुःखेसो पोख्ने गरेको उनको भनाइ छ । शौचालय अभाव त छँदैछ, भएकोलाई सफा राख्न नसक्नु व्यवस्थापक र प्रयोगकर्ताको कमजोरी हो भन्छन् उनी । हरेक बसपार्कमा शौचालय भए पनि त्यसको सही प्रयोग नहुँदा दुःख पाएको वातावरण इन्जिनियर डा. नवराज खतिवडा बताउँछन् । 

‘दिशापिसाब लाग्नु संवेदनशील अवस्था हो, कहिल्यै पनि रोक्न हुँदैन । रोके स्वास्थ्यमा गम्भीर समस्या निम्तिन सक्छ,’ डा. खतिवडाले भने, ‘हिसाब, निसाफ र पिसाब जहिल्यै पनि क्लियर हुनुपर्छ भन्ने आहान नेपालीलाई थाहा छ तर यसमै धेरैले दुःख पाउनु परेको छ ।’


Views: 205