27th March | 2019 | Wednesday | 7:01:05 AM

शौचालय छन्, सफाई छैन

सविना कार्की   POSTED ON : मंसिर ४, २०७५ (२:०९ AM)

शौचालय छन्, सफाई छैन

काठमाडौं  । राजधानीका सर्वसाधारणलाई सार्वजनिक शौचालयमा शौच गर्नु बाध्यता जस्तै हो । त्यो पनि पर्याप्त शौचालय कहाँ छन् र । भएका पनि उहि छन् भन्दा छन् भने जस्ता मात्र । पैसा तिरेर शौचालय जाँदा पनि नाक मुख थुनेर शौच गर्नुपरेको प्रयोगकर्ताहरुको गुनासो छ ।  

काठमाडौं महानगरपालिकाले सर्वसाधारणलाई सहज बनाउन र शौच गरेवापत रकम लिनका लागि हरेक सार्वजनिक शौचलयमा कर्मचारी राखेको छ । तर, कर्मचारी राखे पनि शौचलयमा सरसफाई छैन । सफाइका लागि बसेका कर्मचारीले समयमा सफाइ नगर्दा सर्वसाधरणले शौचालयको प्रदुषण खेप्नु परेको छ ।  ट्वाइलेटको दुर्गन्धले रोग नै निम्त्याउन सक्ने प्रयोगकर्ताहरु बताउँछन् ।  

एक त सार्वजनिक शौचलय, त्यसमा पनि सरसफाईको अभाव,  हामीलाई बाटो हिड्न निकै असहज भएको छ’ गौशाला चोकमा बस कुरिरहेकी एक यात्रु अस्मिताले भनिन् ।  गौशालाबाट पशुपति मन्दिर जाने गेटको छेउमै एउटा सार्वजनिक शौचालय  छ । शौचालयमा काम गर्नका लागि एक जना कर्मचारी दैनिक त्यहि बस्छन् । तर, शौचालयमा सरसफाइ छैन । शौचालयमा मानिसहरु दिसा पिसाबकै लागि जान्छन्, तर पानीको व्यवस्था छैन, त्यो एकदमै ठुलो कमजोरी हो, एक प्रयोगकर्ताले भने  ।

शौचालयमा सफाई गर्न समय नभएको बताउँदै एक कर्मचारीले भने, दैनिक पाँच छ सय मानिस आवातजावत गर्छन्, मानिसहरु आइरहने हुँदा सरसफाई गर्ने समय हुदैन’ । यहाँ प्रायजसो पैदल यात्रु, सवारी साधनका कर्मचारी, पशुपति आएका भक्तजनहरु प्रवेश गर्ने गरेको कर्मचारीको भनाई छ । 

मन्दिर आएका मानिसहरु सकेसम्म यहाँको शौचलय जान चाहदैँनन् । दर्शनका लागि आएकी भक्तपुरकी पम्फा गौतम भन्छिन्, सार्वजनिक शौचालय जानु भन्दा कुनै होटलमा जानु आनन्द लाग्छ’ । शौचालयमा बस्दा पनि नाक मुख थुन्दैँ बस्नुपर्ने अवस्था आउँछ’ हास्दैँ उनले बताइन् । पम्फाको जस्तो पीडा धेरै सर्वसाधारणमा छ । उनीहरु दुर्गन्धित शौचालय जानुभन्दा होटल गएर खाजा खाने र त्यहि ट्वाइलेट जाने गर्छन् । 

जमलदेखि सार्वजनिक शौचालय भोटाहिटीमा शौच गर्न आएका एक युवकले भने, शौचालय निकै दुर्ग्न्धित छ, हामीलाई शौच गरेको पैसा दिन समेत मन लाग्दैन’। यो शौचालयमा धेरै पटक आएको बताउदैँ उनी भन्छन्, जहिले आउँदा नि उस्तै देख्छु, पटकपटक कमेन्ट गर्दा पनि अर्को पटक आउँदा केही परिवर्तन हुदैँन’ । धेरै प्रकारका मानिसहरु शौचालयमा पस्ने भएर होला त्यहाँको दुर्गन्ध बाहिर सम्म आउने पैदलयात्रुहरु बताउँछन् ।

उपत्यकाको गौशाला, कोटेश्वर, शान्तिवाटीका, भोटाहिटी, वीर अस्पताल लगायतका थुप्रै स्थानमा सार्वजनिक शौचालय भएपनि त्यहाँको सरसफाई राम्रो नभएको शौच प्रयोगकर्ताहरु बताउँछन् । सबै स्थानमा शौचलयको व्यवस्था नहुँदा बाटोमा हिड्ने सर्वसाधरण मारमा पर्ने गर्छन् । क्षेत्रपाटीबाट शौच गर्नकै लागि शान्तिवाटीका आइपुगेका अर्पण राई भन्छन्, ट्वाइलेट गर्नकै लागि हिड्दै यहाँसम्म आइपुगेँ । 

अन्य सार्वजनिक शौचालयको तुलनामा शान्तिवाटिकामा रहेको शौचालयको सरसफाई केही हदसम्म व्यवस्थित रहेको छ । असानका सुरेश शाक्य विगत पाँच वर्षदेखि शान्तिवाटीकास्थित शौचालयमा कार्यरत छन् । दिनमा तीन पटकसम्म शौचलय सफा गर्ने गरेको बताउँदै उनी भन्छन्, बिहान, दिउँसो र बेलुका गरी तिनपटक सफा गर्छु’। 

उनका अनुसार पहिलेको तुलनामा मानिसहरुले सार्वजनिक शौचलय खासै प्रयोग गर्दैनन् । मानिसको चाप खासै छैन, दैनिक दुई तीन सय मानिस आउँछन्’ उनले भने । सुरेश भन्छन्, सर्वसाधरणले पिसाब गरेको पाँच रुपैँया र दिशा गरेको दश रुपैँया शौचालयमा तिर्नुपर्छ । दैनिक तेह्र चौध सय आम्दानी हुन्छ  ।’

अझैपनि महानगरपालिकाले यात्रुको समस्यालाई ध्यानमा राखि शौचालयको उचित प्रवन्ध गर्न नसकेको प्रष्ट देखिन्छ । सडक यात्रुलाई तथा खुल्ला ठाउँमा हुने सभा सम्मेलनका लागि शौचालयको वन्दोवस्तीमा महानगरले ध्यान दिनु आवश्यक देखिन्छ ।


Views: 142