25th June | 2019 | Tuesday | 12:06:24 PM

विद्यालयमा शौचालयको अवस्था नाजुक

सरिशा अछामी   POSTED ON : मंसिर ४, २०७५ (२:५९ AM)

विद्यालयमा शौचालयको अवस्था नाजुक

काठमाडौं ।   सामुदायिक विद्यालयहरुको अन्य समस्या जस्तै शौचालयको अभाव पनि एउटा मुख्य समस्या हो । सामुदायिक विद्यालयमा शौचालयको उचित व्यवस्था नभएको गुनासो गर्छन यहाँका विद्यार्थीहरु । कागेश्वरी मनहरा नगरपालिका ८ गोठाटार स्थित तेज विनायक उच्च माविका विद्यार्थी शौच गर्नका लागि लाईन बस्नु पर्ने अथवा विद्यालय नजिकैको भएको साथीको घरको शौचालय जानुपर्ने बाध्यता रहेको सहायक प्रधानाध्यापक ओम श्रेष्ठ बताउँछन् ।

वि.स २०१७ सालमा स्थापना भएको  विद्यालय भएपनि विद्यालयले शौचालयको सरसफाईमा सुधार आउन नसकेको श्रेष्ठ बताउँछन् । श्रेष्ठ भन्छन् “विद्यार्थी संख्या ८ सय जना छन्  । दुई सिफ्टमा पठाइ हुन्छ तर पनि शौचालय जान भने शिक्षक विद्यार्थी दुवै लाईन बस्नुपर्ने बाध्यता छ ।”

विहानको समयमा  पढ्ने विद्यार्थीको संख्या ५ सय र दिउँसो ३ सय जति छन् । विद्यार्थीको संख्या बढे पनि शौचालय पहिलेको जति नै रहेको श्रेष्ठले बताए ।   उनले भने “बत्ति नभएको समयमा शौचालयमा पानी हुँदैन । ” पानी भरेर राख्ने व्यवस्था छैन । इनारको पानी मेसिनले तान्नुपर्ने भएकाले समय समयमा शौचालयमा पानीको अभाव भइरहने उनले बताए  । 

विद्यालयमा शौच गर्नको लाइन बस्न नसकेर नजिककैको खाजा पसलमा गएर शौच गर्नुपर्ने बाध्यता भएको शिक्षिका तारादेवी लामा बताउँछिन् ।  ४० जना कर्मचारी छौं । शौचालय २ बटा मात्र छन् । कर्मचारीको लागि बनाएको शौचालयमा मात्र पानीको व्यवस्था छ । अन्य शौचालयमा पानीको व्यवस्था नभएको तारादेवी बताउँछिन् । उनि भन्छिन् – ‘ विहानको समयमा माथिल्लो तहलाई पढाइने हुँदा कार्मचारीलाई शौच गर्नको लागि कठिन छ ।  रजस्वला भएका छात्रालाई उस्तै समस्या हुन्छ । ’

विद्याथीहरुले दिसा गर्ने शौचालयमा समेत पानी नभएको कक्षा ७ मा पढ्दै गरेकी सिता विकले गुनासो गरिन् , “दिसा लागेको समयमा नजिकैको साथीको घर जाने गरेको छु् ।”  शौचालय कम भएर मात्र समस्या होइन भएका शौचालयमा पनि ढोकमा चुक्कुल र पानी नभएको उनले बताइन्  । विद्यायलको शौचालय धेरै फोहोर र पानी नभएका कारण  शौच गर्नको लागि बाहिर जाने गरेको विद्यार्थीहरु बताउँछन् ।  



Views: 178