22nd January | 2019 | Tuesday | 9:48:59 AM

असुरक्षित गर्भपतनले १३ प्रतिशत मातृ मृत्यु

पार्वती थापामगर   POSTED ON : Saturday, 29 December, 2018 (6:06:50 PM)

असुरक्षित गर्भपतनले १३ प्रतिशत मातृ मृत्यु

काठमाडौं । नेपालमा मातृ मृत्युमध्ये १३ प्रतिशत मृत्यु असुरक्षित गर्भपतनका कारण हुने गरेको तथ्यांकले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार अहिले पनि गर्भपतनमध्ये वर्षेनी ५८ प्रतिशत सुरक्षित छ । 

महिलाहरूले लुकिछिपी असुरक्षित गर्भपतन गराउने गरेका छन् । ग्रामीण भेगसम्म सुरक्षित गर्भपतन सेवाको पहुँच सुनिश्चित गर्न तीन हजार बढी चिकित्सक, नर्स र अनमीहरूलाई तालिम दिइएको भने पनि सेवा लिने महिला थोरै छन् । 

प्रजनन् उमेरका आधाभन्दा बढी महिलालाई गर्भपतनको कानुनी मान्यताबारे थाहा छैन । आर्थिक वर्ष २०७३÷७४ को तथ्यांकअनुसार प्रजनन् उमेरका ४१ प्रतिशत महिलाहरूलाई मात्र गर्भपतनले कानुनी मान्यता पाएकोबारे थाहा भएको पाइएको छ । यस्तै १९ प्रतिशतको अनिच्छित गर्भ रहेको उक्त वर्षको तथ्यांक छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक वर्ष २ करोड ५० लाख महिला तथा किशोरीहरूले असुरक्षित तरिकाले गर्भपतन गराउने गरेका छन् । सन् २०१२ को एक प्रतिवेदनअनुसार विकासोन्मुख देशहरूमा करिब ७० लाख महिलाहरूले असुरक्षित तरिकाले गर्भपतन गराएर उपचार गराइरहेको पाइएको छ । असुरक्षित गर्भपतन गराउने महिलामध्ये करिब ४० प्रतिशतले कुनै उपचार नगराएको प्रतिवेदनमा उल्लेख छ । 

यस्तै सन् २०१४ मा विश्वमा भएका मातृमत्युमध्ये करिब ८ प्रतिशत असुरक्षित गर्भपतनको कारणले भएको पाइएको छ । यस्तै विश्वमा ५० लाख महिलाहरू असुरक्षित गर्भपतनको कारणले दीर्घ रोगी भएर बाँच्नुपरेको छ । 

नेपालमा पनि महिलाहरू सामाजिक लाञ्छना, लैंगिक विभेद, जबर्जस्ती करणीमा परी गर्भ रहेका कारण असुरक्षित तरिकाले गर्भपतन गराइरहेका हुन्छन् । यी सबै समस्या वर्षाैंअघिदेखिकै भएको चिकित्सकहरू बताउँछन् । चिकित्सकहरूको सहयोगमा गर्भपतन गराउँदा सुरक्षित हुन्छ । असुरक्षित गर्भपतनबाट महिलाको मृत्यु हुन सक्ने तथा तत्कालीन र दीर्घकालीन रूपमा धेरै स्वास्थ्य समस्या भोग्नुपर्ने हुन सक्छ । 

असुरक्षित गर्भपतन गराउने महिलाहरूमा २० देखि ३० प्रतिशतलाई प्रजनन् अंगहरूको संक्रमण हुने सम्भावना बढी हुने वरिष्ठ कन्सल्टेन्ट गाइनोकोलोजिस्ट डा. पुण्य पौडेल बताउँछिन् । उनका अनुसार असुरक्षित गर्भपतन गराउने चारजना महिलामध्ये एकजनालाई जीवनभरि उपचार गराइरहनुपर्ने दीर्घकालीन स्वास्थ्य समस्या हुन्छ । असुरक्षित गर्भपतन गराउने महिलाहरूलाई शारीरिक, मानसिक, आर्थिक र भावनात्मक समस्याहरू समेत हुने गरेको चिकित्सकहरूको भनाइ छ । असुरक्षित गर्भपतनले अधिक रक्तस्राव हुने, संक्रमण हुने, भित्री प्रजनन् अंगमा चोटपटक समेत लाग्ने समस्या हुन्छ । 

स्वास्थ्य मन्त्रालयको गत वर्षको तथ्यांकअनुसार ९६ हजार ४१७ जना महिलाले सुरक्षित गर्भपतन गराएको पाइएको छ । वर्षेनी ४२ प्रतिशतले मात्रै सुरक्षित गर्भपतन गराएको पाइएको छ । यी महिलाले सरकारले मान्यता दिएका स्वास्थ्य संस्थाहरूबाट गर्भपतन सेवा लिने गरेको पाइएको छ ।

मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७१÷७२ मा १३ हजार ८०९ जनाले सुरक्षित गर्भपतन गराएको पाइएको छ । यस्तै २०७२÷७३ मा पनि १५ हजार ३०६ जनाले र २०७३÷७४ मा १३ हजार ५७ जनाले सुरक्षित गर्भपतन गराएका थिए । धेरै महिलाहरूले सुरक्षित तथा कानुनी मान्यता प्राप्त सेवा लिन नसक्नुको मूल कारण पनि यसबारे निर्मित कानुन र सेवाबारे जानकारी नहुनु र जनचेतनामा कमी नै हो । सबैका लागि सहज तथा पहुँचयोग्य सेवा हुन नसक्नु र लैंगिक असमानता पनि असुरक्षित गर्भपतनको कारण हो । 

यसैगरी गरिबी र अशिक्षाका कारण महिलाहरू अहिले पनि धेरैले घरमै सुत्केरी गराउँछन् । परिवार स्वास्थ्य महाशाखाकै तथ्यांकअनुसार ४१ प्रतिशत महिलाले घरमै सुत्केरी गराएको पाइएको छ । विभिन्न पारिवारिक समस्या तथा अन्य कारणले पनि घरमै सुत्केरी गराउन बाध्य भएको चिकित्सकहरूको भनाइ छ । 

नेपालको संविधानको धारा ३८ (२) ले प्रत्येक महिलाको प्रजनन् स्वास्थ्य अधिकारलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ । सुरक्षित गर्भपतन सेवासहित प्रजनन् स्वास्थ्य सेवा महिलाहरूले आत्मसम्मानपूर्वक उपभोग गर्न पाउनुपर्ने व्यवस्था गरेको छ ।


Views: 65