18th January | 2020 | Saturday | 4:00:22 AM

सप्तरीमा पनि डेंगु संक्रमित फेला

अनिल पोखरेल   POSTED ON : असार ४, २०७६ (५:५० PM)

 सप्तरीमा पनि डेंगु संक्रमित फेला

राजविराज । सुनसरी तथा मोरङ्ग लगायत पूर्व तराईमा फैलिएकोे डेंगु संक्रमित सप्तरीको कञ्चनरुप नगरपालिकामा समेत फेला परेका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरुपको ल्याबमा चेकजाँच गर्दा वडा नं ६ का २७ वर्षीय रामकान्त चौधरीमा डेंगुको संक्रमण देखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डम्वर गुप्ताले जानकारी दिए ।  सोही वडाका अर्का एक व्यक्तिमा पनि डेंगुको आशंका गरिएको छ पुष्टि भने भएको छैन ।

त्यसैगरी जमुवामा आठ जनामा ज्वरो तथा डेंगुको लक्षण देखिएको बताइएको छ ।

धरान उपमहानगरपालिका १५ वैशाख ३१ गते पहिलो पटक मा डेंगु देखिएको थियो । हाल सुनसरीका इटहरी, बराहक्षेत्र, मोरङको सुन्दरहरैंचा, पथरी शनिश्चरे र विराटनगरसम्म डेंगुका बिरामी फेला परेका छन् ।

यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग  हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग एक प्रकारको ज्वरो हो। यसको संक्रमण भएपछि एक्कासी उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी मांसापेशिहरू दुख्ने, शरीरमा विमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुने आदि लक्षणहरू देखा पर्ने चिकित्सकहरु वताउँछन् । 


Views: 132