19th September | 2019 | Thursday | 3:07:17 PM

प्रसूतिगृहको मूल भवन पुनःनिर्माण

  POSTED ON : असार २७, २०७६ (५:३१ PM)

प्रसूतिगृहको मूल भवन पुनःनिर्माण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट क्षतिग्रस्त भएर जापानी सहयोग नियोग(जाइका)को सहयोगमा पुनःनिर्माण सम्पन्न भएको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको मूल भवनको आज उद्घाटन गरेका छन् ।  सो अवसरमा उहाँले भत्किएका संरचना राम्रो बनाउने काममा उपलब्धि भएको उल्लेख गर्दै अस्पतालका पार्किङ, जमीनलगायत समस्या समाधानका लागि सरकारका तर्फबाट सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे । अस्पताल निर्माण, डिजाइन, सुपरीवेक्षण, परामर्श सेवा, फर्निचर र  मेडिकल उपकरणका लागि रु दुई अर्ब ३६ करोड खर्च भएको थियो ।


“नेपालमा पहिलो पटक प्रसूति सेवाको विशिष्ट सेवा दिन निर्माण गरिएको अस्पताल ४० शय्याबाट हाल ४०० भन्दा बढी शय्यामा पुगेको छ, यसको अझै स्तरोन्नति हुनुपर्छ, गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्छ”, प्रधानमन्त्री ओलीले भने । ।  भूकम्पपछि अप्ठ्यारो अवस्थाबाट सेवा दिए पनि अब आधुनिक भवन निर्माण भएसँगै सहज रुपमा सेवा दिने अवसर बनेको बताउँदै उहाँले दातृ निकायका प्रतिनिधिलाई धन्यवादसमेत दिए ।

सो अवसरमा उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्रप्रसाद यादवले राजधानी बाहिर धेरै जनसङ्ख्या भएको शहरमा सुविधासम्पन्न अस्पताल बनाउन लागिएको जानकारी दिए ।  “सातै प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित विशिष्ट सेवालगायतको अस्पताल बनाउने सरकारको योजना छ, आधुनिक उपकरण जडान हुने यस्ता अस्पताललाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिनुपर्छ”, उनले भने ।  प्रसूति अस्पताललाई पनि स्वास्थ्य क्षेत्रको खोजअनुसन्धान गर्ने केन्द्रका रुपमा विकास गर्न लागिएको उपप्रधानमन्त्री यादवले बताए । रासस


Views: 78