10th December | 2019 | Tuesday | 11:42:46 AM

आँखा चिलाएर हैरान, कतै सुख्खा भएको त छैन !

पार्वती थापामगर   POSTED ON : श्रावण २४, २०७६ (१०:१८ AM)

आँखा चिलाएर हैरान, कतै सुख्खा भएको त छैन !

काठमाडौं । सुनसरीका सुखदेव नेपालको आँखा केही महिनादेखि धेरै चिलाउँछ । उनी आँखा अस्पताल पनि गए तर निको भएको छैन । औषधि प्रयोग गरुञ्जेल ठीक हुने फेरि उस्तै हुने उनले बताए । 

सुखदेव सवारी चालक हुन् । आँखा चिलाउने समस्याले दिनभरि गाडी चलाउन समस्या भएको उनले बताए । चिकित्सकको सल्लाहमा औषधि प्रयोग गरे पनि फेरि चिलाउँन थाल्दा उनी हैरान छन् । 

नयाँ बानेश्वरकी जानुका रावल पनि आँखा चिलाउने समस्याले हैरान छिन् । बिहान र बेलुका सबैभन्दा बढी चिलाउने उनले बताइन् । यही समस्याले उनले केही दिनदेखि मोबाइल फोन पनि राम्रोसँग चलाउन पाएकी छैनन् । 

धदिङकी सम्झना कटुवालको पनि केही दिनयता आँखा चिलाएर बेस्सरी दुख्न थालेको छ । चिलाएको केहि समयमा दुख्ने र रातो हुने उनले बताइन् । उनले भनिन् ‘हरेक वर्ष यही मौसममा मेरो आँखा चिलाउँछ । दुख्छ र पोल्छ । एकदेखि दुई महिनासम्म बेलाबेलामा चिलाइरहने र बिस्तारै निको हुँदै जाने भएकाले अस्पताल गएकी छैन ।’ 

आँखा रोग विशषेज्ञ डा. बेन लिम्बुका अनुसार स्वस्थ आँखा तथा सामान्य दृष्टिका लागि आँसु ज्यादै महŒवपूर्ण हुन्छ । आँखाको नानीको बाहिरी सतहमा (प्रि कर्नियल) आँसुको पातलो सतह (टियर फिल्म) ले लेन्सको काम गरी सामान्य दृष्टि (नर्मल भिजन) बनाउन मद्दत गर्छ । आँसुका तीन सतह हुन्छन् । ‘लिपिड’ सतह, ‘एक्वियस’ सतह र ‘म्युकिन’ सतह हुन् ।

आँसु उत्पादन गर्ने विभिन्न ग्रन्थीको समस्याले उत्पादन क्षमतामा कमी आउने चिकित्सकहरू बताउँछन् । यस्तै सामान्य गुणस्तरको आँसु बन्न नसक्दा आँखा सुख्खा हुने समस्या आउने र अस्वाभाविक तरिकाले चिलाउने हुन्छ । 

डा. लिम्बुका अनुसार गर्मी मौसममा तापक्रम वृद्धिसँगै हुरी बतास चल्ने तथा वायुमण्डलमा धुलो, धुँवाको मात्रा बढ्ने हुनाले आँसु चाँडै बाफ बनेर उड्छ अनि आँखा रातो भई पोल्ने र चिलाउने गर्छ । अत्यधिक वायुप्रदूषणले धुलोका कण तथा रसायन छिरेर आँखाको नानीमा टाँसिन्छ । यसले संक्रमण हुनसक्छ । पैदल यात्रु, सडकमा कार्यरत कर्मचारी, मोटरसाइकल चालक आदि यो समस्याबाट बढी प्रभावित हुन्छन् । यस्तै वर्षा मौसममा झनै घामपानीले प्रदुषकहरू आँखामा पस्छन् । 

वातावरणीय समस्या, प्रदूषण तथा तापक्रम वृद्धि, इलेक्ट्रोनिक उपकरणको बढी प्रयोक्ष्, पङ्खा, एअर कन्डिसनर, सौन्दर्य प्रशाधनको अढी प्रयोग जस्ता कारणले पनि आँखामा सस्या हुने गर्छ । महिला महिनावारी बन्द हुने समय तथा पाठेघरको शल्यक्रियाले पनि आँखामा समस्या ल्याउन सक्छ । बाथ, मधुमेह, थाइराइड सम्बन्धी समस्या, भिटामिन ‘ए’ को कमी जस्ता कारणले पनि आँखामा समस्या हुने चिकित्सकहरू बताउँछन् । 

डा. लिम्बुका अनुसार आँखा असजिलो हुनु, चिप्प्रा लाग्नु र च्यापच्याप हुनु, आँखा पोल्न, तथा दिउँसोपख रातो देखिनु, आँखा चिम्लिरहन मन लाग्नु, प्याज काट्दा आँसु नबग्नु, सहनै नसक्ने गरी आँखा दुख्नु, आँखा बिझाए जसरी दुख्नु सुख्खा आँखाका लक्षण हुन् । यस्तो अवस्थामा चिकित्सकको परामर्श लिनुपर्छ । 


Views: 76