10th December | 2019 | Tuesday | 11:36:23 AM

सबै पालिकामा आँखा उपचार केन्द्र आवश्यक

बद्री नयाँघरे   POSTED ON : श्रावण २४, २०७६ (५:५८ PM)

सबै पालिकामा आँखा उपचार केन्द्र आवश्यक

रामेछाप ।  सिंहदरवारको अधिकार गाउँ–गाउँ पुर्याउन संघीयताको कार्यान्वयनमा लागेका जिल्लाका सरोकारवालाहरुले रामेछाप जिल्लाका हरेक पालिकाहरुमा आँखा जाँच केन्द्र सञ्चालन गर्नुपर्ने कुरामा जोड दिएका छन् । 

 जिल्ला आँखा अस्पताल रामेछापले आज मन्थलीमा आयोजना गरेको परियोजना सल्लाहकार बैठककका अधिकांश सहभागिहरुले सो कुरालाई जोड दिएका हुन । उनिहरुले  तामाकोशि सेवा समिति मार्फत सदरमुकाममा संचालित आँखा अस्पताल सर्वसाधारणका लागि वरदान सावित भएको भन्दै त्यस खालको सेवा सबै पालिकामा संचालन गर्नका अनुरोध गरे । उनीहरुले जिल्लाका सबै पालिका र तिनको आसपासमा रहेको स्वास्थ्य केन्द्रमा पनि आँखा उपचारको ब्यवस्था गर्नुपर्ने बताए । 

कार्यक्रमका अवसरमा जिल्ला  सामुदायिक आँखा केन्द्रका प्रमुख बासुदेव अधिकारीले आँखामा मोतिबिन्दु, जलबिन्दु हुने र मधुमेहका कारण आँखाको पर्दामा असर हुने आँखाको नानीमा घाउ हुने नवजात शिशुमा आँखा पाक्ने रोग हुने आपतकालिन अवस्थामा आँखामा चोटपटक लाग्ने, आँखा अल्छि  हुने  न्यून दृष्टि र दृष्टि दोष जस्ता धेरै आँखामा समस्या देखिने  हुनाले यसको बेलैमा उपचार गर्नु पर्ने बताए ।  

सो अबसरमा जिल्ला सामुदायिक अस्पताल रामेछापका अध्यक्ष डा  सुमन  कर्माचार्यले रामेछापको खाँडादेवी गाँउपालिका स्थित गाल्वामा ओखलढुंगाको खिजी देम्बा गाउँपालिकामा र सिन्धुलीको फिक्कल गाउँपालिकामा पनि आँखा उपचार केन्द्र सञ्चालन गरिने बताए । 

जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्काले आँखा उपचार केन्द्र जिल्ला स्तरमा मात्र नभएर हरेक पालिकाहरुमा स्थापना गर्नुपर्ने कुरालाई जोड दिए । आँखा प्रतिष्ठानको सहयोगमा बेला बेलामा हुने गरेको शिबिरबाट वर्षेनी  आँखाका रोगीहरु लाभान्बित हुँदै आएको जानकारी गराए  । 

  कार्यक्रमका सहभागि मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले आँखा केन्द्रले जिल्लाको विकासमा पुर्याउँदै आएको योगदानको चर्चा गर्दै यसको संजाललाई सबै पालिकासम्म पुर्याउने वातावरण तयार गर्नुपर्ने बताए । कार्यक्रममा रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्का, खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठ, गोकुलगंगा गाउँपालिकाकी उपाध्यक्ष राधिका नेवार र अन्य जनप्रतिनिधिले आँखा उपचार केन्द्र सबै पालिकामा संचालन गर्नका लागि आफुहरु पनि सहयोग गर्न तयार रहेको बताए ।    

बैठकमा नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल, पत्रकार हिमाल ढुंगेल, जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख रामचन्द्र पाठक लगायतले जिल्ला सामुदायिक अस्पताल मार्फत हुने गरेको आँखाका रोगीको उपचार प्रशंसनिय भएको भन्दै यसलाई सवै पालीकाम पुर्याउन सके मात्र सर्व साधारणले राहतको अनुभुति गर्ने बताए । 

यू एस ए हिमालय क्यटरयाक परियोजनाको आर्थिक सहयोग तथा तिलगंगा अाँखा प्रतिष्ठानको प्राबिधिक सहयोगमा जिल्लामा सञ्चालित जिल्ला सामुदायिक आँखा उपचार केन्द्रबाट हाल रामेछाप, सिन्धुली, दोलखा र ओखलढुंगाका करिब १ लाख जनाको आँखा परीक्षण गरिएको र जसमध्ये ३ हजार २ सय जना मोतिबिन्दुका रोगीहरुको सल्यक्रिया गरिएको जानकारी गराईएको थियो । 




Views: 72