10th December | 2019 | Tuesday | 10:04:59 AM

कामकाजी महिलामा घट्दो स्तनपान

सरिशा अछामी   POSTED ON : श्रावण २५, २०७६ (१२:५१ PM)

कामकाजी महिलामा घट्दो स्तनपान

काठमाडौं । विश्व स्वास्थ्य संगठनका अनुसार बच्चालाई स्तनपान गराउने आमाको संख्या घट्दो छ । कतिपय महिलाहरू कामको व्यस्तताले आफ्नो बच्चालाई स्तनपान गराउन भ्याउँदैनन् । महिलाहरू घरबाहिर काममा जति सक्रिय बन्दै गए त्यति नै स्तनपान गराउनेको संख्या पनि घट्दै गयो । 

कामकाजी महिलाहरू आफ्ना शिशुलाई आवश्यकताअनुसार स्तनपान गराउने समय मिलाउन सक्दैनन् । ग्रामीण भेगका स्तनपानबारे ज्ञानको अभावमा छ । सहरी महिलामा कामको व्यस्तता छ ।  

चितवन घर भई मनोहरा नगरपालिका गोठाटार बस्ने सविता राईले छोरालाई २० महिना स्तनपान गराइन् । उनी कार्यालयमा सरसफाइ गर्ने कर्मचारी हुन् । बच्चालाई कार्यालय लैजान नसक्दा छिट्टै स्तनपान छुटाउनुपरेको उनको गुनासो छ । उनी कम्तीमा दुई वर्ष स्तनपान गराउन चाहन्थिन् । 

जोरपाटी बस्ने सीता श्रेष्ठ स्कुल शिक्षिका हुन् । उनले सुत्केरी बिदा दुई महिना पाइन् । उनी स्कुल जान थालेपछि सासूआमाले बच्चा स्कुलमै पु¥याउन थालिन् तर सधैँ यसो गर्न सम्भव भएन । आखिर १७ महिनामा नै स्तनपान गराउन छुटाउनुप¥यो ।  

बौद्ध बस्ने कविता राई बैंककी कर्मचारी हुन् । उनलाई पनि बच्चालाई नियमित स्तनपान गराउन समस्या भयो र दुई वर्ष नपुग्दै छुटाउनुप¥यो । उनका अनुुसार विश्वव्यापी रूपमा चासो र सरोकारको विषय मानिएको स्तनपानको महŒव शिक्षित पुस्तामा ओझेल पर्दै गएको छ । उनले भारत र बंगलादेशमा कामकाजी महिलालाई ६ महिनासम्मको प्रसूति बिदा दिने गरिएको भन्दै नेपालमा पनि यस्तो व्यवस्था गर्नुपर्ने धारणा राखिन् । नेपालमा अहिले ९८ दिन प्रसूति बिदा पाउने व्यवस्था छ । 

स्तनपान सप्ताहको अवसरमा स्वास्थ्य मन्त्रालयले प्रसूति बिदा ६ महिना पु¥याउने पहल गरेको छ । खासगरी कामकाजी आमाको अवस्थालाई ध्यानमा राखेर  मन्त्रालयले यस्तो पहल गरेको हो । 

आमाको दूध चार वर्षसम्म खाएका बच्चालाई अस्पतालको औषधि चाहिँदैन भन्ने भनाइ छ ।  सामान्य रुघाखोकी लाग्दा घरेलु औषधिले निको हुन्छ । चार  वर्षसम्म स्तनपान गराउँदा बच्चा फुर्तिलो र निरोगी हुन्छ । आमाको दूधले रोगसँग लड्ने क्षमता बढाउँछ ।  

स्वास्थ्य मन्त्रालयले तयार पारी व्यवस्थापिका संसद् सचिवालयमा प्रस्तुत गरेको प्रजनन तथा मातृ सुरक्षासम्बन्धी विधेयकको मस्यौदामा बढीमा दुई सन्तानको लागि ६ महिना प्रसूति बिदा दिन प्रस्ताव गरिएको छ ।  

नवजात शिशुको एक मात्र आहारा आमाको दूध हो । जन्मेको एक घण्टाभित्रमा पहिलोपटक र त्यसपछि शिशुको आवश्यकताअनुसार नियमित रूपमा स्तनपान गराउनुपर्छ । स्तनपान गराउँदा सुत्केरी अवस्थामा रगत जाने प्रक्रिया रोक्न सघाउ पुग्छ । शिशुलाई संक्रमणबाट बचाउँछ । दूधबाट आमाको रोग प्रतिरोधात्मक शक्ति बच्चामा सर्छ । आमाको दूध बच्चाको लागि सफा, तयार र सही तापक्रममा रहेको हुन्छ । स्तनपानले आमा र बच्चा दुवैलाई आत्मीय र सुरक्षित भएको अनुभूति दिन्छ । स्तनपान गराउन कुनै खर्च लाग्दैन ।

शिक्षित महिलाहरूमा स्तनपानको महŒव थाहा पाएर पनि बच्चालाई स्तनपान गराउने प्रवृत्ति कम हुँदै गएको छ । एकतातिर कामको व्यस्तता छ भने लामो समय स्तनपान गराउँदा आमाको सौन्दर्यमा ह्रास आउँछ भन्ने भ्रम छ । जानकारहरूका अनुसार शिशुलाई नियमित स्तपान गराउँदा आमाको सौन्दर्य बढाउन सघाउ पुग्छ । कतिपयमा भने आमाको दूधले मात्रै बच्चा अघाउँदैन भन्ने भ्रमका कारण थप खानेकुरा खुवाउनुपर्ने धारण छ । विज्ञहरूका अनुसार ६ महिनासम्म शिशुलाई आमाको दूधबाहेक अन्य थप खानेकुरा आवश्यक पर्दैन । 


Views: 108