17th February | 2020 | Monday | 5:53:27 AM

मेडिकल कलेज शुल्क विवाद –कारबाही गर्न सरकार दृढ

हिमालय टाइम्स   POSTED ON : मंसिर ११, २०७६ (४:१० PM)

मेडिकल कलेज शुल्क विवाद –कारबाही गर्न सरकार दृढ

काठमाडौं । सरकारले विद्यार्थीहरूसँग अतिरिक्त शुल्क लिएका मेडिकल कलेजहरूलाई बुधबारबाट कारबाही गर्ने भएको छ । अतिरिक्त शुल्क फिर्ता गर्न दुई पटकसम्म अल्टिमेटम दिँदा पनि नटेरेपछि सरकारले कारबाही थाल्ने भएकोे हो ।

मेडिकल कलेज सञ्चालकहरूले शुल्क फिर्ता नगर्ने तर समायोजन गर्न सकिने बताए पनि सरकारले शुल्क फिर्ता नगर्नेहरूलाई ठगी मुद्दामा कारबाही अघि बढाउने तयारी गरेको हो । 

मंगलबार मेडिकल कलेज सञ्चालकहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापन बुझाएर शुल्क फिर्ता नगर्ने बताएका थिए । लगत्तै गृह मन्त्रालयमा बसेको बैठकले शुल्क फिर्ता नगर्ने कलेजहरूलाई बुधबारबाट कारबाही गर्ने निर्णय गरेको हो । बैठकले आतिरिक्त शुल्क फिर्ता गर्न अन्तिम पटक छलफल गर्ने र सहमत नभए पक्राउ गरेर कारबाही गर्ने निर्णय गरेको बैठकमा सहभागी एक अधिकारीले बताए । 

यता, मेडिकल कलेज सञ्चालकहरूले अतिरिक्त शुल्क फिर्ता नगर्ने भन्दै ज्ञापन पत्र बुझाएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाइएको ज्ञापनपत्रमा शैक्षिक सत्र २०७४÷७५ र २०७५÷७६ मा लिएको अतिरिक्त शुल्क फिर्ता नगर्ने उल्लेख छ ।

‘हामीले विश्वविद्यालयले तोकेको शीर्षकको शुल्कभन्दा थप रकम नलिएको अवस्था भएकाले यस विषयमा न्यायोचित निर्णय लिइयोस् भनी अनुरोध गर्दछौं,’ ज्ञापन पत्रमा भनिएको छ । सरकारले अन्यथा निर्णय लिएमा सरकारको निर्देशनअनुसार ती शुल्कहरू कटाइ बाँकी शुल्क माग गर्न आउने विद्यार्थी वा अभिभावकलाई आर्थिक वर्ष २०७५÷७६ को रकम मन्त्रीको निर्णयको अधीनमा रही समायोजन गर्न आफूहरू प्रतिबद्ध रहेको उनीहरूको भनाइ छ ।

आगामी दिनमा शिक्षा मन्त्रालयको न्यायोचित नीति, नियम, निर्देशन पालना गर्न आफूहरू प्रतिबद्ध रहेको भन्दै मेडिकल कलेज सञ्चालकहरूले विश्वविद्यालयको पत्रको आधारमा आफूहरूले शुल्क लिएको जिकिरसमेत गरेका छन् ।

विद्यार्थीको आन्दोलन जारी

मेडिकल कलेजहरूले सरकारद्वारा निर्धारितभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीको आन्दोलन तीन महिनादेखि जारी छ । चितवन मेडिकल कलेजबाट सुरु भएको आन्दोलन अहिले देशव्यापी बनेको छ ।

कलेजहरूविरुद्धको आन्दोलन जारी रहे पनि विद्यार्थी संगठन भने चुपचाप बसेका छन् । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका विद्यार्थी संगठनहरू यस विषयमा मौन छन् ।

राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी विद्यार्थी संगठनहरू सत्ताको मतियार भएकाले मेडिकल माफियाविरुद्ध आवाज उठाउन नसकेको बताउँछन् । आफ्ना मुद्दाहरूमा संगठनहरूले सरकारलाई घुँडा टेकाउने गरी दबाब दिनुपर्ने भए पनि त्यसो हुन नसकेको उनले बताए । 

‘अहिलेकै अवस्थामा पनि विद्यार्थी संगठनहरूको औचित्य समाप्त भइसकेको छैन,’ उनले भने, ‘विद्यार्थी आन्दोलनका नाममा केहीले धन्दा चलाइरहेको भने साँचो हो ।’ 

हिजोका विद्यार्थी संगठनहरूमा एकता, आनुशासन र आदर्श भए पनि अहिले सत्तापक्षबाटै कमिशन लिने, घुस खाने, दलका नेताहरूबाट परिचालन हुने अवस्थामा विद्यार्थी संगठन पुगेको केसी बताउँछन् । 

यता, सत्तारूढ दलनिकट विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक ऐनसिंह महर भने मेडिकल कलेजविरुद्धको आन्दोलनको सुरुवात आफूहरूले गरेको बताउँछन् । ‘विद्यार्थीहरूलाई आन्दोलन गर्नुपर्छ हामी छौँ भनेर भन्ने हामी हो’, महरले भने, ‘तर हामी मेडिकल कलेजहरूमा झण्डा लिएर गएनौँ । पछिल्लो समय विद्यार्थीहरूलाई कुटपिट नै हुने अवस्थापछि हामीले क्याम्पसमा ज्ञापनपत्र बुझायौँ । सबै कलेजहरूमा आन्दोलनको क्रम सुरु गर्ने अनेरास्ववियु हो ।’

चिकित्सा शिक्षा संघर्ष समितिका नाममा होस् वा अरू कुनै नाममा त्यो अनेरास्ववियुका साथीहरूले गरेको आन्दोलन भएको उनको दाबी छ । उनले शिक्षामन्त्रीलाई भेटेरसमेत अतिरिक्त शुल्क फिर्ता नगर्ने कलेजहरूलाई कारबाही गर्न आग्रह गरिएको बताए । 

प्रमुख प्रतिपक्षी दल कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका निवर्तमान सभापति नैनसिंह महर मेडिकल सञ्चालकहरू विरुद्धभन्दा पनि सरकारविरुद्ध आन्दोलन आवश्यक रहेको बताउँछन् । सरकारले ऐन बनाएर मात्रै नहुने भन्दै उनले कार्यान्वयन मुख्य कुरा रहेको बताए । ‘सरकारले हुन्छ मात्रै भनेर हुँदैन । र, यसलाई सरकारले नटेरेको भन्न पनि मिल्दैन । अब बाध्यात्मक अवस्था सिर्जना गर्नुपर्छ’, उनले भने । 


ग्यास र पेट्रोलको भाउ बढ्दा सडक तताउने विद्यार्थी संगठनहरू विद्यार्थीहरूले शुल्क वृद्धिविरुद्ध जारी राखेको आन्दोलनमा सहभागी नहुनु लज्जास्पद भएको विश्लेषकहरू बताउँछन् । सरकारले एमबिबिएस अध्ययनका लागि उपत्यकाबाहिर ४२ लाख ५० हजार र उपत्यकाभित्र ३८ लाख ५० हजार शैक्षिक शुल्क तोके पनि मेडिकल कलेजहरूले बढी लिएको भन्दै धेरै कलेजका विद्यार्थी अहिले आन्दोलनमा छन् ।


Views: 75