13th December | 2019 | Friday | 3:34:24 PM

ढाड दुख्छ भने बेलैमा उपचार गराऔं

  POSTED ON : मंसिर १६, २०७६ (६:३० PM)

 ढाड दुख्छ भने बेलैमा उपचार गराऔं

काठमाडौं । ललितपुरको बालकुमारीकी हीरा महर्जन एक महिनामा २० दिनजति ढाड दुखेर हैरान हुन्छिन् । आफ्नो रोग निको पार्न उनले डाक्टर र वैद्यको धेरै औषधि खाइसकिन् । उनको रोग निको भएको छैन । औषधि खाउन्जेल ठीक भए जस्तो हुन्छ । खान छोडे, जस्ताको तस्तै । 

ललितपुरकै झम्सीखेल बस्दै आएकी पार्वती पनेरूले औषधि खान थालेको तीन महिना भयो । उपचारका लागि पाटन अस्पताल आएकी उनले भनिन्, ‘साह्रै नराम्रोसँग दुख्छ, कस्तो दुखाइ भनेर भन्नै गाह्रो ।’ ढाड दुख्न थालेपछि उनले हिल जुत्ता लगाउन छाडिन् । शरीरको तौल घटाउन डाइटिड गरिन् । तर कम भएन । 

‘ढाड दुख्यो’ भन्दै उपचारका लागि डाक्टरसम्म पुग्नेमा अधिकांश महिला छन् । कुल जनसंख्याको ८० प्रतिशत मानिसको जीवनमा कुनै न कुनै बेला ढाड दुख्ने समस्या देखापर्छ । यो समस्याबाट महिला धेरै पीडित छन् । धेरै महिला पीडित हुनुको पछाडि निहुरिएर काम गर्नु मुख्य कारण भएको चिकित्सकको भनाइ छ । २५ वर्ष उमेर समूहका युवायुवतीलाई लगातार ढाड दुखे त्यो खतरनाक हुनसक्ने हाडजोर्नी विशेषज्ञ डा निराकार पनेरू बताउँछन् । 

मेरुदण्डको हड्डीभित्र मुख्य नसा, त्यसवरपर हुने लिगामेन्ट तथा दुई हड्डीबीचमा नरम मासु हुन्छ जसलाई डिक्स भनिछ । मांसपेशी र अन्य तन्तुमा जहाँ चोट लागेपनि ढाड दुख्ने समस्या हुन सक्छ ।

८० देखि ९० प्रतिशत मांसपेशी र लिगामेन्ट तन्किने, खुम्चिने कारणले गर्दा ढाड दुख्छ । सुताइ नमिल्दा, पल्टिएर लामो समय कम्प्युटर मोबाइल चलाउने, गह्रौँ सामान उठाउने, निहुरिएर काम गर्नेमा यस्तो समस्या बढी हुन्छ । नेपाली समाजमा यसलाई ‘चस्को पसेको’ पनि भनिन्छ । प्रायः ३५ देखि ५५ उमेर समूहका मानिसमा बढी देखिन्छ ।  

यसबाहेक अन्य कारणले पनि ढाड दुख्ने समस्या हुन सक्छ । कहिलेकाहीँ डिक्स फुट्दा नसा च्यापिएर पनि दुखाइ हुन्छ । यस्तोमा हातखुट्टा झमझम हुने र दुख्ने हुन्छ । यस्तो अवस्थामा तत्काल उपचार गराउनुपर्ने बताउँछन् उनी । यस्तो समस्या भएमा दुखाइ घुँडातिर या कम्मर मुन्तिर खुट्टातिर सर्ने हुन्छ । पाठेघरको समस्या, मिर्गौलामा पत्थरी भएको छ भने पनि ढाड दुख्छ । मेरुदण्ड संक्रमण, साधारण कब्जियतको समस्या, खानपानले ठूलो आन्द्रामा असर पर्दा पनि ढाड दुख्ने समस्या हुन्छ ।

अझै काठमाडौंको सडकमा बाइक चलाउनेहरूमा पनि सबैभन्दा धेरै ढाड दुख्ने समस्या बढी छ । किनकि यहाँको बाटोमा खाल्डाखुल्डी बढी छ । बाइक चलाउँदा खाल्डामा घचक्क हुँदा ढाड दुख्ने तथा डिक्स फुट्ने समस्या बढी हुन्छ ।

Views: 134