Date:2017/09/26 |Tuesday

पुनः मतगणना गरौं भनें तर निर्वाचन अधिकृत मान्दै मान्नुभएन

Posted on: July 06, 2017 | views: 124 |

करिव २० वर्षपछि भएको स्थानीय तह निर्वाचन लामो समयपछि स्थानीय तहले जनप्रतिनिधि पाउने भएपछि त्यसैपनि चर्चामा नै थियो । किनपनि चर्चामा थियो निर्वाचन भने जनता निर्वाचनप्रति उत्साही थिए । एकातिर प्रचण्ड गर्मी भने अर्कोतिर झरी अनि असार महिना मानो रोपेर मुरी उव्जाउने समयमा पनि मतदाता उत्साहित भएर मतदानमा सहभागी भए । अर्को रोचक प्रसंग कस्तो पनि भयो भने कतै सासु बुहारीबीच, कतै देउरानी जेठानी, कतै ज्वाइँ ससुराबीच, कतै उमेरका हिसाले बृद्धबृद्धाबीचको प्रतिस्पर्धाले पनि कतिपयको चर्चा भयो । कुनै उम्मेदवार धेरै मतअन्तरमा विजयी भएर चर्चा पाए त केहीले सवैभन्दा कम मत ल्याएर । तर झापाको कमल गाउँपालिकाका नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार हुकुमसिंह राई पनि चर्चामा रहे । उनी यसकारण चर्चामा रहे कि उनी बराबरी मत ल्याएर गोलाप्रथाबाट पराजित भए । निर्वाचनमा राई र नेकपा एमालेकी उम्मेदवार मेनुका काफ्लेको ८२७५ बराबर मत आएपछि गोलाप्रथाबाट विजयी घोषणा गरिएको थियो । गोला प्रथामा काफ्ले विजयी भइन् भने राई पराजित भए । प्रस्तुत छ उनै गोलाप्रथाबाट पराजित कमल गाउँपालिकाका अध्यक्षका पराजित उम्मेदवार हुकुमसिंह राईसँग हिमालय टाइम्सले गरेको कुराकानीः

गोलाप्रथाबाट पराजित हुनुभयो कस्तो लागिराछ ?

लोकतन्त्रिक पद्दतीमा विश्वास राख्नुपर्छं । यसलाई सामान्य रुपमा लिएको छु । 

पुनः मतगणना गर्नका लागि तपाइँको विकल्प थियो नि किन सुरुमै गोलाप्रथामा जान मान्नुभयो त ?

निर्वाचन निष्पक्ष र धाँधलीरहित भएको थियो । मैले बराबरी मत आएपछि पुन मतगणना गरौं भनेर भनें । तर निर्वाचन अधिकृत प्रेमप्रसाद लुइँटेल मान्दैमान्नु भएन । मैले पनि ऐन नियमलाई आधार मानेर गर्ने हो । त्यसैले पुनः मतगणना हुँदैन निर्वाचन नियम अनुसार गोलाप्रथामा जान्छ भन्नुभयो । उहाँले पनि केन्द्रमा कुरा गर्नु भएछ । अनि एमालेका साथीहरुले पनि पुनः मतगणना हुँदैन भनेर अडान लिनुभयो । अनि मैले पनि लौ न त त्यसो भए भनेर गोलाप्रथा गरौं भनेर मानें ।

बराबरी मत आएपछि पार्टीका केन्द्रीय नेताहरुलाई के गर्ने भनेर सुझाव लिनु भएन त ?

बास्तवमा निर्वाचन स्पष्ट रुपमा निष्पक्ष भएको थियो । त्यसैले हामीले यो कुरा के भन्नुपर्यो र भनेर सरसल्लाह गरेनौं ।

गोलाप्रथाबाट पराजित भएपछि त लाग्यो होला नि कतै यसो गरेको भए हुन्थ्यो कि भनेर ।

विल्कुलै लागेन र अहिले पनि लागेको छैन ।

पार्टी सभापति र अन्य केन्द्रीय नेताहरुले फोन गरेर केही भनेका छैनन ?

पार्टी सभापतिले त फोन गर्नुभएको छैन । तर केही केन्द्रीय नेताहरुसँग कुरा भएको थियो । उहाँहरुले यसलाई समान्यरुपमा लिनुपर्छ भन्नु भएको छ । तपाईँले एमालेको बर्चस्व भएको स्थानमा राम्रो गर्नुभएको छ भनेर भन्नुभयो । अझ यहाँ पार्टीलाई बलियो बनाउन हामी सहयोग गर्छौ भन्नुभएको छ । 

बास्तवमा यो तपाईँको हार कि जित हो ?

यो मेरो हार होइन कमल गाउँपालिकावासीको हार हो । तोपगाछी र लखनपुरका केही खण्ड मिलाएर कमल गाउँपालिका बनेको हो । यो क्षेत्र एमालेको पहिलेदेखिकै गढ हो । २०४३ को जनपक्षीय निर्वाचन होस् या २०४६ पछि भन्नुस् सवै निर्वाचनमा एमालेको पूरै बर्चश्व भएको क्षेत्र हो । यहाँ अरु कुनै पार्टीले पनि च्याउने अवस्था थिएन। तर मैले प्राविधिकरुपमा त हारें तर बर्चश्व त भत्काइदिएँ नि । 

केही बढी मत ल्याएर जित्नुपथ्र्यो नि त बराबरी आयो कसरी एमालेको बर्चश्व भत्काउनु भयो त ?

गाउँपालिकको अध्यक्षले जित्नलाई कम्तीमा पनि चार वटा वडा अध्यक्षले जित्नुपर्छ । हाम्रोमा एक जना साथी २२ मतअन्तरले वडा अध्यक्षमा र एक जना वडा सदस्यमा जित्नुभयो । त्यतिबेला पनि एमालेका साथीहरुले हार स्वीकार गरिसकेको अवस्था थियो । हेर्नुस् यतिगर्दा पनि मेरो मत बराबरी आउनु भनेको कम चानचुने कुरा थिएन । 

किन पराजित भयो त कांग्रेस कमल गाउँपालिकाबाट ?

गाउँमा मतदाता शिक्षा नै पुगेन । भोट क्रस गर्न नजानेरै समस्या भयो । १६ सय भन्दा बढी मत बदर भएको अवस्था छ । 

पार्टीकै अन्तरघात भएजस्तो लाग्दैन ?

त्यो पनि हुनसक्छ तर अहिलेनै समीक्षा गर्न छिटो हुन्छ । रिपोर्टिङ भइरहेको छ । १५ दिनपछि बसेर समीक्षा गरौं भन्ने सल्लाह भएको छ । असहयोग गरिएको रहेछ र त्यस्तो पाइयो भने गलत मान्छेलाई पार्टीमा राख्नुहुन्न । 

के छ त अबको योजना ?

हेर्नुस् मेरा बाउ बाजेले राणाकालदेखि नै प्रजातन्त्रका पक्षमा लडेका राजनीति गरेका हुन् । म विद्यालय पढ्दादेखि नै राजनीतिमा लागेको । कुनै लहडमा होइन । त्यसैले एमालेको यस्तो गढ भत्काएर यतिसम्म भएँ भने अब झन् पार्टीलाई मजबुद बनाउनै लाग्छु नि । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं