Date:2017/11/23 |Thursday

लामो संघर्षले सफलता मिल्यो

Posted on: July 19, 2017 | views: 125 |

काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा आजभन्दा सात वर्ष अघिदेखि पाइला चालेकी रितु कंडेल अहिले आफूलाई एक स्थापित गायिकाको रूपमा चिनाइसकेकी छिन् । विशेषतः आधुनिक तथा पप गीत गाउने रितुले केही लोक गीत पनि गाएकी छिन् । रितुले ‘रितुका फूल’ नामक एल्बम पहिलोपटक बजारमा ल्याएकी थिइन् । जसमा गजल गीत, लोकपप तथा आधुनिक गरेर ७ गीत समावेश थिए । सुरुवातमै चल्तीका गीतकार तथा संगीतकारहरूसँग मिलेर एल्बम निकालेको हुँदा सफलता मिलेको रितुले बताउँछिन् । आजका दिनसम्म तीन दर्जन गीतमा स्वर दिइसकेकी छिन् भने आफंैले तीन एल्बम बजारमा ल्याएकी छिन् । उनै रितुले हिमालय टाइम्ससँग आफ्ना सांगीतिक यात्रामा भोगेका सुखदुखका क्षणहरूको बारेमा यसरी बताउँछिन् ।

रितुजीको पछिल्लो समयको व्यस्तता केमा छ ?
वर्षांैदेखि गीतसंगीतको क्षेत्रमा छु त्यसैले यो क्षेत्रभन्दा टाढा रहेर त कहाँ बस्न सकिन्छ र । यस्तै हो गीत रेकर्ड, रिलिज भन्यो, अग्रजहरूलाई भेट्यो । गीतसंगीतकै क्षेत्रमा व्यस्त छु । यतिखेरको कुरा गर्दा ‘सिंगापुरे’ बोलको तीज गीत भर्खर मात्र बजारमा आएको पनि छ । जुन छोटो समयमै दर्शक तथा श्रोताले मन पराइदिनु भएको छ र अब ‘साथी’ एल्बम ल्याउने क्रममा छु । जसका केही गीत रेकर्ड पनि भइसकेका छन् ।

भर्खर तीज गीत निकालेको भन्नु भो, फेरि आधुनिक पनि आउँदै छ । सबै किसिमको गीत गाउनु हुन्छ ?
सबैभन्दा पनि मलाई कुन गीत गाउँदा राम्रो सुनिन्छ ती गीतहरू गाउने गरेकी छु । विशेषतः मैले आधुनिक गीत बढी गाउँछु । पहिलेदेखी नै आधुनिक गीतमा रुचि र त्यसकै लागि पढ्दै आएको कारणले पनि आधुनिकमा बढी मन गएको हो । दर्शकले आधुनिक गीतलाई मन पनि पराइदिनु भएको छ । आधुनिकबाहेक अन्य कुरा गर्दा पप गीत पनि गाउने गरेकी छु र पछिल्लो समय गएको वर्षबाट तीज गीत पनि गाउन लागेकी हुँ ।

यतिका समय आधुनिक र पप गीतमा रमाएको मान्छे एक्कासि तीज गीतमा आउनु भएछ नि, किन ?
तीज गीत मैले नगाएको भए पनि एकदम मन पर्छ । महिलाको चाड भएको र म पनि महिला भएकोले पनि मलाई विशेषगरी त्यो कुराले तानेको हुन सक्छ । अर्को कुरा मेरा धेरे महिला साथीले तिम्ले पनि तीज गीत गाउनुपर्छ । तिम्ले पनि सक्छौं भनेर प्रेरणा दिएपछि गरौं न भनेर गएको वर्षबाट सुरु गरेकी हुँ । गएको वर्ष एक तीज गीत र अहिलेको वर्ष एक गीत ल्याएकी हुँ । जुन गीतलाई दर्शकले मन पराइदिनु भएको छ ।
तपार्इंको संघर्षका दिन छन् भने बताइदिनुस् न । यो क्षेत्रमा कसरी आउनु भो ?
म यो क्षेत्रमा आजको दिनसम्म आइपुग्न धेरै संघर्ष गर्नुपरेको छ । सुरुवातका दिनको कुरा गर्दा अहिले पनि कस्तोकस्तो लाग्छ । यो गीतसंगीतको क्षेत्रमा सुरुवातमा नबुझुन्जेलसम्म धेरै गाह्रो पनि छ । म चितवनवासी हुँ । साथीदेखि गीतसंगीतमा एकदम रुचि थियो । स्कुल पढ्दाखेरी नै सानोसानो कार्यक्रमहरूमा पनि भाग लिने गर्थें । सबैले तिम्ले राम्रो गाउछौं भनेर प्रोत्साहन दिने गर्नुहुन्थ्यो । स्कुलको शिक्षक, साथीभाइहरूबाट धेरै हौसला मिल्ने गथ्र्यो । घरको माहोलको कुरा गर्दा बैंकमा जागिर खानुपर्छ भनेर सुरुवातमा कमर्स विषय पढेँ तर आफूलाई सानैदेखि गीतसंगीतको माहोलले छोड्न सकेको थिएन त्यसैले अन्य क्षेत्रमा दिमाग लैजानै सकिन । काठमाडौं आइसकेपछि पनि लय कला क्याम्पसमा संगीत पढ्न थालेँ त्यसपछि धेरै अग्रजहरूसँग चिनजान हुन थाल्यो ।
कलेज पढ्दै गर्दा आफूसँग पैसा हुन्थेन गीत रेकर्ड गर्न धेरै पैसा लाग्छ भन्ने थाहा पाएपछि कसरी निकाल्ने भनेर मनमा कुरा खेलिरहन्थ्यो । त्यो बेलामा कहाँ जाने कसलाई भन्ने, कुन ठाउँमा गीत रेकर्ड गराउने केही थाहा थिएन । नयाँ भन्नेबित्तिकै कसैले कुरा सुन्दिन्थेन । कतिले त गीत निकाल्दिन्छु भनेर पैसा लैजाने गीत पनि ननिकाल्दिने गरे । पहिलो एल्बम निकाल्दा मैले दुई लाखसम्म खर्च गर्नुपरेको छ । म काठमाडौंमा बस्दा मेरो छिमेकीमा कोमल वली दिदी बस्नु हुन्थ्यो त्यो भएर पनि चिनजान हँुदै गएपछि गीतसंगीतको क्षेत्रमा कोमल दिदीले पनि धेरै सहयोग गर्नुभयो । सुरुवातमा यो क्षेत्रमा कसैले सहयोग नगर्दा जता गए पनि नयाँ भनेर बेवास्ता गर्दा त हैरानी खाइसकेकी थिएँ । तर संघर्ष गर्नुपर्छ भनेर निरन्तर लागिरहेँ । त्यसैले आज लामो संघर्षले सफलता मिलेको हो जस्तो लाग्छ ।

पहिलो एल्बमकै लागि दुई लाख खर्च गर्नुभएछ, के लगानी उठाउनु भयो त ?
लगानी को कुरा त के कुरा गर्नु त्यसको सानो हिस्सा पनि उठेन । किनकि सिडी डिभिडी बिक्ने जमाना हराइसकेको थियो । गीत बजारमा ल्याएकी छु भन्ने मात्र थियो । पैसा खर्च गरेर मैले पाएको भनेको दर्शक मात्र हो । पहिलो एल्बम ‘रितुका फूल’ निकाल्दा चल्तीका गीतकार तथा संगीतकार लिएको हुँदा पनि धेरै खर्च लागेको हो । एल्बममा समावेश सात गीतमध्ये केही गीतमा डा. कृष्णहरि बरालको शब्द त्यसैगरी कालिप्रसाद बास्कोटाको संगीत पनि छ । ‘बतास’ बोलको गीतले गर्दा मलाई दर्शकले अझ बढी चिन्ने मौका पाउनुभयो । जुन गीतमा कमल खत्रीको शब्द संगीत छ । अझ विशेषतः त्यो गीतमा मैले नै अभिनय गरेको भएर पनि दर्शकसामु अझ चिनिने मौका पाएँकी हुँ ।

गीत गाउनकै लागि स्टेजमा कत्तिको जाने मौका पाउनु भएको छ ?
पछिल्लो समय देशभित्रका धेरै स्टेज चढ्ने मौका पाएकी छु । पहिलो स्टेज मैले हेटांैडाको मनोहरी महोत्सवमा पाएकी थिएँ । त्यसपछि अहिले नेपालका धेरै जिल्लामा जाने अवसर पाएकी छु । देशबाहिरको कुरा गर्दा अहिलेसम्म जाने अवसर त मिलेको छैन तर अहिले जापान र मलेसियाका लागि आयोजकहरूसँग कुरा भइरहेको छ ।

तपाईं त अहिले संगीतमा मास्टर पनि गर्दै हुनुहुन्छ । संगीतको क्षेत्रमा पढेर आउनु र नपढी आउनुमा कत्तिको फरक पाउनु हुन्छ ?
फरक त अवश्य हुन्छ नि । पढेर आइयो भने धेरै कुराको ज्ञान हुन्छ तर नपढी आउँदा आफूले जति गरेको छ त्यति कुराबाट मात्र सिक्ने मौका मिल्छ । नपढ्दा बिस्तारै सिकिन्छ भने पढ्दा पहिला नै सिक्ने मौका मिल्छ । अर्को कुरा गीतसंगीतको क्षेत्रमा आफूले पढेर आइयो भने यदि गीतहरू निकालेर आम्दानी गर्न सकिएन भने पनि संगीत पढाएर पनि आम्दानी गर्न सकिन्छ नि ।
प्रस्तुतिः गोपिकृष्ण चापागाईं ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं