Date:2017/08/22 |Tuesday

म पाठकलाई अल्मलाउन खोज्दिन

Posted on: August 12, 2017 | views: 232 |

कवि/नियात्राकार

वि.सं. २०७३ सालमा प्रकाशित कृतिहरूमध्ये ९ वटा कृति मनोनयनमा पारेको छ । मदन पुरस्कारको मनोनयनमा चौथो नम्बरमा परेको कृति ‘दोहाको सिधा उडान’का सर्जक जय छाङ्छाको लामो समय परराष्ट्र सेवामा बित्यो । परराष्ट्र सेवामा रहँदा नै विभिन्न देशमा रहेको नेपाली दूतावासमा कार्यरत छाङ्छाले कार्यालयको काम मात्रै गरेनन्, फूर्सदमा नियात्रा, कविता र कथा पनि लेख्दै गए । कतारमा कार्यरत रहँदाको घुमघाम र खोजीको सङगालो हो कृति, दोहाको सिधा उडान । प्रस्तुत छ, सर्जक छाङ्छासित हिमालय टाइम्सका लागि राजेश खनालले गरेको कुराकानीको मुख्य अंश ।

मदन पुरस्कारको मनोनयनमा पर्नुभएको छ, कस्तो लागिरहेको छ ?

खुशी लागेको छ । खुशी लाग्नु स्वाभाविक पनि हो । किनभने मानिसको कुनै न कुनै गन्तव्य बिन्दु त हुन्छ नै । त्यही बिन्दुतिरको यात्रा हो यो, भन्ने लाग्छ मलाई । म लो प्रोफाइलमा रहेर काम गर्ने मानिस हुँ । त्यसैले मैले गरेको कामको मूल्यांकन भएको मलाई लागेको छ । मानिसले काम गर्दै जाने हो । मेरो निरन्तरको काम गराईमा मदन पुरस्कार गुठीको नजर पनि पर्न गएको छ । त्यसो त काम गर्दा पुरस्कार वा सम्मानको आशा लिएर गरिएको हुँदैन । मैले पनि कुनै अपेक्षा राखेको थिइन । मेरो निरन्तरता, मेरो अभ्यास र मेरो लगनले नै यो मौका मिलेको हो भन्ने लाग्छ । मैले कुनै पनि पुरस्कारको आशा गरेर लेखेको भए सायद यति पनि लेख्दिनथे होला । 

तपाईंको लेखनको सुरुआत कहाँबाट भयो ?

म सानो हुँदा नै मलाई कथा, कविता पढ्न मन लाग्थ्यो । भोजपुरको बास्तीमा रहँदा नै मैले कथा कविताका किताब पढेथेँ । घरमा रामायण र महाभारतका किताब भएकोले त्यो पनि पढेको थिएँ । गाउँमा घाँस काट्न जाँदा मैले अलिकति घाँस काटेर किताब पढेको देख्दा दाजुभाइले कामचोर पनि भन्थे । पढाइमा राम्रै थिएँ । घरमा यस्ता पुस्तक भएकोले पनि होला पुस्तक पढ्नमा रुचि बढ्दै गयो । पछि झापाको तोपगाछी गएँ पढ्नलाई । त्यहाँको स्कुलमा नारायणबहादुर कार्की शास्त्री शिक्षक हुनुहुन्थ्यो । संस्कृत पढाउनु हुन्थ्यो । उहाँको पढाउने शैली खुबै राम्रो थियो । म उहाँबाट पनि प्रभावित भए । उहाँकै कारण राईको छोरो भए पनि संस्कृतमा चाख लाग्दै गयो मलाई ।

त्यसैले पछि गीता पनि पढ्न थाल्नु भयो ?

गीताको अध्ययनमा मेरो रुचि छ । गीतामा विद्यमान राम्रा कुराहरू मैले ग्रहण गरिरहेको हुन्छु । त्यसमा धेरै राम्रा कुराहरू छन् जसबाट हामीलाई अनेकानेक उत्प्रेरणाहरू मिल्छ । गीताको अध्ययनले मेरो लेखनलाई पनि ऊर्जा मिलेको छ । त्यसैले पनि म निरन्तर लेख्ने कर्ममा छु । मेरो लेखनले नै मलाई सर्वत्र परिचित गराएको छ । मैले लेखेका कविताहरू अँग्रेजी भाषामा अनुवाद भएका छन् । अमेरिकामा रहँदा मैले अंग्रेजी कविताको पुस्तक नै पनि निकालेको थिएँ । मेरो कविता पुरस्कृत पनि भएको थियो । मलाई लाग्छ, लेखकले लेखिरहनु पर्छ । कुनै न कुनै दिन त्यसको मूल्यांकन अवश्य हुन्छ । 

स्कुलमा हुँदा के लेख्नु हुन्थ्यो ?

कविता, निबन्ध र कथाहरू नै लेख्थेँ । एक चोटि रेडियो नेपालले निबन्ध प्रतियोगिता गरेको थियो । मैले पनि निबन्ध पठाएको थिएँ । एक दिन रेडियो नेपालले मेरो निबन्ध प्रसारण गरेछ, जय राई, महेन्द्र रत्न माध्यमिक विद्यालय, कक्षा नौ तोपगाछी भनेर । मैले त सुन्न पाइन । तर चितवनका सत्यमोहन लामाले मलाई हवाईपत्रमा चिठी लेख्दै मेरो निबन्धको तारिफ गरे । उनले पनि मलाई यो मार्गमा अग्रसर हुन प्रेरित गरेका हुन् कि भन्ने लाग्छ । म ०३४ सालमा काठमाडौं आएँ । त्रिचन्द्र कलेजमा पढ्थेँ । एक दिन एउटा कथा लेखेँ र जनजागृति साप्ताहिकमा पठाइदिएँ । मेरो त्यो कथा छापियो । मलाई साथीहरूले सोधे पत्रिकाका सम्पादकलाई चिनेको हो ? मैले होइन भने । कसरी छापियो भनेर सोधेँ । खै कसरी कसरी । त्यसपछि मैले नयाँ सन्देशमा पनि कथा पठाएँ । त्यहाँ पनि छापियो । सम्पादक नचिनेर पनि छापिँदो रहेछ भन्ने लागेर निरन्तर लेख्दै गएँ । ०३८ सालमा मैले जागिर खाए, परराष्ट्र सेवामा ।

जागिर खाएपछि लेखन कम भयो कि भएन ?

सायद झन् बढी लेख्न थालेँ । म २०४२ मा जर्मनी गए । त्यहाँबाट फर्के पछि केही साथीले भने के ल्याइस ? मैले रक्सी सक्सी सोचेर जाउँ न त भने । उनीहरूले मलाई गाली गरे । तँ लेख्ने मानिस, केही लेखेको छस् कि छैन भनेर पो सोधेको । उनीहरूले आफूहरू जर्मनी जान नसक्ने तर जर्मनी कस्तो छ भन्ने कुरा पढ्न सक्ने बताएपछि मलाई पनि लाग्यो, मैले जर्मनीका बारेमा केही लेख्नुपर्छ । त्यसको केही वर्षपछि म अस्ट्रेलिया गएँ । त्यहाँ रहँदा नै ‘कँगारुको देशमा हराउँदा’ शीर्षकको एउटा लेख लेखे र गोरखापत्रमा पठाएँ । पठाएको केही समयपछि छापियो । त्यहाँ पनि नचिनेरै छापिएको थियो ।

मलाई लाग्छ, मलाई कुनै शक्तिले परिचालित गरिरहेको थियो र लेखाइरहेको थियो । काठमाडौंमा फर्किएपछि म गोरखापत्रमा गएँ । मधुपर्कमा जाँदा नै श्रीओमजीसित परिचय भयो । उहाँमा नयाँ लेखकलाई प्रोत्साहन गर्नुपर्छ भन्ने भावना थियो । उहाँले नै युरोप यात्रा लेख्न भन्नुभयो । र एउटा नियात्रा ‘रोम बसाईका क्षणहरू’ मधुपर्कमा छापियो । 

त्यसपछि श्रीओमजीले मलाई नेपाली साहित्यिक जगतका मूर्धन्य व्यक्तिहरूसित परिचय गराउँदै लैजानु भयो । श्रीओमजीले यस क्षेत्रमा मलाई धेरै सहयोग गर्नुभएको छ ।

अमेरिकामा पनि कविता लेखेर पुरस्कृत हुनु भयो, होइन ?

अमेरिकामा राजदूतावासमा काम गर्दा अमेरिकाको लाइब्रेरी अफ कंग्रेसमा स्वयम् सेवक भई काम गर्ने मौका मिलेको थियो । त्यसैकारण त्यहाँका कवि गोष्ठीहरूमा जान पाएको थिएँ । अरुको कविता सुन्ने गरिरहेको मैले एकपटक एउटा कविता लेखेर अंग्रेजीमा अनुवाद गरेँ र वाचन गरेँ ‘पोटोम्याक’ शीर्षकको । त्यो कविता पुरस्कृत भयो । त्यसले पनि मलाई ऊर्जा दिँदै गयो । 

लाइब्रेरीको कसरी स्वयंसेवक हुुनु भयो ?

अमेरिकाको लाइब्रेरी अफ कंग्रेसमा स्वयंसेवक भई काम गर्न पाउनु पनि मेरा लागि ठूलो उपलब्धि थियो । नेपालबाट सायद सो लाइब्रेरीमा स्वयंसेवक हुने म नै पहिलो व्यक्ति थिएँ । म छुट्टिको दिन लाइब्रेरीमा स्वयंसेवक भएर कार्य गर्थँे । त्यहाँ धेरै मुलुकका स्वयंसेवकहरू कार्यरत थिए । लाइब्रेरी अफ कंग्रेस विशाल छ । 

मदन पुरस्कारको मनोनयनमा परेको पुस्तकका बारेमा बताउनुस् न ।

म परराष्ट्र सेवामा कार्यरत रहँदा नै कतारको राजदूतावासमा काम गर्न सरुवा भई गएको थिएँ । त्यही रहँदा बिदाका दिन त्यहाँका विभिन्न पुराना र साँस्कृतिक स्थलहरूको भ्रमण गर्ने मेसो मिलाएँ । यसरी कतारको दोहाका विभिन्न स्थानहरू गुगलमा खोज्दै भ्रमण गर्दै जाँदाका यात्रा विवरणहरू यो पुस्तक ‘दोहाको सिधा उडान’मा प्रस्तुत गरेको हुँ । वास्तवमा यो नियात्रा कृति भए पनि यसमा धेरै कुराहरू ठाउँहरू खोजी गरिएर लेखिएको छ । त्यसैले यो पुस्तक केही फरकरूपमा रहेको मलाई लाग्छ । शुक्रबार र शनिबार म साथी खोजेर घुम्थेँ र नयाँनयाँ ठाउँ खोज्थेँ । त्यस्तो मरुभूमिमा पनि मैले चार सय वर्ष पुरानो रूख फेला पारेँ भने गुफा पनि फेला पारेँ, पहाड पनि फेला पारेँ । वास्तवमा यस पुस्तकमा मैले केही नयाँ कुरा दिन खोजेको छु । मैले खोजी नियात्राका रूपमा लिएको छु यसलाई ।

जय छाङ्छा सानो कुरोलाई पनि ठूलो बनाउँछ भन्ने आरोप पनि छ नि ?

होइन, मैले त सूक्ष्मसूक्ष्म कुरालाई मेरो नियात्रामा राख्ने प्रयत्न गर्छु । कहाँ कुन होटल छ, कति पैसा लिन्छ, त्यसको पनि अस्तित्व छ है भनेर मैले लेख्ने गरेको हुँ । मैले सानासाना कुरा लेखेर सबैलाई सहयोग पनि गरेको छु भन्ने लाग्छ । वास्तवमा म रियालिटीमा आधारित भएर लेख्छु । म पाठकलाई अलमलाउन खोज्दिन । यथार्थ उल्लेख गरिदिन्छु । 

आम पाठकको दृष्टिकोण कस्तो पाइयो दोहाको सिधा उडानको ?

राम्रै प्रभाव पारेको मैले अनुभव गरेको छु । पाठकहरूले खोजी रहनुभएको छ । रुचाउनु पनि भएको छ । 

आशावादी हुनुहुन्छ ?

दुई सयवटा किताबमा नौवटा किताबभित्र पर्नु नै ठूलो कुरो हो भन्ने मलाई लाग्छ । यद्यपि, म आशावादी छु । मानिस निराशावादी हुनुहुँदैन । आशावादी भए त्यसले आफ्नो कर्ममा निरन्तर लाग्न सहयोग गर्छ ।







Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं