Date:2017/11/25 |Saturday

हराएकी होइन अब सक्रियता बढ्नेछ

Posted on: September 07, 2017 | views: 134 |

राधिका हमाल/गायिका

काठमाडौं । नेपाली गीतसंगीतको विशेषतः लोकक्षेत्रमा एक समय निकै नै नाम चलेकी गायिका हुन् राधिका हमाल । जन्मथलो रोल्पाबाट कर्मथलो काठमाडौं बनाएसँगै गीतसंगीतमा होमिएकी राधिकाले गाएका अधिकांश गीतलाई दर्शक तथा श्रोताले मन पराएका छन् । उनै राधिकाका पछिल्लो समय गीतहरू कमै सुनिने गर्छन् । उनका शुभचिन्तकहरूले निकै राधिका गीतसंगीतको क्षेत्रमा हराउन थालिन् भन्दै गर्दा उनीभने गृहजिल्लामा राजनीतिमा व्यस्त थिइन् । भर्खर मात्र स्थानिय निकायको चुनावमा उठेकी राधिकाको चुनावमा जित्ने हल्ला निकै चले पनि उनले जित्न सकिनन् । उनी रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेसको उपप्रमुखबाट उठेकी थिइन् ।

चुनावी माहोलका कारण पनि गीतसंगीतमा समय दिन नसकेको बताएकी राधिकाले आफ्नो गीतसंगीत र राजनीतिक यात्राको बारेमा हिमालय टाइम्सका पाँच प्रश्नको उत्तर दिएकी छिन् । 

राजनीतिमा लागेपछि गीतसंगीतमा हराउनु भएको हो ?

त्यस्तो हराएको भन्न मिल्दैन । तर राजनीतिमा लागेपछि समय कम भएर गीत गाउन नसकेको मात्र हो । चुवानी माहोलमा निकै व्यस्त पनि भइयो त्यो कारणले पनि गीत निकाल्न समय नै नभएर हो । गीत संगीत नै छोड्ने भन्ने कुरै हुँदैन । म जुन क्षेत्रमा जे गरेपनि गीतसंगीत सँगसँगै गर्छु । त्यो व्यस्तताको बाबजुद पनि मैले दशवटा गीत रेकर्ड गरेकी छु । 

राजनीतिमा लागेपछि राजनीतिसँग सम्बन्धित गीत पनि ल्याउनु भएछ नि ।

मानिस जुन परिस्थितिमा छ त्यो अनुसार आफ्ना काम पनि त्यस्तै हुँदो रहेछ । राजनीतिमा लाग्नुअघि मैले राजनीतिसँग जोडिएका गीत गाएकी थिइन् तर जब राजनीतिमा लागेँ त्यसपछि यस्ता प्रकारका गीत पनि गाउन मन लाग्दो रहेछ । त्यसैले मैले गएको तीजमा पनि बुहारी राजनीतिमा लागेपछि व्यस्तताको कुरा गीतमा उतारेकी थिएँ । एक किसिमले आफ्नो जीवनमा भोगेको कुरालाई गीतमै उतारेकी हुँ ।


सामाजिक कार्यमा चाहिँ कत्तिको लाग्नु भो ? 

म अहिले मात्र सामाजिक कार्यमा लागेकी भने होइन । कति राजनीतिमा लागेपछि मात्र देखाउनका लागि सामाजिक कार्यमा सक्रिय हुने गर्छन् तर मैले धेरै पचारप्रसार गरेर सामाजिक काम गर्ने गर्दिन त्यसैले पनि धेरैलाई थाहा नहुन सक्छ । अहिले पनि भर्खर मात्र नेपालका तराई भेगमा बाढीपहिरोले धेरै क्षति ग¥यो । यो क्षति पछि रौतहटको गौरमा गएर राहत वितरण गरेकी थिएँ । म निरन्तर सामाजिक कार्यमा पनि सक्रिय हुनेछु ।

राजनीतिक यात्रामा आगामी योजना के छ ? 

मैले राजनीति छोडेको भने छैन । चुनावमा जित्न नसक्नु भनेको राजनीति नै छोडेको भनेर कसैले पनि नबुझिदिनु होला । जित हार त भइहाल्छ अबको योजना भनेको गाउँको विकासमा विशेष ध्यान दिनेछु  । पहिलो योजना भनेको सडक निर्माण हुनेछ । किनकि अझै पनि सम्म रोल्पाको धेरै ठाउँमा राम्रो बाटो बन्न सकेको छैन । राजनीतिसँग गीतसंगीतको यात्रा पनि रफ्तारमै जानेछ । अहिले चुनावी माहोलका कारण मात्र केही सुस्त भएको हो अब गीत पनि रेकर्ड गर्ने तयारीमा छु । अब केही दिनमै एकनारायण भण्डारीको गीत गाउँदैछु । त्यो पनि छिट्टै नै दर्शक तथा श्रोतामाझ आउनेछ ।


तपाईंको रोजाइमा नामको अगाडि गायिका कि नेतृ राम्रो ? 

म दर्शक तथा श्रोताको अगाडि गायिका राधिका हमाल भनेरै चिनिएकी हुँ । राजनीतिमा त पछि लागेकी हुँ त्यसैले मलाई गायिका नै भनेर जोडेको मन पर्छ । गायिका अगाडि आउँछ अनि मात्र नेतृ हो त्यसैले यदि यी दुईमा रोज्नु नै पर्छ भने गायिका नै रोज्छु ।

प्रस्तुतिः गोपिकृष्ण चापागाईं ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं