Date:2017/09/23 |Saturday

लोकदोहोरी बिगारो भन्ने आरोप लाग्यो

Posted on: September 10, 2017 | views: 49 |

रामजी खाँड/गायक

काठमाडौं । नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा लगभग दुई दशकदेखि निरन्तर लागिरहेका गायक रामजी खाँड पछिल्लो समय निकै व्यस्त गायकको रूपमा चिनिन्छन् । विसं २०५६ सालबाट सांगीतिक यात्रा सुरु गरेका रामजीले ‘वालिङ बजार’ बोलको गीतबाट आफ्नो गायन यात्रा अगाडि बढाएका थिए । 

पहिलो गीतमा शर्मिला गुरुङ र शिला आलेसँग स्वर दिएका रामजीले दर्जनौं गायिकासँग गीत गाइसकेका छन् । उनले अहिलेसम्म ७ हजार गीत गाइसकेका छन् भने सयभन्दा बढी गीतमा एरेन्ज र दर्जनौं गीतमा लय तथा शब्द भरेका छन् । 

विद्यालयमा अध्ययन गर्दादेखि नै गायन क्षेत्रमा रुचि राख्ने रामजीले जन्म जिल्ला स्याङ्यामा हुने धेरै कार्यक्रममा भाग लिएर विजेता बन्ने गर्दथे । साथै उनले जिल्लास्तरीय कार्यक्रमबाट धेरैपटक पुरस्कृत भएको सम्झना गराए । यसैबीच उनै रामजीसँग हिमालय टाइम्सले उनका गीतसंगीतको संघर्षको बेला र सफलताको बारेमा प्रश्नोत्तर गरेको छ ।

दर्शकमाझ रामजी भनेर चिनाउने गीतको नाम लिनुपर्दा कुन लिनु हुन्छ ?

मैले गीत गाउन सुरु गरेको करिब १० वर्ष भइसकेको थियो तर मेरो कुनै पनि गीत त्यस्तो सबै दर्शकले सुन्नेमा परेनन् अर्थात् चर्चित हुन सकेनन् । आजभन्दा करिब आठ वर्षअघिको कुरा हो । मलाई चिनाउने गीतको नाम लिनुपर्दा ‘देउरालीको भट्टी पसल’ जसमा देवी घर्तीसँग मैले गाएको थिए र शिव हमालको शब्द थियो । यो गीतलाई म कहिल्यै भुल्न सक्दिन त्यस्तै ‘पछ्यौरी लेऊ बैना’ ले पनि मलाई ठूलो सफलता दियो । यी दुई गीत जब बजारमा आए दर्शकले यति धेरै मन पराइदिनुभयो सायद यी गीत नसुन्ने कुनै दर्शक हुनुहुन्न होला । 

एकदशक अघिको कुरा गर्नुभयो । त्यो बेला सिडी, डीभीडी बिक्थे होला नि ? 

हजुर अहिलेजस्तो इन्टरनेटको पहुँच निकै कम थियो र सबैको हात हातमा यसरी मोवाइल र इन्टरनेट थिएन त्यसले गर्दा पनि गीतको सिडी, डीभीडी धेरै बिक्री हुन्थ्यो । त्यो बेलामा मलाई ती गीतले निकै ठूलो सहयोग पु¥यायो । ती गीत चर्चित हुनुपूर्व मैले गीतसंगीतको क्षेत्रमा धेरै लगानी गरिसकेको थिएँ । नाफा भन्ने केही थिएन । तर ती गीतले निकै खुशी बनायो र ठूलो हौसला दियो ।


सफलतापछि दुःखमा जो तपाईंलाई साथ दिएका थिएनन् उनीहरूको प्रतिक्रिया कस्तो पाउनुहुन्थ्यो ? 

मैले ती दुई गीतभन्दा अघि गीत नगाएको होइन । दर्जनौं गीत गाइसकेको थिएँ तर कुनै पनि गीत चर्चित नहुँदा सबैतिरबाट पछिपरेजस्तो हुँदो रहेछ । मलाई सुरुवातका दिनमा गीत रेकर्ड गर्नसमेत अप्ठ्यारो परेको थियो । रेकडिर्ङ स्टुडियोले रेकर्ड गर्नै मान्थेनन् । चर्चित गायकको मात्र सिडी बिक्छ भनेर हामीलाई कुनै स्थान हुन्थेन । हारगुहार गर्दा निकै मुस्किल पथ्र्यौ । कतिपटक त मैले आफूले गाउने भनेको गीत पनि त्यो बेलाका चर्चित अग्रह दाजु राजु परियारलाई गाउन दिएका थिए । यदि राजुले गाउँदैनन् भने गीत रेकर्ड हुँदैनसमेत भनिन्थ्यो । त्यसैले आफ्नो गीत अरूलाई दिन बाध्य हुनुपथ्र्यो ।

अहिले ती व्यक्ति जो मलाई दुःख पर्दा दुःखमै छोडेका थिए उनीहरूबाट राम्रो गर्नुभएको छ भन्ने प्रतिक्रिया आउँछ । उहाँहरू नै अहिले हाम्रोमा रेकर्ड गर्नुस् भन्दै आउनु हुन्छ । मिहिनेतको फल मीठो हुन्छ भन्ने बुझेरै मैले निरन्तर मिहिनेत गरेको थिएँ त्यसैले अहिले फल मिलेको होजस्तो लाग्छ ।


एकसमय गायनक्षेत्रबाट हैरान भएर विदेश जान पनि लाग्नुभएको थियो रे नि ? 

हो... । करिब सात÷आठ वर्षसम्म निरन्तर गीतसंगीतको क्षेत्रमा काम गरिरहँदा कुनै सफलता पाउन नसकेपछि हारखानुपरेको थियो । विशेषतः मलाई घरबाट प्रेसर आयो । मसँगै पढेका कोही साथीहरू लाउरे भएर, कोही साथीभाइले विदेश गएर पैसा कमाएर घर बनाइसकेका थिए तर मेरो भने केही प्रगति थिएन त्यसकारण घरबाट बढी प्रेसर आउथ्यो र अन्तमा विदेश जाने निर्णय गरेको थिएँ । मैले दुबईका लागि भिसाको काम अगाडि बढाएको थिएँ । त्यही बेलामा ‘देउरालीको भट्टी पसल’ र ‘पछ्यौरी लेऊ बैना’ गीत यति धेरै चर्चित भयो कि मलाई सबैतिरबाट वाह वाहमात्र आउथ्यो । त्यसपछि आइसकेको दुबईको भिसा पनि रोकेर गीतसंगीतमै रमाउन थालेको हुँ । त्यसपछि निरन्तर गीतको काम आउन थाल्यो । 

सांगीतिक यात्राकै लागि विदेश भ्रमण कति देशमा गर्नुभयो र पहिलो भ्रमण कुन थियो ? 

सांगीतिक कार्यक्रमकै लागि भनेर हालसम्म करिब ३० देशको भ्रमण गरिसकेको छु । जहाँसम्म लाग्छ नेपालीहरू हुनुभयो सबै देशमा गइसकेको छु । त्यस्तै पहिलो विदेश भ्रमणको कुरा गर्दा हङकङबाट विदेश यात्रा सुरु भएको हो ।


मासिक आम्दानी कतिसम्म गर्नुभएको छ ?

हामी कलाकारहरूको आम्दानी यति नै हुन्छ भन्ने त हुँदैन, सिजनअनुसार आम्दानी पनि फरकफरक हुन्छ । मैले आफू बजारमा केही चर्चित हुनथालेपछि एक गीत रेकर्ड गरेको ५ हजार लिने गर्थेँ र कहिले काहिँ दिनमै ९ वटा गीतसम्म पनि रेकर्ड भएको छ । त्यस्तै सिजनमा सबैभन्दा धेरै आम्दानी भएको विदेश भ्रमणबाट धेरै हुनेहो । एकपटक युकेको एक महिने सांगीतिक यात्रामा १२ लाखसम्म आम्दानी भएको थियो । तर नेपालमै पनि सिजनको बेला १४ देखि १५ लाखसम्म आम्दानी हुन्छ ।

गायनबाटै नाम कमाउँदै गर्दा मोडलिङमा लाग्नु भएको छ, पैसाकै लागि कि सौख ? 

मैले गाएका थुप्रै गीतमा अन्य मोडलको अभिनय छ तर पछिल्लो समय गाएका केही गीतमा आफैंले मोडलिङ गरेको छ । मैले पैसाका लागि यसरी मोडलिङ भने गरेको होइन र सौख भनेर त्यस्तो भिडियो गर्नै पाए हुन्थ्यो भन्ने लाग्दैन तर एक दुईवटा भिडियोमा देखिँदा दर्शकले मन पराइदिनुभयो र धेरै साथीले राम्रो हुन्छ आफैं भिडियो गर्नुस् भनेपछि थालेको हुँ । अहिले त अन्य साथीहरूले गाएको गीतमा पनि मलाई भिडियोका लागि अफर गर्नुहुन्छ । करिब ५० वटा अन्य गायकले गाउनु भएको गीतमा मोडलिङ गरेको छु । दर्शकले मन पराउनु भएका कारणमात्र मैले भिडियो गरेको हुँ कुनै अन्य कारण छैन । 


गाएका गीत तपाईंको ‘नेचुरल भ्वाइस’ भन्दा अर्कै बनाएर फाइनल गरिन्छ भन्ने सुनिन्छ, कुरा सही हो ? 

लोकदोहोरीको क्षेत्रमा पछिल्लो समय धेरै परिवर्तन आइरहेको छ । हुन त लोकदोहोरीको आफ्नौं मौलिकपन छ । प्रविधिसँगै केही परिवर्तन हुँदै गएको छ । मैले गाउने समयमा प्रविधिको परिवर्तनसँगै स्वरलाई थोरै परिवर्तन गर्दा मीठास आउने प्रविधि आयो । यस्तो प्रविधि सबैको स्वरमा ‘म्याच’ हुँदैन, मेरो मा भयो त्यसैले त्यसलाई सुरुवातका केही गीतमा ‘फ्लो’ गरेको हुँ । सबै गीतमा त्यस्तो भने छैन ।

तपाईंले गाउने लोकगीत मौलिकभन्दा बाहिरका हुन्छन् अनि लोकदोहोरी बिगा¥यो भन्ने आरोप छ ? 

मैले नै लोकदोहोरीको क्षेत्रमा केही परिवर्तन ल्याएको हुँ । परिवर्तन भनेर नेपाली मौलिकतालाई बिर्सेको छैन तर एक्कासि केही परिवर्तन ल्याउदा सबैलाई अनौठो लाग्छ । त्यसैले पनि मलाई लोकदोहोरी बिगा¥यो भन्ने आरोप लागेको थियो । कुनै बेला तालीभन्दा गाली बढी आएको थियो तर मैले गाउने गीतमा लोकपन भने छुटेको हुँदैन । 

अन्त्यमा लोकदोहोरीमा सेन्सर हुनुपर्छ भन्ने आवाज उठिरहेको छ तपाई के भन्नुहुन्छ ? 

यो कुरा एकदम आवश्यक छ । चलचित्र क्षेत्रमा सेन्सर बोर्ड भएजस्तै लोकदोहोरीको क्षेत्रमा सेन्सर बोर्ड हुनु आवश्यक छ । परिवारसँग बसेर हेर्नै नमिल्ने गीतहरू बजारमा आएका छन्, तर हामी केही गर्न सक्दैनौं । लोकदोहोरी प्रतिष्ठान त छ तर यस्तो नगर भन्न सक्छौं सिधै कारबाही गर्ने अधिकारी हुँदैन त्यसैले सरकारी मातहतबाट सेन्सर बोर्डको स्थापना भए लोकदोहोरी क्षेत्र बिग्रन पाउने थिएन । सेन्सर बोर्डको जिम्मा सरकारले प्रतिष्ठानलाई जिम्मा मात्र दिए पुग्छ ।

प्रस्तुतीः गोपिकृष्ण चापागाईं ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं