22nd April | 2018 | Sunday | 11:38:07 AM

सहकारीले करदाता उत्पादन गरिरहेका छन्

  POSTED ON : Sunday, 03 December, 2017 (11:54:37 AM)

सहकारीले करदाता उत्पादन गरिरहेका छन्

अर्जुन खनाल  (अध्यक्ष त्रिपल एम बचत तथा ऋण सहकारी संस्था)

सहकारी क्षेत्रका कमीकमजोरीलाई सुधारलाई सुधार्दै सरकारीमार्फत लगानी विस्तार गर्ने उद्देश्यका साथ सरकारले नयाँ सहकारी ऐन जारी गरेको छ । लामो प्रतिक्षापछि प्राप्त ऐनले एकातिर सहकारीकर्मीलाई उत्साहित बनाएको छ भने अर्कोतिर संसकित पनि बनाएको देखिएको छ । सहकारीकर्मीले नयाँ तुलनात्मकरुपमा राम्रो भएपनि ऐनमा अझै पनि नियन्त्रणमुखी प्रावधान रहेको भन्दै आपत्ति जनाएका छन् । नियन्त्रमुखी प्रावधान संसोधन हुनुपर्ने उनीहरुको माग छ । त्यसो त नयाँ ऐन जारी भएपनि नीतिगत समस्याका कारण कार्यान्वयनमा भने आइसकेको छैन । अर्को कुरा, सरकारले अधिकांस अधिकार स्थानीय तहमा हस्तान्तरण गरेको सन्दर्भमा सहकारी कुन निकायको नियन्त्रण रहने भन्ने अन्यौल पनि सिर्जना भएको सहकारीकर्मीले गुनासो गरेका छन् । त्यसो त कमीकमजोरीका बाबजुद पनि नयाँ सहकारी ऐनले सहकारीलाई लगानीका लागि मार्गप्रसस्त गरेकोमा भने सहकारीकर्मीले खुशी व्यक्त गरेका छन् । त्रिपल एम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नयाँ सहकारी ऐनमा कमी कमजोरी रहे पनि ऐन सकारात्मक रहेको बताउँछन् । तर ऐनमा रहेका कमी कमजोरीलाई पनि सुधार गर्नुपर्नेमा उनको जोड रहेको छ । 

त्रिपल एम बचत तथा ऋण सहकारी संस्थाले कहिले स्थापना भएको हो ?

यो सहकारी संस्था २०६६ सालमा स्थापना भएको हो । काठमाडौं महानगरपालिका वडा नम्बर ६,७,३३, ३१ र २४ लाइ कार्यक्षेत्र बनाएर स्थापना भएको यो सरकारीलाई हामीले  ३ लाख सेयर पूँजीबाट सुरु गरेका थियौं, अहिले झण्डै ११ करोडको कारोबर गर्ने अवस्थामा पुगेका छौं । सदस्यहरुमा बचतका लागि उत्पे्रेरित गर्न हामीले सहकारीमार्फत वित्तीय साक्षरता कार्यक्रम पनि सञ्चालन गर्दै आएका छौं । हालसम्म सेयर सदस्य संख्या करिब ६६७ सय पुगिसकेको छ ।

कुन क्षेत्रमा लगानी गर्नु भएको छ ?

खासगरी हाम्रो लगानी तल्लोवर्गका निमुख, विपन्न वेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन केन्द्रित रहेको छ । सीप, श्रम र जाँगर भएका युवाहरुले व्यवसाय सञ्चालन गर्ने पूँजी पाइरहेका हुँदैनन् । उनीहरुलाई जागिरको सल्लाह दिँदैनौं, स्वरोजगार वन्ने सल्लाह दिन्छौं । उनीहरुलाई स्वरोजगार वन्न पूँजी उपलव्ध गराउँछौं ।

त्यस्तो स्वरोजगारकै लागि सहकारीबाट ऋण लिने युवाहरु चाहिँ कति छन् ?

झण्डै ४ सय ५० जना वेरोजगार युवालाई हामीले ऋण उपलव्ध गराएर स्वरोजगार बनाइसकेका छौं । वास्तवमा हामीले उत्पादनशील क्षेत्रमै लगानी गरिरहेको अवस्था छ ।

व्यवसायका लागि सबैभन्दा बढी कति ऋण लगानी गर्नुभएको छ ?

सहकारीमा क्षमताअनुसारको सिलिङ हुन्छ, सोही सिलिङभित्र रहेर हामीले बढीमा १५ लाख रुपैयाँसम्म लगानी गरेका छौं । कतिपयले घर निर्माण कर्जा लिने गरेका छन् । घर निर्माणका लागि सानो पूँजीको अर्थ नरहने भएकोले बढी लगानी गर्नुपर्ने वाध्यता रहेको छ ।

सहकारीले अनुत्पादक क्षेत्रमा बढी लगानी गरेको गुनासो छ नि ?

हाम्रो चाहना उत्पादनमूलक क्षेत्रमै लगानी गर्ने हो किनभने अनुत्पादक क्षेत्रमा गरेको लगानी सुरक्षित हुँदैन तर नेपालको शिक्षा नीतिले सीपमूलक जनशक्ति नै उत्पादन गर्न सकेको छैन । यहाँ शिक्षित जनशक्ति छ तर हातमा सीप छैन, त्यस्तो जनशक्तिलाई हामीले व्यवसायिक तालिमका लागि सल्लाह दिने गरेका छौं । तालिमपछि उनीहरुलाई व्यवसायका लागि ऋण दिने गरेका छौं ।

सहकारीको व्यवस्थापन र प्रवद्र्धनका लागि सरकारले के गर्नुपर्छ ?

हालै मात्र  नयाँ सहकारी ऐन आएको छ, नयाँ ऐनमा रहेका केही कमी कमजोरीका बाबजुद पनि सहकारी क्षेत्र उत्साहित बनेको छ । ऐन कतिपय विषयमा अझै पनि नियन्त्रणमुखी देखिएको छ । जसलाई सरकारले महशुस गरिसकेको छ । यस्ता नियन्त्रणमुखी व्यवस्था संसोधन हुनुपर्छ । अर्को कुरा सहकारीलाई कर लगाउने विषय पनि न्यायोचित छैन । सरकारले करदाता उत्पादन गरिरहेका छन् । सरकारले सहकारीमार्फत करदाता उत्पादन गर्ने कुरालाई प्रोत्साहित गर्नुपर्छ ।