18th June | 2018 | Monday | 5:29:14 PM

शरीर अशक्त भयो, म लेखक भए

  POSTED ON : Saturday, 03 February, 2018 (3:12:22 PM)

शरीर अशक्त भयो, म लेखक भए


 व्यंग्यकार महेश थापा हालसम्म उपचार नै पत्ता नलागेको ‘मोटर न्युरोन’ रोगबाट पीडित छन् । न उनी प्रष्ट बोल्न सक्छन् न त हिँड्डुल गर्न । उठ्नबस्न समेत उनलाई अर्कैको सहारा चाहिँन्छ । 

उनका दाहिने हातका औँला अलिअलि चल्छन् । माझी र साइली औँलाले माउस चलाउँछन् र कम्प्युटरको अनस्क्रिन किबोर्डमा अक्षर थिच्छन् । उनले कम्युटरमा लेख्ने तरिका यही हो । लेखन मध्ये उनी व्यंंग्य लेख्न रुचाउँछन् । चौध वर्षअघि रोगको निदान हुँदा डाक्टरले महेशलाई बढीमा पाँच वर्षमात्रै बाँच्न सक्छौ भनेका थिए । जटिल रोगसँग जुधिरहेका महेशले रोगलाई आफ्नो आत्मविश्वास र हौसलामाथि हाबी हुन दिएका छैनन् । 

महेशको पहिलो कृति आत्मकथा ‘अल्पविराम’ चार वर्षअघि प्रकाशित भयो । उनले भर्खरै हास्यव्यंग्य संग्रह ‘नमोनमः’ पाठकमाझ ल्याएका छन् । सर्लाहीको हरिवन–९ मा जन्मिएका ४० वर्षीय महेश हाल परिवारसहित सानोठिमी भक्तपुरमा बस्न थालेका छन् । रोगले गाँजेपछि उनले चेस खेल्न थाले । थापाले राष्ट्रिय चेस प्रतियोगितामा थुपै्र मेडलहरू पनि हात पारेका छन् । बिस्तारै रोगकै कारण हात चलाउन नसक्ने भएपछि चेस खेल्न छाड्नुप¥यो । 

चेस खेल्नसमेत नसक्ने भएपछि उनी लेखनतर्फ केन्द्रित हुन खोजे । सोचेर मात्रै के हुन्थ्यो र ¤ चेसको गोटी सार्न नसक्ने हातले कलम पनि समाउँदैनथ्यो । निजामती सेवामा कार्यरत गाउँकै एकजना भाइ नवराज चौलागाईंले विन्डोज अपरेटिङ सिस्टमकै अनस्क्रिन किबोर्डबाट लेख्न सकिन्छ भनेर उनलाई जानकारी गराए । यसबाट उनी उत्साहित भए अनी बिस्तारै कम्युटरमा लेख्न थाले ।

थापा डेढ दशकअघि सर्लाहीबाट प्रकाशित हुने ‘अभियान’ र ‘सूचना सौगात’ साप्ताहिकका सम्पादक भएर काम गरेका थिए । २०५९ सालमा तत्कालीन विद्रोही माओवादीको एउटा कार्यक्रमको खबर संकलन गरेर फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परेर उनको दाहिने हात भाँचियो । प्लास्टर काटेपछि पनि हात राम्रोसँग चलेन । पछि देब्रे हात हुँदै खुट्टा र जिब्रोमा समेत समस्या देखिन थाल्यो । यो घटनाअघि नै उनको दाहिने हातमा केही समस्या देखिएको थियो । ‘दुर्घटना हुनु पहिलेदेखि नै दाहिने हातको चोरी औँला बांगिँदै गएको थियो,’ उनले भने, ‘सायद यो रोग पहिले नै लागेको हुनुपर्छ ।’ हात भाँच्चिएर प्लास्टर गरेपछि हात चलाउन कम भयो । बिस्तारै हातै नचल्ने भयो । 

महेश विभिन्न दैनिक पत्रिकाहरूमा समसामयिक विषयमा लेख्थे । ‘लठैत’ शीर्षकको एउटा व्यंग्यलेख पढेपछि हिमाल खबरपत्रिकाका सम्पादक किरण नेपालले व्यंग्यमा केन्द्रित हुन उत्प्रेरित गरे । शारीरिकरूपमा अशक्त भएर पनि लेखन क्षेत्रमा ऊर्जाशील महेश लेख्दालेख्दै व्यंग्यकार बने । 

तिनै महेश थापाले हिमालय टाइम्सका मुरारी ढुंगेलसँग लामो कुराकानी गरेका छन् । 


किन हास्यव्यंग्यलाई लेखनको माध्यम बनाउनुभयो ?

– व्यंग्यइतरको विधाबाटै म लेखनमा प्रवेश गरेको हुँ । जेका निम्ति साहित्य लेखिन्छ, व्यंग्य लेख्नुको कारण त्योभन्दा फरक हो जस्तो मलाई लाग्दैन तर कहिलेकाहिँ विषय स्वयंले निश्चित विधाको माग गर्दोरहेछ । लामो अस्थिरता र राजनीतिक संक्रमणबाट गुज्रेको नेपाली समाज विकृति, विसंगति, बेथिति र विद्रुपताले भरिएको हुँदा हामीकहाँ व्यंग्यका विषयको प्रचुरता छ । एउटा सामान्य राजनीतिक टिप्पणी लेख्न बस्दा अनायासै त्यो व्यंग्यात्मक बन्न पुगेको थियो । यसरी परिवेश र विषयको दबाबले मलाई व्यंग्य लेखक बनायो ।

व्यंग्यलेखनमा तपाईं कति सन्तुष्ट हुनुहुन्छ ?

– सन्तुष्टि मिलेकोले नै धमिलो भए पनि मैले व्यंग्यकारको रूपमा एउटा परिचय बनाउन सकेको हुँ । असन्तुष्ट भए म व्यंग्यलेखन वा लेखनबाटै पनि बाहिर हुन्थेँ होला ।

तपाईंका पाठकहरूको प्रतिक्रिया कस्तो छ ?

– पाठकसँग प्रत्यक्ष अन्तक्र्रिया त असाध्यै कम हुन्छ तर विभिन्न माध्यमबाट कुराकानी हुँदा राम्रै प्रतिक्रिया पाएको छुु ।

लेखनबाट समाजमा परिवर्तन सम्भव छ कि छैन ?

– आजकोे संसारमा लेखनबाटै परिवर्तन सम्भव छ । जीवन सहज बनाउन समाज र काललाई सकारात्मक दिशामा परिवर्तन गर्ने ध्येय बोकेरै लेखिन्छ, नत्र लेखनकर्मको औचित्य नै रहन्न । तर, सिटामोल खाएपछि ज्वरो उत्रेझैँ लेखनले परिवर्तन ल्याउन सक्दैन । यो त एउटा निरन्तर चलिरहने सघन प्रक्रिया हो, हाम्रो सामूहिक प्रयत्नले सुक्ष्मरूपमा गराइरहेको परिवर्तन निश्चित कालखण्डपछि महसुस हुनेगरी सतहमा प्रकट हुन्छ । युग परिवर्तनमा लेखक र साहित्यकारहरूको भूमिका निर्णायक रहेको त इतिहाससिद्ध हुँदै हो ।

लेखनको प्रेरणा केलाई मान्नुहुन्छ ? कि समाजमा देखिएको विकृति विसंगति नै ?

– समाज र परिस्थितिभन्दा निरपेक्ष भएर लेख्न सम्भव नै हुन्न । एउटा व्यंग्यलेखकको निम्ति समाजमा विद्यमान विकृति, विसंगति र विरोधाभासपूर्ण व्यवहारहरू त झन् प्राथमिक खुराक नै हो । शारीरिक प्रतिकूलताका कारण वाक क्षमता खुम्चिनु र अन्तक्र्रियाको सम्भावना साँघुरिनु नै मेरो लेखनको प्रेरणा हो भन्ने लाग्छ । लेखनमार्फत् म आफूलाई अभिव्यक्त गर्छु । आफूलाई लागेको, बुझेको कुरा भन्छु । पाठक र समाजसँग अन्तक्र्रिया गर्छु । लेखनको माध्यमबाट म हिजोभन्दा बलियोसँग आफ्नो कुरा राख्नसक्ने र फराकिलो समाजसँग संवाद गर्नसक्ने भएको छु ।

शारीरिकरूपमा सवल हुनुभएको भए कुन विधा अंगीकार गर्नुहुन्थ्यो होला ?

– सामान्य शारीरिक अवस्थामा रहेको भए राजनीति र पत्रकारितामध्ये कुनै एउटा क्षेत्रमा हुन्थेँ होला । गाली खाने क्षेत्र नै रोज्थेँ सम्भवतः राजनीतिमै हुन्थेँ ।

गाली खाने जान्दाजान्दै राजनीतिमा किन ?

– भन्नु र गर्नु बीचको भेदले ! साहित्य र पत्रकारितामा तपाईं आफ्ना सोच एवं विचार अरूलाई सुनाउनमात्र सक्नुहुन्छ, त्यसलाई ग्रहण गर्ने÷नगर्ने वा कति हदसम्म ग्रहण गर्ने भन्ने कुरा अर्कामै निर्भर रहन्छ । यसको प्रभाव धिमा हुन्छ । राजनीतिले आफ्नो सोच एवं विचारलाई सोझै कार्यान्वयन गराउने सामथ्र्य राख्छ । यसको अर्थ साहित्यको अवमूल्यन होइन, मानवजीवनमा साहित्यले विशिष्ट स्थान राख्छ जुन अतुलनीय छ । मैले यिनको प्रकृतिको मात्र कुरा गरेको हुँ ।

लेखनबाट पाएको अहिलेसम्मकै सबैभन्दा आनन्दको क्षण ?

– एउटा लेखकको निम्ति प्रत्येक सृजना पूरा हुँदा प्राप्त हुने खुसी लगभग उस्तै हुन्छ । पाठकबाट आफ्ना रचनाको तारिफ सुन्दा एउटा लेखकले बिछट्टको आनन्द र सन्तुष्टि महसुस गर्छ । एउटा अनुभव यहाँ साट्न चाहन्छु । ‘रियली ननसेन्स, जोन !’ भन्ने मेरो एउटा व्यंग्य हिमाल खबर पत्रिकामा छापिएको थियो । नागरिक दैनिकमा कार्यरत एकजना सिनियर पत्रकारलाई त्यो निकै मन परेछ र उहाँले हिमाल खबरपत्रिकाको कार्यालयमा सोधखोज गर्नुभएछ । मेरोबारेमा थाहा पाएपछि उहाँले जीवन क्षेत्रीजीलाई मेरो अन्तर्वार्ता लिन घर पठाउनुभएको थियो । त्यो अन्तर्वार्ता ‘शुक्रबार साप्ताहिक’ मा छापियो । व्यंग्यलेखकको रूपमा त्यो अनुभूति मेरो लागि केही विशेष रहृयो ।

देश र समाजले परिवर्तनका लागि गर्नैपर्ने कुरा के हो जस्तो लाग्छ ?

– अतिव्यक्तिवादी सोच र प्रवृत्ति हावी हुनु वर्तमान विश्वको साझा समस्या हो । हरेक जीवमा झैँ ‘स्वार्थ’ मान्छेमा पनि हुने एउटा स्वाभाविक गुण हो । बजारवादले स्वार्थ अस्वाभाविक र असहनीयरूपमा बढायो र झन्झन् बढाउँदो छ । मान्छेले आजसम्म जे जति आविष्कार ग¥यो, त्यसको सदुपयोग/दुरुपयोग मान्छेले नै ग¥यो । जस्तैः आणविक शक्ति नरसंहारको निम्ति प्रयोग भयो, इन्धनको रूपमा पनि उपयोग भयो । 

बजारमात्र एउटा यस्तो आविष्कार हो, जसले मान्छेको सवारी ग¥यो । अब बजारलाई निर्बाध मान्छेको सवारी गरिरहन दिने वा मान्छेले बजारको सवारी गर्दै यसलाई थप जीवनोपयोगी बनाउने भन्ने प्रश्नको हल खोज्नुले नै परिवर्तनको दिशा तय गर्छ जस्तो लाग्छ ।

बजारलाई थुन्ने विगतका प्रयास त असफल सिद्ध भए भने के अहिलेको विश्वमा बजारको वेग रोक्न सम्भव होला ?

– हरेक युगले आफूलाई निर्विकल्प ठानेको हुन्छ । यो बजारको युग हो । त्यसैले एउटा व्यक्तिले आफ्नो आयुको सापेक्षतामा हेर्दा यसलाई अजेय देख्नु र शाश्वत ठान्नु अस्वाभाविक होइन । मान्छे बन्ने क्रममा यस्ता थुप्रै युग ढाल्दै र गाल्दै हामी आजको बिन्दुमा आइपुगेका हौँ । आजभन्दा सय वर्षअघिको समाजमा सामान्य मानिने कतिपय व्यवहारबारे पढ्दा हामीलाई घृणा र ग्लानि हुन्छ । सम्पूर्ण जीव, वनस्पति र प्रकृतिको समेत संरक्षण गर्नुपर्ने दायित्व बोकेको मान्छेले करोडौं÷अर्बौं मानिसलाई रोग, भोक र शोकमा पिल्सिन अभिशप्त पार्ने प्रपञ्चलाई यथावस्थामा लामो समयसम्म बोकिरहलान् भन्ने लाग्दैन । 

यति लामो दुरी तय गरिसकेपछि मान्छे बन्ने यात्राबाट मानव समाज पछाडि नफर्केला । त्यसैले, यसलाई बदल्नुपर्छ र बदल्न सकिन्छ । फेरि, बजारलाई थुन्नु र छाडा नछाड्नु वा लगाम लागाउनुबीच रहेको अन्तर ठीक ढंगले बुझ्नु जरुरी छ ।

अब तपाईंको पछिल्लो व्यंग्य कृति ‘नमोनमः’ बारे कुरा गरौँ । त्यसमा तपाईंले भारतको चर्को विरोध गर्नुभएको छ र ‘चिनियाँ छाता’ शीर्षक व्यंग्यमा ‘...अनि छाता ओढेर उत्तरी दिशातिर कूच ग¥यो’ भन्दै पुुस्तकको बिट मार्नुभएको छ । हामी उत्तरतिर ढल्किनुपर्छ भन्न खोज्नुभएको हो ?

– मैले भारतको नभई भारतीय नाकाबन्दी, नेपालप्रति उसको हेपाहा व्यवहार र नेपालसँग व्यवहार गर्दा नरेन्द्र मोदीले अपनाएको द्वैध नीतिको विरोध गरेको हो । ‘चिनियाँ छाता’ मा नेपाली नेताहरूको भारतपरस्त र लम्पसारवादी प्रवृत्तिको विरोध गर्दै खुट्टा टेक्न सुझाव दिएको छु । र, हामी अनावश्यक मात्रामा दक्षिणतिर भासिएकाले आफ्नो ठाउँमा आउन पनि उत्तरतिर सर्नु हाम्रो बाध्यता हो ।

नाकाबन्दीको बेला हाम्रो हैसियत देखियो, आर्थिकरूपमा समृद्ध नभई अरूको विरोध गरेर केही हुन्न, यो खोक्रो राष्ट्रवाद हो भन्दै आलोचना गर्नेहरू पनि छन् । यसमा के भन्नुहुन्छ ?

– पछिल्लो समय यो मान्यता स्थापित गर्न खुब जोडबल गरिँदैछ, यसको पैरवी कस्ता व्यक्तिहरूले गरिरहेका छन्, त्यो जगजाहेर छ । गरिब देश सार्वभौम हुन्नन्, गरिब र कमजोरको स्वाभिमान हुन्न, तिनले आत्मसम्मानको कुरै गर्नु हुन्न, दबिएर≤ लत्रेर≤ झुकेर≤ पसारो परेर भए पनि शक्तिशाली र सम्पन्नहरूसँग सामञ्जस्य स्थापित गरेर बाँच्नु तिनको नियति हो भन्नु नै ‘प्रगतिशील राष्ट्रवाद’ हो भने त्यस्तो प्रगतिशीलतालाई रछ्यानमा मिल्काइदिए हुन्छ । 

तपाईंले लेखेका व्यंग्यले राजनीतिक दललाई प्रभाव पारेको होला कि नहोला ?

– प्रभाव नै नहुने भए लेख्नुको औचित्य नै रहेन । केही न केही प्रभाव अवश्य पार्ला । मैले माथि पनि भनेँ, लेखनले पार्ने प्रभाव सुक्ष्म र सुस्तरी हुन्छ । मुद्दा र विषयअनुसार पनि असरको मात्रा फरक पर्ला । मेरा व्यंग्यले राजनीतिक दलहरूको प्रवृत्तिमा कुनै बदलाव ल्यायो कि ल्याएन होला भनेर सोध्नुभएको हो भने हाम्रोजस्तो ढीट राजनीति भएको देशमा त्यसरी सोच्ने दुस्साहस शायदै कुनै लेखकले गर्ला ।

तपाईंलाई कहिँ कतै र कोहीबाट गरिदिए हुन्थ्यो भन्ने खड्किएको कुनै कुरा होला ?

– त्यस्तो विशेष केही छैन । हामीजस्ता मानिसले आफ्नो क्षमताको अधिकतम उपयोग गर्नसक्ने वातावरण मिलाउन राज्यले कुनै संस्थागत व्यवस्था गरे हुने हो ।