18th June | 2018 | Monday | 5:29:41 PM

‘निष्क्रिय भएको छैन’– शोभित बस्नेत

हिमालय टाइम्स   POSTED ON : Tuesday, 06 February, 2018 (3:35:59 PM)

 ‘निष्क्रिय भएको छैन’– शोभित बस्नेत

काठमाडौं  । कलाकार तथा निर्देशक शोभित बस्नेत नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय निकै सुस्ताउँदै गएको नाम हो । कुनै समय एक पछिअर्को चलचित्र नेपाली सिने बजारमा भिœयाउने निर्देशक शोभित पछिल्लो समय भने त्यति सक्रिय छैनन् । आइतबार शोभितले आफ्नो जन्मदिन मनाए । राजधानीको क्युज सिनेमा हलमा छोरा तथा अभिनेता सलोन बस्नेत र छोरी सलिना बस्नेतसहित विभिन्न मिडियाकर्मी र चलचित्रकर्मीका साथ आफ्नो जन्मदिनको केक काटे । यसैबीच शोभितसँग हिमालय टाइम्सले जन्मदिन विशेष केही सम्वाद गरेको छ ।

आफ्नो उमेर धेरैले ढाट्न खोज्छन्, खासमा तपाईंको आज कतिऔं जन्म दिन हो ?  

खासमा अरूलाई भन्ने त ५४ हो तर नढाटीभन्दा चाहिँ, आज म ४४ औं वसन्तको केक काटिरहेको छु । साथमा छोरा सलोन, छोरी सलिना र चलचित्रकर्मीको शुभेच्छा पनि पाइरहेको छु । मान्छे बूढो भएपनि मन निकै खुशी भइरहेको छ । 

यसरी विभिन्न सेलिब्रेटीकासाथ ४४ औं जन्मदिन मनाइरहँदा आफ्नो फिल्मी करियरलाई कसरी सम्झनुहुन्छ ?

म बाल्यकालबाट नै अभिनयमा रुचि राख्ने मान्छे, सानैबाट अभिनयमा लागे, यो उमेरसम्म आइपुग्दा मैले २९ वटा फिल्म निर्देशन गरे, ५०–६० ड्रामाहरूमा अभिनय गरे । विभिन्न सिरियलमा पनि काम गरे । सारांसमा भन्नुपर्दा सानैबाट म स्टेपवाइज जीवनलाई अघाडि बढाइरहेको छु । 

यो उमेरसम्म आइपुग्दा तपार्इंलाई शोभित बस्नेत भनेर कुन कार्यक्रम चिनायो ?

मलाई विशेषगरी आर्मी फिल्मले आम पब्लिकमा परिचित गराएको थियो । त्यसभन्दा अगाडि मैले धेरै काम गरे, तर आर्मी फिल्म चाहीँ शोभित बस्नेतलाई चिनाउने मुख्य प्रोजेक्ट भन्न रुचाउछु । 

अभिनय यात्रामा सम्मान र सन्तुष्टि मिलेजस्तो छ कि छैन ?

सम्मान धेरै छ र पाएको पनि छु, मैले हास्यकलाकारका रूपमा सर्वप्रथम कन्यादानबाट अवार्ड हात पारेको थिए । त्यसपछि पनि थुप्रै अवार्ड पाएँ अहिले ठ्यक्कै स्मरणमा भने छैन । कुरा सन्तुष्टिको यो उमेरसम्म आइपुग्दा म फिल्म क्षेत्रमै आबद्ध छु । यसैबाट प्रष्ट हुन्छ म सन्तुष्ट छु । 

तपार्इंले निर्देशन गर्नुभएका सफल फिल्महरू कुन–कुन हुन् याद छ ?

सबै त सक्दिन, फेरि सबै त सफल पनि भएका छैनन् । विशेष गरी आर्मी, कणवीर, दुर्गा, धुम, बारुध, चिनोलगायत धेरै फिल्म मेरा सफल फिल्महरूको सूचीमा पर्छन् । 

पछिल्लो समय त तपाईं निकै निष्क्रिय हुनुहुन्छ नि ?

निष्क्रियभन्दा पनि अलि पातलो उपस्थिति चाहिँ भन्न मिल्छ । मेरो अब चाँडै नै ‘बाबु कान्छा’ फिल्म आउँदै छ । त्यसैगरी मेरो डिसहोमको रमाइलो टिभीमा शेरेले असाउँछ भन्ने सिरियलमा काम गरिरहेको छु । र अर्को फिल्म पनि सुटिङमा जाने तयारीमा छ । 

तपाईं एक सक्रिय फिल्मकर्मी हुनुहुन्छ, नेपाली फिल्म बजारलाई कसरी हेर्नुभएको छ ?

अहिले नेपाली फिल्म बजारको क्षेत्र विस्तार भएको छ । पहिलाभन्दा निकै सुदृढ बनेको मैले महसुस गरेको छु । प्रविधि, मेकिङ, लगानी र फिल्मप्रतिको झुकाव निकै सकारात्मक भएका कारण दर्शकको फिल्मप्रति सकारात्मक धारणा विकास भएको पाएको छु । 

शोभितको नजरमा अभिनय  र कलाकारिता के हो ?

मेरो नजरमा कलाकारिता अथवा अभिनय भनेको कथा वस्तुलाई यथार्थमा पस्कने हो । हरेक चिजलाई वास्तविकतामा पस्कन सक्ने खुवी हो जस्तो लाग्छ । 

कला र अभिनयमा जाँदा परिवारलाई कसरी समय दिनु हुन्छ ?

यो कुरा नितान्त व्यक्तिगत विचार र इच्छको कुरा हो । यसको व्यवस्थापन गर्ने समय दिने कुरा कतिले सक्छन् कतिले सक्दैनन् । नसक्नेको परिवार भताभुंग हुनसक्छ । यस मामालामा म सक्षम छु र मैले मेरो परिवारलाई उचित व्यवस्थापन गरेको छु । 

आज तपाईं छोराछोरीसँगै जन्म दिनको केक कटिरहनु भएको छ, व्यक्तिगत रूपमा छोरा सलोनलाई के शन्देस दिन चहानुहुन्छ ?

सलोन एक त मेरो छोरा हो र नेपाली दर्शकहरूको एक कलाकार । त्यसैले सलोनलाई जसरी बाल कलाकारदेखि अहिलेसम्म माया गरिरहनुभएको छ त्यसैगरी माया गरिदिनु होला । आजैमात्र सलोनको मुख्य भूमिका रहने फिल्म सुश्री सम्पत्तिको घोषणा भएको छ । त्यसका लागि शुभकामना दिन चहान्छु ।  

छोरीका लागि के भन्न चहानुहुन्छ ?

छोरीलाई, उनी अहिले मेरोतर्फबाट फ्रिडम छिन् । उनले जो सोचेकी छन् राम्रोका लागि मात्र । त्यो उनले गर्न पाउछिन् उनलाई स्वतन्त्रता छ ।