21st November | 2018 | Wednesday | 1:19:23 AM

साहित्यमा जीवन खोज्छु

  POSTED ON : Saturday, 10 February, 2018 (12:00:31 PM)

साहित्यमा जीवन खोज्छु

नारायण ढकाल/साहित्यकार

नेपाली प्रगतिशील साहित्यका अगुवा आख्यानकार नारायण ढकाल साहित्यमा जीवन खोज्छन् । भोगाइ र जीवनसँग मिसिएको पुस्तकसँग उनी छिट्टै तानिन्छन् । पछिल्ला दिनमा उनले लेख्ने र पढ्ने कामलाई समानान्तरजस्तै गरेर अघि बढाइराखेका छन् । लेख्न वा पढ्न उनलाई आफ्नै थातथलो काठमाडौंको मुलपानी नै प्रिय लाग्छ । कुनैबेला पत्रिकाको जागिरे हुँदा उनले ‘बद्री केदार जानु छ’ भनेर विदा माग्थे र लेख्नका लागि गुप्तवासजस्तै हुन्थे । त्यही गुप्तवासबाट जन्मिएको हो उनको प्रेतकल्प उपन्यास । पुस्तक लेख्दैछु भनेको भए के हुन्थ्यो । लामो हाँसोसँगै उनले भने, ‘पुस्तक लेख्न बिदा चाहियो भन्नुभन्दा तीर्थयात्रा भनिदिँदा सजिलो हुन्थ्यो ।’ केही वर्षयता उनी सञ्चारमाध्ययममा आबद्ध छैनन् । त्यसैले बिहान, दिउँसो वा साँझ लैखनमै समय बित्छ । अहिले समय पर्याप्त छ ।  

उमेर ६५ वर्ष भइसक्यो । नारायण ढकाल भन्छन्, ‘पहिले पहिले त राति पनि खुबै लेख्थेँ, अहिले राति लेख्न छाडेको छु ।’ जस्तोसुकै अवस्थामा पनि ढुक्कसँग निदाउनुपर्छ भन्ने मान्यतामा उनी विश्वास गर्छन् । राति अबेरसम्म लेखपढ गर्ने बानीले उनको स्वास्थ्यमा केही समस्या देखियो केही वर्षअघि । त्यतिबेलाको स्वास्थ्य समस्याको मुख्य कारण निद्रा रहेछ भन्ने उनले थाहा पाए । हिजोआज घरभित्रका सानातिना कामबाट पनि उनलाई फुर्सद छ । अहिले उनको पूरै समय लेखपढकै लागि हो । पछिल्लो औपन्यासिक कृति ‘वृषभ वध’ प्रकाशनपछि उनी फाटफुट अखबारका पानाहरूमा देखिए । त्यो फुर्सदलाई नारायण शब्दका माला बुन्न खर्च गरेका रहेछन् उनले । हो, साहित्यकार नारायण ढकाल ‘हजार माइलको बाटो’ का लागि अन्यत्र कतै पाइला अघि नबढाएका रहेछन् । फागुनको पहिलो साता सार्वजनिक हुने उक्त उपन्यासलगायत नेपाली आख्यान लेखनका सन्दर्भमा साहित्यकार नारायण ढकालससँग रमा लुइँटेलले गरेको कुराकानी ः 


नयाँ उपन्यास ‘हजार माइलको बाटो’ सार्वजनिक हुँदैछ, कस्तो अनुभूति भइरहेको छ ?

त्यस्तो विशेष अनुभूति छैन, तर पनि उत्साहित छु । सिर्जनाको चाङमा अर्को पुस्तक थपिनु खुशीको कुरा हो । हेरौं कस्तो प्रतिक्रिया आउछ । 

हजार माइलको बाटो कुन विषयवस्तुमा केन्द्रित उपन्यास हो ? 

मुख्य गरी यो उपन्यास राजनीति केन्द्रित उपन्यास हो । यसमा माले एमालेको राजनीतिक यात्रा, माओवादी जनयुद्ध र त्यही वरपरको राजनीतिक विषयमा उपन्यास केन्द्रित छ । यसमा २२ सालपछिका गतिविधि र २०४६ सालको आन्दोलनलगायत २०७२ सालसम्मका विषय समावेश भएका छन् । 

यसभन्दा अघिका पुस्तक पनि राजनीतिक विषयमै बढी केन्द्रित थिए होइन र ? 

हो । ‘प्रेत कल्प’ राणाशासनको समयलाई केन्द्रविन्दु बनाएर तयार पारिएको उपन्यास थियो । यो म जन्मनुभन्दा अघिको परिवेश र वातावरणलाई पढेर अनुभूत गरेका आधारमा ‘प्रेत कल्प’ लेखेको हुँ । प्रेत कल्पपछि उपन्यासको अर्को शृंखला पनि हुनसक्छ भन्ने लाग्यो र ‘वृषभ वध’ लेखे । वृषभ वधले म सानो हुँदाको परिवेश र परिदृश्य समेटेको छ । ‘हजार माइलको बाटो’ मैले ५०÷५२ वर्षसम्म देखेका विषयवस्तु समेटेर तयार पारिएको उपन्यास हो । 

साहित्य र राजनीतिको अन्तरसम्बन्ध कस्तो देख्नुहुन्छ ?

साहित्य भनेको मूलतः जीवनको खोजी हो । जीवन खोज्ने क्रममा साहित्यमा राजनीति आउनु अस्वाभाविक होइन, तर वर्तमान अवस्थामा साहित्यले राजनीतिले कस्तो चित्रण गरेको छ ठ्याक्कै भन्न सकिँदैन । त्यसलाई विशेष सन्दर्भसँग जोडेर हेर्नुपर्छ । अर्को कुरा, साहित्य भनेको जीवनको सोझो प्रतिक्रिया होइन । आमसञ्चारका माध्यममा छापिने वा प्रसारित हुने प्रतिक्रिया वा टिप्पणीजस्तो साहित्य तुरुन्तै सिर्जना हुँदैन । साहित्य,समाज र जीवनको सम्बन्धको उत्खनन् हो । समग्रमा हाम्रो साहित्य राजनीतिबाट अलग छैन ।

त्यसो भए साहित्यले राजनीतिलाई कसरी प्रभावित बनाउँछ ? नेपाली साहित्यमा राजनीतिले कस्तो प्रभाव पारेको छ ?

साहित्यिक कृतिले राजनीतिलाई ठाडै प्रभाव पार्दैन । यसको अर्थ साहित्यले राजनीतिलाई प्रभाव पार्छ तर विस्तारै । कुनै संघसंगठनको आलेख, पर्चा, पम्प्लेटले जस्तो साहित्यले सोझै निर्देश गर्दैन । राम्रो कृतिको विचारले शक्तिका रूपमा भने दीर्घकालमा प्रभाव पार्न सक्छ । 

नेपालको सन्दर्भमा साहित्यको कुन विधा प्रभावकारी देख्नुहुन्छ ? 

पाठकलाई सजिलोका हिसाबले कथा र संस्मरण बढी प्रभावकारी हुन्छन् भन्ने लाग्छ । कविता, कथा, उपन्यास वा नाटकका आआफ्नै सीमा र क्षमता छन् । संस्मरणले पाठकलाई नौलो र फरक अनुभूति गराउन सक्छ । नाटक मञ्चनसँग जोडिने भएकाले कलाकारको कलाकारिता, मञ्चको सजावटलगायतका विषयसँग समेत सम्बन्धित हुन्छन् । 

तपाईंले पढेका पुस्तकहरूमध्ये सबैभन्दा प्रभावकारी भनेर नाम लिनु पर्दा कुन कुन पर्छन् ?

जगदीश घिमिरेको ‘अन्तरमनको यात्रा’ राम्रो लाग्यो । वैचारिक इमानदारी, बौद्धिक स्तर र अभिव्यक्ति प्रवाहको दृष्टिले यो राम्रो पुस्तक हो । खालिद हुसेनीको ‘काइट रनर’ पनि राम्रो लागेको पुस्तक हो तर यसको एउटा पक्ष चाहिँ मन परेन । यो अमेरिका अफगान सम्बन्धका विषयमा लेखिएको उपन्यास हो । यसमा अफगान राष्ट्रपति हमिद कारजाईको प्रसंशा धेरै गरिएको छ । पढेका मध्ये धेरै राम्रो लागेको पुस्तक ओहान पामुकको ‘स्नो’ हो । उनको पुस्तक धेरै पढ्न पाएको छैन । साँच्चिकै अद्भूत लागेको पुस्तक ‘माइ नेम इज रेड’ पढ्न नसकेर बीचमै छाडिदिएँ ।  

अहिले पढ्दै गरेको पुस्तक ? 

मोसिन हमिदको पुस्तक पढ्दैछु । मैले उनका पाँच ६ वटा पुस्तक पढेँ । अहिले पढ्दै गरेको पुस्तक ‘एक्जिट वेस्ट’ हो । धर्म नमान्ने केटा र धर्म मान्ने केटीबीच मौलाउँदै गरेको प्रेमसम्म पुगेको छु । 

यहाँलाई कस्तो पुस्तक पढ्न मन लाग्छ ?

पढ्दा आफूलाई संयमित बनाउने पुस्तक राम्रो लाग्छ । मानिसलाई जोडेको पुस्तक पढ्दा आनन्द लाग्छ । त्यति मात्रै होइन, सक्नेले नसक्नेलाई सहयोग गरेको विषयवस्तु समेटिएको पुस्तक पढ्न राम्रो लाग्छ । म पस्तक पढ्दा जहिले पनि जीवन कहाँ खोज्न पाइन्छ भनेर खोज्दै पढ्छु । 

नेपाली साहित्यले नेपाली राजनीतिको चरणलाई कसरी आत्मसात् गरेको छ ? 

यो विषयमा कुरा गर्दा २०४६ देखि २०६३ सालसम्मको कालखण्डको विश्लेषण गर्नुपर्छ । यो एउटा यस्तो राजनीतिक कालखण्ड थियो जसमा नयाँ मूल्यको खोजीको अपेक्षा गरिएको थियो । तर समाजमा चाहेजस्तो परिवर्तन देखिएन । त्यसको असर साहित्यमा पनि प¥यो । प्रभाव परे पनि राजनीतिको राम्रो पक्ष र नराम्रो पक्ष केलाउन साहित्यले छोडेन । त्यो अवधिका थुपै्र राजनीतिक र सामाजिक गतिविधिको चित्रण साहित्यमा भएको छ । 

त्यसो भए, नेपाली साहित्यका सशक्त कृति कुन कुन हुन त ? 

मदनमणि दीक्षितको माधवी । बौद्धिक समाजको संक्रमण, प्रेम र जातीयता विषयसमेत समेटिएको एवं प्रगतिवादी र पुरातन मूल्यको द्वन्द्व भएको सशक्त उपन्यास हो । अपूर्णझै लागे पनि धच गोतामेका घामका पाइलाहरू एउटा समयको संक्रमणको कथा थियो । यो निकै बलियो उपन्यास हो  । समग्रमा के हो भने साहित्यमा सामाजिक जीवन खोज्ने कुरामा हामी कमजोर छौँ । पाठकलाई मन पर्ने साहित्यका लागि जीवन खोज्नुपर्छ । 

संघीय र समावेशी नेपालमा साहित्यको स्वरूप कस्तो हुन्छ ? 

साहित्यको रूप जहिले पनि तरल हुन्छ । साहित्यको कुनै संघीय रूप हुँदैन । साहित्यमा विविधताको खोजी भइरहेको छ । भाषाभाषीको साहित्यलाई सशक्त बनाउनुपर्छ । अझै व्यवस्थित होला । 

प्रसंग बदलौं, तपाईलाई लेख्न सहज हुने ठाउँ र समय ? 

म जुन वातावरण हुर्कें, जन्मे त्यही वातावरण नै सहज लाग्छ लेख्नका लागि । म जन्मे हुर्केको मुलपानीमा हो, मलाई यो ठाउँमा बसेर लेख्दा आनन्द आउछ । लेख्ने समय यो नै भन्ने छैन, बिहान पनि लेख्छु । फुर्सद हुँदा लेख्छु । केही समय नातिनातिनालाई दिनुपर्छ, उनीहरूलाई हुर्काउन सहयोग गरेपछि हुने फुर्सदलाई म लेखनमा लगाउँछु । पहिलापहिला राति खुबै लेख्थे, त्यसले स्वास्थ्यलाई असर ग¥यो त्यसैले अहिले राति लेख्दिनँ । 


Views: 33