19th October | 2018 | Friday | 10:08:36 AM

‘डुब्लिकेट’ शब्दप्रति आपत्ति - शीतल केसी

  POSTED ON : Tuesday, 06 March, 2018 (4:00:59 PM)

‘डुब्लिकेट’ शब्दप्रति आपत्ति - शीतल केसी

काठमाडौं । नेपाली टेलिसिरियलको एक समयको चर्चित नाम हो शीतल केसी । टेलिभिजनको सानो पर्दाबाट स्थापित भएको यो नाम डेढ दशक पुग्दासम्म पनि उत्तिकै चर्चित छ । टेलिसिरियल, म्युजिक भिडियो तथा चलचित्रको अभिनयलाई कर्म बनाएर अघि बढेका शीतल पछिल्लो समय चलचित्रहरूमा पनि कमै देखिएका छन् । उनले अभिनय गरेका टेलिसिरियल अहिले पनि प्रसारण भइरहेका छन् भने म्युजिक भिडियोमा पनि उत्तिकै मात्रामा देख्न पाइन्छ । शीतलको आजभन्दा दशकअघिको दर्शक क्रेज र अहिलेको दर्शकक्रेजमा धेरै नै अन्तर पाइन्छ । पछिल्लो समय कलाकारिताबाट हराएजस्तो देखिएपनि उनी आफू कलाकारितामै व्यस्त रहेको बताउँछन् । यसैबीच तिनै शीतल केसीसँग हिमालय टाइम्सका गोपिकृष्ण चापागाईंले कलाकारिता र उनको व्यक्तिगत जीवनमा आधारित रहेर भलाकुसारी गरेका छन् ।

आजभोली हराउनु भएको होकि जस्तो छ नि ? केमा व्यस्त हुनुहुन्छ ?

हराएको भन्न मिल्दैन, किनकि म अहिले पनि टेलिसिरियलहरूमा उत्तिकै व्यस्त छु, म्युजिक भिडियो पनि गरिरहेको छु । केही चलचित्रको पनि छायांकन भइसकेको छ  र केही आउने क्रममा छन् । सायद मिडियामा त्यति नआउने भएकाले दर्शकहरूले त्यस्तो महसुस गर्नुभएको होला । अर्को कुरा कुनै कलाकारको एक समय हुन्छ, बढीमा १० वर्षसम्म एक कलाकार राम्रोसँग यो क्षेत्रमा भिज्न सक्छ । मेरो कुरा गर्ने हो भने लगभग डेढ दशक पुग्यो । यो अर्थमा अहिले पनि यत्तिको व्यस्त हुन पएको छु यो त मेरा लागि राम्रो मान्नुपर्छ ।

तपाई टेलिसिरियल, म्युजिक भिडियो र चलचित्रमध्ये कुनमा बढी व्यस्त हुनुहुन्छ ?

पछिल्लो समयको कुरा गर्दा म्युजिक भिडियोमै बढी व्यस्त छु । टेलिसिरियल अहिले दुईवटा टेलिभिजनमा प्रसारण भइरहेका छन्, तर म्युजिक भिडियो महिनामा १० वटा जतिमा अहिले पनि गरिरहेको छु । अहिलेसम्म त्यस्तै ५ सय म्युजिक भिडियो पुग्यो होला ।

तपाई आफूलाई म्युजिक भिडियोमा रोज्नुको कारण केजस्तो लाग्छ ? 

म्युजिक भिडियोमा मोडलिङ गर्नेभन्ने वित्तिकै उनको कामलाई हेर्नुपर्छ । कस्तो काम गर्छ, भिडियोमा कस्तो देखिन्छ र दर्शकले त्यो मान्छेलाई कस्तो मान्नुहुन्छ त्यो कुरा महŒवपुर्ण हुन्छ । मेरो हकमा पनि म टेलिसिरियलबाट आएको र मेरो काम देखेकाले सायद यत्तिको मान्छे भएपछि हुन्छ भन्ने ठानेरै प्रायः बोलाइरहनुहुन्छ । 

चलचित्रमा चाहिँ कमै देखिनु भएको हो ? 

पछिल्लो समय त्यस्तै भइरहेको छ । मेरो ‘एनेलग’ प्रविधिकै पाँचवटा चलचित्र त रिलिज हुनै बाँकी छन् । काम धेरै नै भएको छ, तर बाहिर नआएकाले हराएजस्तो भएको हो । दर्शककासामु नदेखिँदा भित्रभित्र जति काम भएपनि देखिँदैन । गएको०७२ सालको भूकम्पको समयमा रिलिज डेट तोकिएको चलचित्र भूकम्पकै कारण रोकियो । त्यसपछि पुनः नाकाबन्दीलगायतले समस्या आयो त्यो समयमा पनि रोकियो, यस्तैयस्तै कारणले अल्झिएको छ । ‘गीत’ नामको चलचित्रको २५ प्रतिशत काम सकिसकेको छ । अझै छिट्टै नै रिलिज डेट तोकिदैछ । त्यस्तै ‘ब्रेकअप’ नामक अर्को चलचित्रमा पनि कुरा भइसकेको छ । अब सायद छिट्टै आउनेछु ठूलो पर्दामा त्यसपछि दर्शकले हराएको अनुभव गर्नुहुन्न ।

अहिलेसम्म अबिवाहित नै बस्नुभएको छ, केही योजना छैन ?

योजनाको कुरा गर्दा विवाहको मापदण्ड त पुगेजस्तो लाग्छ । तर, विभिन्न कारणले गर्दा अल्झिएको छु । यही समयमै गर्छु भन्ने योजनामा त छैन । एकसमय हुन्छ जुनबेला घरबाट पनि विवाहको प्रेसर हुने, अन्य साथीभाइहरूको विवाह भएको देख्दा आफू पनि बेहुला बन्न मन लाग्ने, यी सबै कुरा पार गरिसकियो त्यसैले पनि अब त्यो कुरा मनमा खेलिरहने नहुँदा पनि त्यस्तो हतारो छैन । अब सोच्नुपर्ला ।

तपाईंलाई अभिनेता राजेश हमालको नक्कली भनेर दाज्ने पनि गरिन्छ, तपाईको हाउबाउ र अनुहार पनि केही मिल्न जान्छ, तपाईलाई कस्तो लाग्छ ? 

यो कुरा मलाई पनि अचम्म लाग्छ, कसैलाई डुब्लिकेट भन्नको लागि कसैको हुबहु नक्कल गरेको हुनुपर्छ, यदि अरू कसैको दुरुस्तै नक्कल गरेको छ भने उसलाई डुब्लिकेट भन्न मिल्छ तर मैले अभिनेता राजेशजीको कुनै पनि नक्कल गरेको छैन । धेरैले डुब्लिकेट राजेश हमाल भनेको सुन्छु यो कुरामा चाहिँ दुःख लाग्छ । हाउबाउ केही कुरा मिल्न गयो होला तर उहाँको नक्कल गरेको भने होइन ।

अभिनेता हमालसँग तपाईंको अनुहार र कपाल पाल्ने स्टाइल केही मिल्न जान्छ, बोली पनि केही मात्रामा उस्तै सुनिन्छ, यो चाहिँ पहिलेदेखि नक्कल गर्न खोज्नुभएको कि मिल्नमात्र गएको ? 

म गाउँमा हुर्किएको मान्छे हुँ । सानो छँदा त्यस्तो धेरै टेलिभिजन हुन्थेन । अभिनेता हमालका चलचित्रहरू हेर्न पनि पाइन्थेन । उहाँको स्टाइल कस्तो थियो त्यो पनि राम्रोसँग थाहा थिएन । मेरो अनुहार केही मात्रामा मिल्न गयो होला त्यो कसरी भन्ने कुरा त मलाई थाहा भएन तर कपाल पाल्ने कुरा गर्दा मेरा दाईहरूले पनि यसरी नै कपाल पालेको देखेकाले मैले पनि सानैदेखि पाल्न थालेँ र पछिसम्म यस्तै हुँदै गयो । पछि अभिनेता हमालजीको पनि यस्तै हुन गएछ । कतिले नक्कल ग¥यो भन्नुहुन्छ, तर मलाई थाहा थिएन कि उहाँको पनि यस्तै छ । उहाँसँग फोटो जोडेर डुब्लिकेट भनेर आउँदा एकदम दुःख लाग्छ, मलाई यो डुब्लिकेट शब्दप्रति आपत्ति छ । 

अन्त्यमा, तपाईलाई माया गर्ने दर्शकका लागि तपाईंका केही योजनाबारे बताइदिनुस् न ।

यहि हो, कलाकारिता क्षेत्रमै छु । टेलिसिरियलहरू प्रसारण भइरहेका छन् हेरिदिनुहोला । चलचित्रको कुरा गर्दा केही आउने क्रममा छन् । रिलिज डेट तयभएपछि पक्कै थाहा पाउनुहुनेछ । नयाँ योजनाको कुरा गर्दा हामी केही साथीभाइ मिलेर होम प्रोडक्सनमा एउटा चलचित्र निर्माण गर्ने सोचमा छौँ, छिट्टै त्यसको पनि औपचारिक घोषणा गर्नेछौँ ।


Views: 7