24th April | 2018 | Tuesday | 4:22:30 AM

हरेक घरलाई ऊर्जा घर बनाउन सकिन्छ

  POSTED ON : Thursday, 29 March, 2018 (6:26:35 PM)

हरेक घरलाई ऊर्जा घर बनाउन सकिन्छ


प्राडा रमेशकुमार मास्के

काठमाडौं विश्वविद्यालय

सम्मेलनका बारेमा बताइदिनुस् न ?

नवीकरणीय ऊर्जासम्बन्धी पाँचांै अन्तर्राष्ट्रिय सम्मेलन यसपटक काठमाडौंमा आयोजना हुन गइरहेको छ । यसभन्दा अघि यस्तै चारवटा सम्मेलन बंगलादेशको ढाकामा भएका थिए । ती सम्मेलन सन् २००९ देखि २०१६ सम्म आयोजना भएका थिए । हामीले सन् २०१६ मा आगामी सम्मेलन नेपालमा गरौं भन्ने प्रस्ताव राखेका थियौं, प्रस्तावको स्वीकृतिसँगै पाँचौं सम्मेलनमा आयोजनाका लागि हामी तयारीमा लागेको थियौं ।

सम्मेलनको उद्देश्य के हो ?

मुख्य उद्देश्य भनेको नवीकरणीय ऊर्जासम्बन्धी सचेतना नै हो, सम्मेलनबाट सचेतनाको विकासका लागि संसारभर काम गरिरहेका वैज्ञानिक तथा प्राविधिकहरूको बीचमा नेटवर्किङ  विस्तार होस् भन्ने हो । हामी अर्काको देशमा हुने सम्मेलनमा सहभागी हुन जान्छौं तर त्यही देशलाई मात्र फाइदा पुग्छ, आफ्नो देशमा गर्दा आफ्नै देशलाई फाइदा पुग्छ । सम्मेलनमार्फत् नेपालमा ऊर्जा दशक मनाउने सरकारले घोषणा गरोस् भन्ने हाम्रो चाहना छ । त्यस्तै नयाँ वर्ष २०७५ लाई नवीकरणीय ऊर्जा वर्ष मनाउन सरकारले घोषणा गरोस् भन्ने हाम्रो चाहना छ । सरकारले गर्ने घोषणाबाट हामी वर्षैभरि केही न केही कार्यक्रम गरेर नवीकरणीय ऊर्जा वर्ष मनाउन उत्साहित हुनेथियौं ।

विगतका सम्मेलनको उपलब्धि कस्तो रहृयो ?

विगतका सम्मेलनले नवीकरणीय ऊर्जाको प्रवद्र्धनमा महŒवपूर्ण भूमिका खेलेको हामीले महसुस गरेका छौं । सम्मेलनकै कारण विश्वविद्यालयहरूमा रिसर्चका काम सुरु भए, घरका छानाहरूमा सोलार प्यानल राख्ने क्रम सुरु भयो । निजी क्षेत्रको व्यापार पनि फस्टाउँदै गयो । राम्रा राम्रो सोलार प्यानल ब्याट्री भित्रिन थाले ।


जलस्रोतमा धनी मुलुकका लागि नवीकरणीय ऊर्जा आवश्यक छ ?

एकदमै आवश्यक छ । जलविद्युत् पनि नवीकरणीय ऊर्जा नै हो । म पनि हाइड्रोपावरकै विज्ञ हुँ । तर मैले मेरो घरलाई ऊर्जाघर बनाउन सौर्य ऊर्जा नै राख्नुपर्छ वा वायोग्यास पनि राख्न सकिन्छ, हाइड्रोपावरबाट त्यो सम्भव छैन । त्यसैले सस्तो कच्चा पदार्थबाटै ऊर्जा प्राप्त गर्न सकिने र पैसा नपर्ने सौर्य ऊर्जा किन प्रयोग नगर्ने ? ऊर्जामा प्रयोग गर्नुपर्ने पैसाले अरू काम गर्न सकिने भयो । घरमा कार राख्नसक्नेले सौर्य ऊर्जा राख्न नसक्ने भन्ने हुँदैन । नवीकरणीय ऊर्जाको विस्तारले अन्य ऊर्जाको मूल्य नियन्त्रण हुनुका साथै सर्वसुभल पनि हुनसक्छ । 

नवीकरणीय ऊर्जाका लागि विद्यमान नीति उचित छ ?

विद्यमान नीति त्यति उचित देखिएको छैन किनभने यस क्षेत्रमा लाग्ने व्यवसायी र विज्ञहरूबाट धेरै गुनासो आउने गरेको छ । प्रविधि जडानपछि समयमै भुक्तानी नपाउने समस्या देखिएको छ । सरकारले यस क्षेत्रको प्रवद्र्धन गर्न खोजेजस्तो त देखिन्छ तर प्रभावकारी कार्यान्वयन हुन नसकेकाले पनि यस्तो समस्या आएको हुनसक्छ । सरकारले सोलारमैत्री घर बनाउन प्रोत्साहित गर्नुपर्छ । सोलार इनर्जीमा कार्वन ट्याक्स पनि लाग्दैन । वास्तवमा भारतले नेपालमाथि नाकाबन्दी लगाउनु नेपालको हितमा पनि थियो, भारतले नाकाबन्दीमार्फत तिमीहरू आफैं गरिखाउ है भन्ने सन्देश दिएको हो । यसमा भारतलाई धन्यवाद नै दिनुपर्ने हुन्छ । नाकावन्दीले हामीलाई आफ्नै खुट्टामा उभिन प्रोत्साहित गरेको छ । त्यसैले हामीले भारतबाट ऊर्जा आयात गर्नुको सट्टा यही किन उत्पादन नगर्ने ? हामी गर्न सक्छौं ।