27th May | 2018 | Sunday | 6:15:24 AM

‘नेपाली लोकसंगीत विश्वव्यापीकरण गर्न चाहन्छु’

  POSTED ON : Saturday, 21 April, 2018 (3:20:17 PM)

 ‘नेपाली लोकसंगीत विश्वव्यापीकरण गर्न चाहन्छु’

माधव दाहाल लोकगायक हुन् । २०२५ सालमा ओखलढुंगाको विगुटारमा उनी जन्मिएका हुन् । आमा देवकुमारी र बुवा फणीन्द्रमणि दाहालका छोरा माधव सानैदेखि लोकगीतमा रुचि राख्थे । आध्यात्मिक परिवारमा जन्मिएको भए पनि आफ्नो गायनयात्रामा परिवारबाट कुनै वाधा नपुगेको बरु सहयोग पाएको उनको धारणा छ । उनी मादल, मुरली (बाँसुरी), सारंगी, हार्मोनियम, हार्मोनिका (बच्छेबाजा) बजाउन पनि प्रवीण छन् । विशेष गरी उनी पूर्वेली भाकाका राम्रा गायक पनि हुन् । प्रस्तुत छ उनीसँग यिनै विविध विषयमा हिटाका विनोद दाहालले गरेको कुराकानी ः

गायनमा कसरी आकर्षित हुनुभयो ?

बाल्यकालदेखि नै लोकसंगीतप्रति ठूलो आकर्षण थियो । २०३५÷३६ सालतिर काठमाडौंमा अध्ययनरत दाइहरू तथा आफन्तहरू रेडियो बोकेर गाउँ जानुहुन्थ्यो, लोकगीत भनेपछि मरिहत्ते गरेर रेडियो सुन्न गइन्थ्यो । त्यति मात्र होइन भारतबाट लाहुरेहरू रेडियो बोकेर घर आउँथे । गीत सुन्नकै लागि २–४ घण्टाको बाटो लाहुरेका पछिपछि हिँडिन्थ्यो । 

पारिवारिक परिवेश अनुकूल थियो ?

पारिवारिक परिवेश अनुकूल नै थियो । आमाहरू जाँतो पिँध्दा र ढिकी कुट्ता लोकसिलोकहरू लय हालीहाली गाउँनुहुन्थ्यो । मैले गीत गाउँन थालेपछि त उहाँहरू झन् खुसी हुनुभयो । बुवा हिन्दु धर्मका व्याख्याता हुनुहुन्थ्यो । सस्वर वेदवाचन गर्न पोख्त हुनुहुन्थ्यो । भागवत् पनि लय हालेर वाचन गर्नुहुन्थ्यो । कथा पनि राम्ररी भन्नुहुन्थ्यो । उहाँ आफैँ पनि संगीतप्रेमी भएकाले उहाँमा पनि खुसी छाएको थियो । पिता फणीन्द्रमणिले पनि गीत संकलन गरिदिनुभयो । उहाँका संकलनका गीत पनि मैले रेडियो नेपालबाट गाएँ, मलाई ज्यादै खुसी लाग्यो । 

कहिलेदेखि गाउनुभयो ?

मैले गाउँन थालेको २०४४÷४५ सालदेखि हो । रेडियो नेपालमा चौतारी कार्यक्रम अत्यन्तै प्रसिद्ध थियो । त्यस कार्यक्रमका सञ्चालक लोकगायक पाण्डव सुनुवारदाइ ओललढुंगाकै हुनुहुन्थ्यो । उहाँको प्रस्तुतिको शैली पनि अत्यन्तै रोमाञ्चक थियो । यही चौतारी कार्यक्रमबाट मेरो गायनयात्रा शुरु भयो ।

अहिलेसम्म कतिवटा गीत रेकर्ड भएका छन् ?

अहिलेसम्म संकलन तथा गायन गरेर मेरा ३५ वटाजति गीत रेकर्ड भएका छन् ।

कसरी प्रेरणा पाएर यस क्षेत्रमा लाग्नुभयो ?

चौतारी कार्यक्रममा जाँदा विभिन्न कलाकार दाजुदिदीहरूसँग सम्पर्क भयो । वरिष्ठ गायिका सावित्री शाहले त मेरो संकलनको गीत गाइदिनु पनि भयो । पाण्डवदाइहरूबाट पनि सरसहयोग रहिरहृयो । पाल्पाका नारायण रायमाझी अत्यन्तै राम्ररी लोकगीत गाउँनुहुन्थ्यो । उहाँका गीतबाट म विशेष आकर्षित थिएँ । उहाँसँग मेरो हिमचिम बढ्दै गयो । मित्रता प्रगाढ हँुदै गयो । रेडियो नेपालमा गीत रेकर्डिङमा उहाँको अविस्मरणीय योगदान रहृयो । अहिलेसम्म गीत रेकर्ड गर्ने बेलामा माइक ढोग्दा पनि म एकचोटि उहाँलाई सम्झने गर्छु । गीत संगीतबाट अगाडि बढ्दै उहाँ अहिले चलचित्र निर्माता र निर्देशक समेत बनिसक्नु भएको छ ।

रेडियो नेपालसम्म कसरी पुग्नुभयो ?

पहिले ‘चौतारी’ कार्यक्रममा अरूले गीत गाएको धेरैचोटि सुनेँ । त्यहाँ सुनेका गीतभन्दा अझै राम्रा गीत गाउँन सक्छु भन्ने आत्मविश्वास थियो । सिंहदरबार गेटमा ४ घण्टा लाइन बसेर भित्र छिरेपछि सुरुमा त सातोपुत्लो उडेको थियो । गीत गाउँनेको संख्या पनि धेरै थियो । त्यहाँ मेरो गीत पनि छानियो र एक नम्बरमा प¥यो । मलाई धेरै खुसी लाग्यो । ‘हिमालै चुली कैलाशै पुरी ...’ बोलको गीत पहिलोचोटि चौतारीमा गाएको थिएँ । 

रेडियो नेपालमा जागिरे पनि हुनुभयो क्यार, किन छोड्नुभयो ?

विभिन्न कारणबाट छोडियो । स्वतन्त्र पेशा अपनाउनु परेका कारणले पनि यस्तो भएको होला । 

तपाईंले अहिले सम्झन सक्ने केही गीत ?

सबै गीतका बोलहरू त अहिले सम्झना छैन । केही प्रमुख गीतका बोलहरू भन्छु–

‘घर त मेरो यहाँ होइन टक्सार, मनको कुरा को भन्न सक्छ र ? विउटारघुमेर ....’ 

‘घुम्दै फिर्दै आउँला आमा सम्झना गरेर, सम्झी बसे कान्छो छोरो आउला कि भनेर ...।’

‘छेउ लाग्यो माछा छल्कैले मै आएँ मायाको झल्कैले ...., एकसरे माया लाउँदै जाऊँ लौ लौ...।’ 

‘उड्यो वनचरी, मायाको सम्झना सधैँ मनभरि ...।’ 

‘गोठैमा बस्नु त्यो काली लेक हिँड्नु छ उकालो, सँगैका साथी देश विदेश जान्छन् आफू त गोठालो ...।’

‘पूर्वैबाट घाम झुल्केसरि ... देउसिरे ।’ 

‘आकाशैका सूर्यचन्द्र ... देउसिरे ।’ 

‘दौरा फटेछ, टोपी नि फाटेछ, साथीभाइले नौ डाँडा काटेछ ,रुन्छ यो मन ...।’ 

‘यो नानीको घर प¥यो कुन ठाउँ, आयौँ हामी िलनलाई लौ जाऊँ , आउँदो माघैमा ...।’ 

‘रमाइलो डाँडा सरर हावा ओराली बाटैमा, बजार घुम्न जाऊँ ओखलढुंगा शनिबार हाटैमा ...।’ 

‘माया हाम्रो बस्न गयो रामपुर बजारमा ...।’ 

‘वनपाखा फूल फुल्यो बुकीको, बाँचिरहे दिन आउला दुःखीको ...।’

‘मोलुङ तिरैतिर,आउँछु साथी हो नमान है पिर ...।’ 

पहिले र अहिलेको प्रविधिमा के फरक पाउनुहुन्छ ? 

पहिलेको प्रविधि अलिक अप्ठ्यारो खालको थियो तर त्यसले गीत मिठो बनाउँथ्यो । अहिलेको प्रविधि सजिलो भए तापनि गीतमा मिठासमा कमी आएको हो कि जस्तो लाग्छ । म्युजिक ट्र्याकमा गाइने हुँदा अहिले आराम गरेर पनि रेकर्ड गर्न सकिन्छ । अहिलेको प्रविधि लामालामा दोहोरीका लागि उपयुक्त छ ।

बीचमा निष्क्रिय जस्तो हुनुभएको थियो, अहिले फेरि कसरी सक्रिय हुनुभयो ?

बीचमा पनि गाउन त छोडेको थिइनँ । चक्काको बिक्रीवितरण मोबाइलको कारणले बन्द भएपछि केही शिथिलता भने आएको हो । आर्थिक कारण पनि त्यसमा जोडिन्छ । पछिल्लो समयमा युट्यूबमा गीत राख्ने क्रम बढेसँगै मेरो सक्रियता प्रारम्भिक कालको भन्दा पनि बढेको भने पक्कै हो ।

तपाईंको समूहमा अरू कोको छन् ? कुनै ब्यान्ड पनि छ कि ?

मेरो कुनै स्थायी समूह छैन । मैले पहिले कोमल ओली, हीरादेवी राई, कला राई, कमला शाही, सिन्धु मल्ल आदिसँग गाएँ । अहिले नयाँ पुस्ताका अञ्जु गौतम, मीना नेपाल, यमुना नेपाल, बिना लोप्चनहरूसँग गाइरहेको छु । मसँग गीत गाउँने पुरुष कलाकारहरूमा पहिला आइसिं लामा, बलराम समाल, भगतसिंह थापा आदि हुनुहुन्थ्यो भने अहिले गान्धर्वराज पौडेल, रामप्रसाद दाहाल, शम्भु कटुवाल आदि हुनुहुन्छ । 

छायांकन पनि गर्नुहुन्छ, आर्थिक व्यवस्थापन कसरी गर्नुभएको छ ?

धनकारी, मनकारी र संस्कृतिप्रमी मित्रहरूको केही सहयोग अनि आफ्नै निजी खर्चमा गीत रेकर्डिङ अनि छायांकन गर्ने गरेको छु । 

आफ्नो गायन यात्राबाट सन्तुष्ट हुनुहुन्छ ?

म मेरो गायन यात्राबाट सन्तुष्ट नै छु । यसलाई शिखरसम्मै पु¥याउने आकांक्षा रहेको छ । यसमा कलाप्रेमी मित्रहरूबाट साथसहयोगको आशा पनि गर्दछु । गायन यात्रामा सहयोग पु¥याउने मेरा परिवारका सदस्यहरूमा अहिले आमा देवकुमारी, पत्नी इन्दिरा, छोरी इसारा र छोरा आस्तिकको ठूलो भूमिका रहेको छ । 

घरको धार्मिक परिवेशले गायनलाई अप्ठ्यारो पारेन ?

धार्मिक परिवेशले मेरो गायनलाई पटक्कै अप्ठ्यारो पारेन बरु सहयोग नै पु¥यायो । अहिले त कैयौं धार्मिक भजनहरू लोकलयमा आधारित छन् । पुराण तथा अन्य धार्मिक कार्यक्रममा भक्तिसंगीत प्राथमिकतामा पर्छन् । यो धेरै खुसीको कुरो हो । 

गायनबाट के प्राप्ति भएको जस्तो लाग्छ ? 

अवश्य पनि केही न केही प्राप्ति भएको छ जस्तो लाग्छ । हुन त मान्छेको प्राप्तिको आशाको कुनै सीमा हुँदैन । ममा पनि त्यस्तो हुनसक्छ तर म खुसी छु । यो पनि मेरो लागि ठूलो प्राप्ति हो । म आत्मसन्तुष्टि, संस्कृतिको जगेर्ना र अरूको आनन्दका लागि पनि गाउँने गर्छु । 

तपाईंको भावी योजना के छ ?

यसबाट आत्मसन्तुष्टि प्राप्त गर्नुका साथै लोकसंगीतलाई उजागर गर्ने र यसको सम्बद्र्धन गरी लोकप्रिय बनाउने । जीवन्त र लुप्तप्राय केही भाकाहरू रेकर्ड गरी छायांकन गर्नुका साथै प्रचारप्रसार गर्ने उद्देश्य रहेको छ मेरो । 

गायन र वाद्यवादनको कुनै तालिम लिनुभएको छ ?

मैले त्यस्तो कुनै औपचारिक तालिम लिएको छैन । जेजति जानेको र गर्न सकेको छु त्यो अरूले बजाएको देखेर र अभ्यासबाटै भएको हो । 

तपाईले किन लोकगीत नै रोज्नुभयो ?

यो आफ्नो रुचिको कुरो हो । मलाई सानैदेखि यसैमा रुचि लाग्यो र आफ्नो रोजाइको यही विधालाई तिखार्दै लगेँ, यसैमा रमाएँ । 

गायन क्षेत्रका नवप्रतिभाहरूलाई के भन्न चाहनुहुन्छ ?

मौलिक सिर्जना गरौँ, अरूका सिर्जना बिगार्ने काम नगरौँ र विदेशीको अपाच्य नक्कल नगरौँ भन्न चाहन्छु । राम्रा लोकलय र भावलाई सम्बद्र्धन गरौँ, नेपाली संगीतलाई विश्वव्यापीकरण गर्न सम्बद्ध सबै पक्ष आआफ्नो क्षमताले भ्याएसम्म सक्रिय बनौँ भनेर म सबैसँग अनुरोध गर्न चाहन्छु ।