20th September | 2018 | Thursday | 10:50:35 PM

मेरो यो दशौं पासपोर्ट

हिमालय टाइम्स   POSTED ON : Thursday, 05 July, 2018 (12:45:01 PM)

मेरो यो दशौं पासपोर्ट

काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा अग्रपंक्तिमा नाम आउने गायक हुन् राजेश पाएल राई । अहिलेसम्म हजारौं गीत गाइसकेका राईका सयौं गीत हिट छन् । देशभित्र तथा बाहिर हुने सांस्कृतिक कार्यक्रममा उनको रोजाई निकै हुने गर्छ ।

देशबाहिर हुने अधिकांश कार्यक्रममा उनी पुगेकै हुन्छन् । एक चर्चित कलाकार भइसकेपछि केही पासपोर्ट फेर्नु स्वभाविक मानिन्छ तर राईले अहिलेसम्म दशौंपटक पासपोर्ट फेरिसकेका छन् । थुप्रै देशमा सांगीतिक प्रस्तुतिकै लागि पुगेका गायक राई केही दिनअघि राजधानीको एक दोहोरी साँझ उद्घाटनमा भेटिए । उनै राजेश पाएल राईससँग हिमालय टाइम्सका गोपिकृष्ण चापागाईंले गरेको कुराकानीः 

राजेश पाएललाई नेपालमा भेट्न गाह्रो हुन्छ भन्छन् नि ¤ महिनामा कति दिन नेपाल बस्नुहुन्छ ?

विदेशको कुनै कार्यक्रम हुँदा नेपालमा नभेटिनु स्वभाविक हो । कहिलेकाँही महिना दिनसम्म कार्यक्रम पर्छ, जानुपर्छ त्यो भएर नेपालमा नभेटिएको होला तर नेपालभित्र पनि धेरै हुन्छु । महिनामा कहिलेकाँही आधा समय नेपालमै हुन्छु, कहिले महिना दिनभन्दा बढी बाहिरै हुन्छु, यकिन हुँदैन ।

आज दोहोरी साँझमा भेटियो, उद्घाटन कार्यक्रममा खासै देखिनुहुन्न होइन र ?

धेरै व्यस्त भएकै कारण उद्घाटन कार्यक्रममा नभेटिएको हुनसक्छ, आज चाँहि आफ्नै दाइको दोहोरीसाँझ उद्घाटनमा आएको हुँ । समय मिलेसम्म अन्य कार्यक्रममा पुगेको हुन्छु ।

आधुनिक तथा फिल्मी गीत बढी गाउनुहुन्छ, दोहोरी गीत मनपर्छ ? 

मलाई धेरै मनपर्छ लोकदोहोरी गीत । मैले गाएको पनि छु, त्यस्तै सयवटा पुग्यो होला लोकगीत । मैले हाम्रो देश नेपालको विभिन्न भेगमा गाइने गीतहरू गाएको छु, मलाई आफ्नो देशको विभिन्न भाषीय गीत गाउँन निकै मनपर्छ ।

तपार्इंले एक समय रेष्टुरेष्ट सञ्चालनमा ल्याउनुभएको थियो, अब योजना छ कि छैन ?

मैले ०७२ सालको भूकम्पभन्दा अगाडिसम्म ‘दर्शक नमस्ते’ नामको रेष्टुरेष्ट सञ्चालनमा ल्याएको थिए । भूकम्पले भवन ढलाइदिएपछि व्यवसायै बन्द गर्नुप¥यो, त्यसपछि कुनै योजना बनाएको छैन ।

एक कलाकारले रेष्टुरेष्ट व्यवसाय सञ्चालन गर्दा कस्ता समस्या देखापर्दा रहेछन् ? 

यो अलि दुःखकै काम हो । रेष्टुरेष्ट व्यवसाय बजारमा प्रचारका लागी कलाकार भएको हिसाबले त सजिलो हो तर कलाकारलाई चिनेकै भएकाले खाएपछि बिल तिर्ने बेला चाँहि अलिक समस्या पर्दो रहेछ । धेरैले राजेश भाइको रेष्टुरेष्ट हो, म उहाँलाई चिन्छु भन्ने बिल घटाउने, कतिले उदारो खाइदिनुभयो त्यो हिसाबले समस्या भएको थियो । समग्रमा अरूलाई भन्दा कलाकारलाई ग्राहक कमाउन सजिलो पर्दाेरहेछ ।

रेष्टुरेष्ट, दोहोरी साँझमा कत्तिको जाने गर्नुभएको छ ? 

म फुर्सद भएसम्म जाने गरेको छु, धेरै कार्यक्रम र गीत रेकर्ड हुनेहुँदा जान पाउँदिन तर समय मिलेसम्म चिनेको रेष्टुरेष्ट तथा दोहोरी साँझमा दर्शकसँग प्रत्यक्ष रमाइलो गर्न जाने गरेको छु । 

अहिलेसम्म कति देशमा पुग्नुभएछ ? 

मैले सन् १९९७ बाट विदेशको यात्रा सुरु गरेको हुँ । हङकङमा पहिलो सांगीतिक कार्यक्रमका लागि पुगेको थिए । धेरै देश घुम्ने मौका पाएको छु । हङकङमा मात्र अहिलेसम्म २५ पटक पुगेँ, त्यस्तै अमेरिका आाठपटक, हाउथ कोरिया १५ पटक, युरोपका देशहरू धेरैपटक दोहोरिएका छन् । 

पासपोर्ट कतिवटा फेर्नु भयो र विदेशयात्रामा कतिपटक ओहोरदोहोर भयो ? 

अहिले दशौं पासपोर्ट चलाइरहेको छु । सुरुमा हस्तलेखन पासपोर्ट थियो अहिले त एमआरपी आयो, सन् २०१२ यता एमआरपी सुरु भएको थियो । त्यसपछि पनि एमआरपीमात्र ६ वटा पासपोर्ट छ । 

विदेश यात्राको कुरा गर्दा यतिवटा देश पुगेँ भनेर ठ्याक्कै भन्न नसकिएला तर एक पासपोर्टमा ३६ पृष्ठ हुन्छ र एकपृष्ठबाट दुईदेखि तीनपटक जान सकिन्छ । त्यो हिसाबमा दुईकै हिसाब गर्दा पनि ७२ पटक एक पासपोर्टबाट जान सकिन्छ । त्यसरी हेर्दा पाँच सय पटक विदेश यात्राकै लागि पुगियो । 

अब कहिलेसम्म विदेश यात्रा तय भएको छ ? 

म आजको मितिबाट सन् २०१९ को फेब्रुवरीसम्म बुक छु । फेब्रुवरी १९को दिन मलेसियाको विभिन्न शहरमा प्रस्तुति दिन जाँदैछु ।

राजेशपायललाई अब कुन देश जान पाए हुन्थ्यो भन्ने लागेको छ ? 

म युरोपका धेरै राष्ट्रमा पुगे, त्यहाँको रहनसहन बुझ्ने मौका पाए तर अहिले फुटबलको माहोल पनि छ मलाई अर्जेन्टिना जान मन छ । नेपालीहरूले पनि निकै सपोर्ट गरेको देश कस्तो होला भन्ने मनमा छ । अर्कोकुरा फुटबलकै कारण विश्वसामु चिनिएको राष्ट्र भएकाले एकपटक पुग्ने मन छ । अहिलेसम्म पुग्ने अवसर पाएको छैन । अहिलेको विश्वकपमा पनि अजेन्टिनाको सपोर्ट थियो । 

नेपालको कुन जिल्लामा पुग्नुभएको छैन ?

म नेपालको डोल्पा, मुगु, रोल्पा जिल्लाहरूमा पुगेको छैन । यी जिल्लाहरूलाई नेपालको निकै राम्रो जिल्लाहरूमा गनिने गरिन्छ त्यसैले एकपटक पुग्ने मन छ । सायद चाहना पूरा होला । 


Views: 1