17th July | 2018 | Tuesday | 1:44:36 PM

हैट, मेरी बास्सै मेरो टर्निङ प्वाइन्ट हो

रमा लुइँटेल   POSTED ON : Saturday, 07 July, 2018 (1:53:04 PM)

हैट, मेरी बास्सै मेरो टर्निङ प्वाइन्ट हो

बुद्धि तामाङ कलाकार । हास्य टेली शृंखला ‘मेरी बास्सै’ मा वाक्यै पिच्छे ‘हैट’ भन्ने थेगो राखेर संवाद बोलेका बुद्धि अभिनय कला र संवादशैली दुवैले निकै चर्चामा आए । वर्षा र बुद्धिले अभिनय गरेको चलचित्र ‘भैरे’ आउँदो साउनको पहिलो साता रिलिज हुँदैछ । रिलिज हुन लागेको चलचित्र र चलचित्र कर्मलगायतका विषयमा रमा लुइँटेलले कुराकानी गरेकी छिन् । 

काठमाडौंमा तपाईं मुश्किलले भेटिनुहुन्छ ? कहिले मुस्ताड कहिले जोमसोम त कहिले कता, काठमाडौं कहिले आउनु भएको ? 

म काठमाडौं हिजोमात्रै आइपुगेको हुँ । पूर्वाञ्चल नाट्य यात्राको क्रममा थिएँ । त्यो सकेर यता लागेँ । हाम्रा कार्य क्षेत्र नै त्यस्तै एकै ठाउँमा बसेर त के हुन्थ्यो र ¤ ( हाँस्दै ) । 

अहिलेको व्यस्तता ? 

फिल्मकै सुटिङमा व्यस्त छु । नाटक पनि मेरो कार्य क्षेत्र भएकाले यसलाई  पनि केही समय छुट्याएको छु । पूर्वाञ्चलको यात्रा अन्तर्गतको नै हो । 

यो वर्ष कति वटा चलचित्रमा काम गर्दै हुनु हुन्छ ? 

दुईवटा चलचित्रको त रिलिजको समय नै तोकिसकिएको छ । अन्यको काम हुँदैछ । यो वर्ष मैले धेरै चलचित्रमा काम गरेको छु । धेरै वटा चलचित्र बनाउँदा कुनै नै कुनै टप लिस्टमा पर्छन् । टप लिस्टमा परेको चलचित्रले मलाई अर्को वर्ष काम गर्न वातावरण बनाउँछ । सहज हुन्छ । त्यो सोचका साथ धेरैवटा चलचित्रमा हात हालेको हुँ ।  

धेरैवटामा हात हाल्नुको अर्थ कमाइ पनि त हो नि, होइन र ?

म पैसाको लागि दौडेको होइन । धेरै वटा चलचित्रमा हात हाल्दा एउटा न एउटाले जोगाउँछ भन्ने हो । मूल कारण यही नै हो । नेपालको चलचित्र उद्योगमा अझै पैसा कमाउने अवस्थामा आइपुगेको छैन । पैसा मात्रै सबै कुरा पनि त होइन नि ¤ आफ्नो छवि, इज्जत, दर्शकको माया सबैभन्दा महŒवपूर्ण हो । दर्शकको माया पाउनु, पाएको माया जोगाउन सक्नु सबैभन्दा ठूलो कुरा हो । त्यो सबैभन्दा ठूला सम्पत्ति हो । 

‘मेरी बास्सै’ मा ‘हैट’ भनेपछि निकै चर्चामा आउनु भयो होइन ¤ 

आजभन्दा ११ वर्ष पनि नाटकमा मैले ‘हैट’ शब्द प्रयोग गरेको हुँ । कवरटी, मेरी बास्सै र छक्का पञ्जामा मैले ‘हैट’ प्रयोग गरेँ । यी तीन ठाउँमा फरक तरिकाले प्रयोग गरेको छु । हैटका कारण नै चर्चामा बढी आएको हुँ, निकै खुशी लाग्छ । मलाई बाटोमा दर्शक देख्दा ‘हैट हैट’ भन्नुहुन्छ निकै खुशी लाग्छ । 

मेरी बास्सैमा देखिनु भएको छैन नि ¤ किन होला ? 

कार्य व्यस्ताका कारण म मेरी बास्सैमा देखिन नसकेको हो । कलाकारले भूमिका र कथाको सारको आधारमा फिल्म खेल्ने नखेल्ने निर्णय गर्ने हो । यी कारण पनि हुन सक्छन् । जुन क्षेत्रमा लाग्ने हो, त्यसमै दत्त चित्त भएर लाग्न खोजेको हुँ अन्य कारण होइन । मैले अघि पनि भनिसकेँ, यो वर्ष मैले धेरै फिल्ममा हात हालेको छु, त्यसैले केही समय फिल्म क्षेत्रमा नै फोकस हुन खोजेको हुँ । 

मेरी बास्सैको टिमसँग तपाईंको कुरा मिलेन भन्ने पनि सुनिन्छ नि ¤ वास्तविक कुरा के हो बताइदिनुस् न । 

त्यस्तो होइन, मेरो व्यस्ताका कारण मैले मेरी बास्सैमा समय दिन नसकेको हुँ । मेरी बास्सै मेरो जीवनको टर्निङ प्वाइन्ट हो । त्यसलाई कसरी मन नपरेको भनौँ । 

अब मेरी बास्सैमा कहिले देखिने त ? 

यो वर्षको टारगेट फिल्म नै हो । तपाईंहरूलाई थाहा छ, ३५ दिनमा सुटिङ सक्ने टारगेट राखेका हुन्छौँ तर ६५ दिनमा पनि सुटिङ सकिँदैन । मेरा लागि सिनेमा, नाटक र सिरियल उत्तिकै महŒवपूर्ण हो । समय मिलेपछि मेरी बास्सैमार्फत् दर्शकसँग म भेटघाट गर्छु । 

मट्टीमाला चलचित्रको बारेमा बताइदिनुस् न ? 

मट्टीमाला अन्य आम चलचित्रजस्तै हो । सामान्य चलचित्रको रूपमा लिएको छु । यो चलचित्रमा एउटा आइटम गीत छ । यो र चंगा प्रदर्शन भइसकेका चलचित्र हुन् । भैरे साउनको पहिलो साता प्रदर्शन हुन्छ । 

भविष्यको योजना के छ ? 

दर्शकको मन र मुटुमा बस्नसक्ने गरी काम गर्ने हो । यही योजनामा टेकेर अघि बढ्छु । अरू कुरा समयले मिलाउँदै लैजानेछ ।