19th November | 2018 | Monday | 10:54:30 AM

‘शास्त्रमा नारी–पुरुष समान’

हिमालय टाइम्स   POSTED ON : Wednesday, 12 September, 2018 (3:20:16 PM)

‘शास्त्रमा नारी–पुरुष समान’

नेपाली हिन्दू महिलाको चाड तीज मनाउने शैली बढ्दो शिक्षा र चेतनास्तरसँगै बद्लिँदै गएको छ । तुलनात्मक रूपमा महिलामा स्वतन्त्रताको दायरा पनि फराकिलो बन्दै गएको छ । सांस्कृतिक, धार्मिक यो पर्व पारिवारिक सद्भाव बढाउन महŒवपूर्ण मानिन्छ । महिलाहरू भेला भएर सामूहिकरूपमा तीजको दर खाने चलन बढ्दै छ । यसले तीजको धार्मिक सांस्कृतिक महŒव ओझेलमा पर्न थालेको भन्ने टिप्पणी पनि हुन थालेको छ । देवादिदेव महादेव भगवान् शिवको आराधना गरिने यो पर्वको धार्मिक, सांस्कृतिक महŒवका बारेमा संस्कृतिविद् प्रा.डा. विणा पौड्यालसँग रमा लुइँटेलले गरेको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ । 

तीजको धार्मिक सांस्कृतिक महŒव के छ ? 

तीज धार्मिक, सांस्कृतिक मूल्यमान्यता र पारिवारिक सद्भावसँग जोडिएको पर्व हो । तीज पर्वको धार्मिक महŒवसँगसँगै पारिवारिक प्रेम र आत्मियतासँग बढी सम्बन्धित छ । तीजमा माइती जाने, दर खाने परम्पराले तीजको महŒवलाई पारिवारिक सम्बन्ध र आत्मीयतासँग जोड्छ । सञ्चार र प्रविधिमा भएको विकासका कारण माइतीसँग कुरा गर्न, त्यहाँ जान अहिले तीज नै कुर्नु पर्दैन । अलिक पुरानो समय विचार गर्ने हो भने वर्षमा एकपटक बल्लतल्ल महिला माइती जान पाउँथे । त्यो समय तीज नै हुन्थ्यो । मनका पीडा, दुःख समस्या र अप्ठ्याराहरू माइतीमा पोख्थे । विरह सुनाउँथे र पीडा कम भएको महसुस गर्थे । अहिले समय बदलिएको छ । मान्छेको सोच्ने तरिका, जीवनशैलीलगायत धेरै कुरा परिवर्तन भएको छ । त्यसैले महिलाहरू समूहमा तीज मनाउन थाले । संस्थागतरूपमा मनाउन थालिएको छ । यसरी मनाउनु नराम्रो होइन । यसरी तीज मनाउनेले आफ्नो दायरा र क्षमता बिर्सनु हुँदैन । त्यसले आर्थिक सामाजिक क्षेत्रमा पु¥याउने असरतर्फ सजग हुनुपर्छ । 

तीजको सामूहिक दरको नयाँ चलनले विकृति बढायो भन्छन् नि ? 

केही हदसम्म विकृति बढेको हो, होइन भन्दिनँ । त्यहाँ देखिएको आडम्बर र देखावटी कुराले चाडको मर्म बिर्सेको हो कि जस्तो पनि लाग्छ । भेटभाट गर्नु, रमाइलो गर्नु नराम्रो होइन तर यो पर्व मनाउँदा दायरा र क्षमता बिर्सनु हुँदैन । विकृति भिœयाउने क्रियाकलाप भए भने चाडपर्वको अस्तित्व र महŒव नै ओझेलमा पर्नसक्छ । त्यसतर्फ ध्यान दिनुपर्छ । 

तीजको परम्पराबाट के सिक्ने कुरा के हो ?

तीजमा भगवान शिवको पूजा आराधना गरिन्छ । शिवको उपासना गरिन्छ । हिन्दू धर्मअनुसार शिवलाई संरक्षकका रूपमा व्याख्या गरिएको छ । भगवान् शिवबाट हामीले परोपकारी गुण सिक्नुपर्छ । उहाँको सम्मान गर्ने हो भने, उहाँको भक्ति गर्ने हो, उहाँका उपासकहरूले आफूमा परोपकारी गुण विकास गर्नुपर्छ । 

थप प्रष्ट पारिदिनुस् न यो त्यो प्रसंग  ?

पौराणिक कालमा देवता र दानव दुवै मिलेर समुद्र मन्थन गरेका थिए । समुद्र मन्थन गर्दा धेरै कुरा बाहिर निस्किए । कालकूट विष पनि निस्किएको थियो । त्यो कालकूटले ब्रहृमाण्डका प्राणीको अहित गर्ने देखेर भगवान् शिवले त्यो विष आफैंले ग्रहण गर्ने बताए । यो उनको परोपकारी गुण हो । अन्य प्राणीको सुरक्षाको लागि आफूले विष ग्रहण गरे । हामीले पनि परोपकार गर्न त्यस्तै विष खानुपर्छ भनेको होइन, परोपकार लागि केही त्याग गर्नुपर्छ भन्ने शिक्षा हो । समय, सन्दर्भ र आफ्नो क्षमताअनुसार केही परोपकारी बन्नसके शिवको स्तुति गर्नुको अर्थ रहन्छ । तीजको व्रत बसेको सार्थक हुन्छ । 

तीजको व्रत विवाहिताले श्रीमान्को दीर्घायूका लागि बस्ने भनिन्छ, व्रत बसेर आयू बढ्छ र भन्दै आलोचना पनि हुने गरेको छ नि ?

यी सबै प्रतिकात्मक हुन् । परिवारलाई राम्रो बनाउन त्याग, सम्मान, समर्पणलगायत धेरै कुरा आवश्यक पर्छ । त्याग, समपर्ण महिलाले मात्रै गर्नुपर्छ भन्ने होइन । श्रीमान्–श्रीमती एक रथका दुई पांग्रा हुन्, त्यसैले एकले अर्कालाई सम्मान गर्नुपर्छ । परिवार, गृहस्थी राम्रो बनाउन समर्पण आवश्यक हुन्छ । शास्त्रले, दर्शनले यो विषयलाई यसरी व्याख्या गर्छ । शस्त्रले नारी र पुरुषलाई बराबर मानेको छ । कर्मकाण्डले धर्म, संस्कृति र परम्पराहरूलाई पुरुषप्रधान दृष्टिबाट व्याख्या गरेको छ । त्यो व्याख्यालाई हाम्रो समाजले अक्षरशः स्वीकार गरेको छ । त्यस्तो हुनुमा समाज कस्तो छ भन्ने कुराले अर्थ राख्छ । यो समाज पुरुषप्रधान भएकाले, पितृसत्तात्मक सोंच हावी भएकाले सबै विषयलाई पित्तृसत्ताको आँखाबाट हेरिएको हो । 


Views: 41