17th October | 2018 | Wednesday | 10:55:55 PM

‘हिंसा गर्ने र देश टुक्र्याउँछु भन्नेलाई कारबाही गर्न अदालतले रोक्यो’

‘हिंसा गर्ने र देश टुक्र्याउँछु भन्नेलाई कारबाही गर्न अदालतले रोक्यो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा मच्चाउने र देश टुक्र्याउनुपर्छ भन्नेलाई अदालतका कारण कारबाही गर्न नसकिएको बताएका छन् । संयुक्त राष्ट्रसंघको ७३ औं महासभालाई सम्बोधन गर्न अमेरिकामा रहेका प्रधानमन्त्री ओलीले अमेरिकामा कार्यरत नेपाली पत्रकार सूर्य थापासँग ‘यु स्टार्ट अगेन’ का लागि लिएको अन्तर्वार्ताका क्रममा अदालतलाई बाधकका रूपमा प्रस्तुत गरेका हुन् । 

प्रधानमन्त्रीलाई सोधिएको एउटा प्रश्न यस्तो छ :

प्रधानमन्त्रीज्यू, हामी विदेशमा बस्ने नेपालीहरू देशलाई असाध्यै माया गर्छौं, तर देशमा रहेर नेपाललाई टुक्र्याउनुपर्छ भनिरहेकाहरूलाई तपाईं किन कारबाही गर्नुहुन्न ?

प्रधानमन्त्री ओलीको जवाफ छ :

देशमा हिंसा मच्चाउनुपर्छ भन्ने कुरा, देश टुक्र्याउनुपर्छ भन्ने कुरा खुलेआम गर्दै हिँड्ने तŒवहरू छन् । यसमा म अलिक राम्ररी नै हेर्दैछु, मसिनो गरी । यसका पछाडि क–कसको हात छ, के के छ । तर जे होस्, सीधै देश टुक्र्याउँछु भन्नेलाई कुनै कानुनी कारबाही गर्न, गिरफ्तार गर्न पनि पाइँदैन, थुन्न पनि पाइँदैन ।

प्रधानमन्त्रीलाई सोधिएको पुरक प्रश्न छ :

कसले रोकेको छ तपाईंलाई ? 

प्रधानमन्त्रीको जवाफ छ : 

अदालतले नै रोकिराखेको छ । छोडिराखेको छ । हिंंसा गर्छु भन्नेले अदालतको प्रांगणमा भन्छ, हामीसँग बन्दुक छ, हामीलाई थुन्न सक्दैन । यो सत्ता ढाल्छौं । आदि इत्यादि अदालतको प्रांगणमा भन्छ । तर सरकारले समाउन सक्दैन, अदालतले के भन्छ भने छोड् भन्दाभन्दै समातेकोमा चेतावनी दिन्छौं सरकारलाई भन्छ । मान्छेहरू मारिएका छन् । चुनाव बिथोल्न खोजिएको छ । विस्फोट गराइएको छ । गाडीसमेत मान्छेहरू अंगभंग भएका छन् । कोही मारिएका छन् । कसैका खुट्टा गएका छन् । कसैका हात गएका छन् । यस्तो अवस्थामा कुनै पनि मुद्दा मुद्दै होइन भन्ने, यस्तो खालको अवस्था छ । यो कहाँनेरि के नमिलेको हो, हामीले पनि अलिकति बुझेका छैनौं । यो राष्ट्रका सबै अंग र निकायको चासोको विषय हुनुपर्ने हो । तर, कतिपय यस्ता अंगहरू, निकायहरू फरार गराउनलाई अदालतको ढोकामा पुग्छन् । यस्ता अस्वाभाविक लाग्ने खालका कुराहरू हुने गरेका छन् ।

तर यसमा म के भन्न चाहन्छु भने अन्ततोगत्वा जनताले निर्वाचनका माध्यमबाट सरकार छानेको, मैले सबैका अगाडि नम्र निवेदन गर्नुपर्छ, यस देशको सार्वभौमसत्ता यस देशको भौगोलिक अखण्डता यस देशको स्वाधीनता, यस देशको हित र स्वाभिमानको रक्षा गर्नका लागि हो, त्यो यो सरकारले गर्छ । फाइनल कुरा । अर्को कुरा, देशलाई फेरि अशान्तितर्फ धकेल्ने प्रयासहरू यो सरकारले हुन दिँदैन, रोक्छ । अन्तिम निष्कर्ष त्यो हो । हामी जे पनि स्वीकार्छौं, जे पनि मान्छौं भन्ने कुरा होइन ।  

प्रधानमन्त्रीले नेपाल टेलिकममा दिगम्बर झालाई पुनर्नियुक्ति दिएको प्रसंगमा सरकारको निर्णय न्यायोचित भएको भन्दै बचाउ गर्दै भनेका छन् । 

अब जहाँसम्म केही मान्छेहरूको नियुक्ति छ, ती मान्छेहरू अदालत गएर फिर्ता भएर आएका छन् । अदालत गएर सबै फिर्ता भएर आए । कसैले चाहिँ एकजनाले भन्यो, म अदालत गएर सरकारसँग झमेला गरेर जागिर खान्नँ । त्यसकारणले मात्रै ऊ आएन । अथवा अदालत गइसकेर पनि उसले फिर्ता लियो । हुन त अदालत जानेवित्तिकै म पुनस्र्थापित भइहाल्छु तर मैले यो झैझगडाको बाटो छाडिदिएँ भन्यो । अदालत गएपछि त पुनस्र्थापना भइहाल्छ । त्यस्तो अवस्थामा एउटामात्रै मान्छेले सरकारसँग मुद्दा लडेन भनेर उसलाई चाहिँ बाहिर राख्नुपर्ने ? उसलाई क्षमता ठीकै छ, अदालतबाट आउनुपर्ने आएन भने पनि उसलाई अहिले दिँदाखेरि न्यायोचित नै हुन्छ ।

प्रधानमन्त्रीले झा भ्रष्टाचारी हुन् भन्ने पुष्टि नभएको भन्दै उनको बचाउ गरेका छन् । प्रधानमन्त्रीले भनेका छन् :

भ्रष्टाचार पहिले गरेको छ कि छैन, भ्रष्टाचारको आरोप होला । कतै दोषी प्रमाणित भएको थाहा छैन । भ्रष्टाचार अहिले गर्न दिइँदैन । यसो भएर अदालत नगएवापत कोही बाहिर बस्नुपर्ने जस्तो कुरा हुँदैन भन्ने कुरा आउँदाखेरि त्यसलाई मानिएको हो ।

प्रधानमन्त्रीले पप्पु कन्स्ट्रक्सनले काम नगर्दा पनि कारबाही नगरिएको प्रसंगमा विगतका सरकारहरूले नै उसलाई जिम्मेवारी दिएको भनेर पन्छिने प्रयास गरेका छन् । 

यसैगरी आफ्नै पार्टीका नेता माधवकुमार नेपालले केही दिनअघि देश डुब्न लाग्यो भन्दै संसद्मा बोलेको कुराप्रति कटाक्ष गर्दै प्रधानमन्त्रीले भनेका छन्, ‘म नहुनेबित्तिकै अब कसैलाई अलिकति शून्यता भो, छटपटी भो । म दुईचार दिन संयुक्त राष्ट्र संघतिर आएँ । कतिपय नेताहरूले बोलेको सुनियो, लौन देश डुब्न लाग्यो, कोही त आऊ बचाऊ । म फर्केर गइहाल्छु, त्यसकारण यो ठूलो समस्याको कुरो होइन ।’ 

उनले थप कटाक्ष गर्दै भनेका छन्, ‘केही मान्छेहरूमा अलिकति कुण्ठा देखिन्छ । त्यो कुण्ठा पोख्नका लागि विभिन्न प्रकारका कुराहरू गरेका छन् ।’


Views: 102