19th November | 2018 | Monday | 2:47:44 AM

अहिलेसम्म गाउँ गएकी छैन-प्रमिला राई, गायिका

हिमालय टाइम्स   POSTED ON : Sunday, 28 October, 2018 (6:36:12 PM)

अहिलेसम्म गाउँ गएकी छैन-प्रमिला राई, गायिका

नेपालमा निकै चर्चामा आएको अन्तर्राष्ट्रिय गायन रियालिटी शो नेपाल आइडलको पहिलो सिजनमा उत्कृष्ट सातसम्म आएर बाहिरिएकी प्रतियोगि  हुन् प्रमिला राई । काठमाडौंमै घर भएकी प्रमिला नेपाल आइडलमा आउनुपूर्व एक बैंकमा काम गर्छिन् । अलिअलि गीत गुनगुनाउने प्रमिलाले गायिका बन्ने लक्ष्य लिएकी थिइनन् । 

जब नेपाल आइडलले अवसर दियो र अडिसनबाट पास हुँदै गइन् उनले आफ्नो प्रतिभालाई बाहिर ल्याउँदै गायिका बन्ने सपना देखिन् र अन्ततः अहिले गायिका बनेर सांगीतिक यात्राकै लागि देश विदेश घुमेकी छन् । प्रमिलाले अहिलेसम्म दुईवटा सोलो गीत गाएकी छन् भने अन्य केही संयुक्त गीत पनि गाएकी छन् । 

पहिलो ‘कान्छा’ बोलको गीतले राम्रो सफलता पाएसँगै केही दिनअघि मात्रै ‘जाउँ न’बोलको दोस्रो गीत सार्वजनिक गरेकी छन् । जसमा आफ्नो गाउँमा घुम्न जाने कुरा गरिएको छ । यसैबीच उनै प्रमिलासँग उनको सांगीतिक यात्रा तथा भर्खर सार्वजनिक भएको गीतको विषयमा हिमालय टाइम्सका गोपिकृष्ण चापागाईंले केही प्रश्नोत्तर गरेका छन् । 

दोस्रो गीतबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ? 

गीत सार्वजनिक भएको धेरै दिन त भएको छैन तर प्रतिक्रिया निकै राम्रो पाइरहेकी छु । पहिलो गीत र अहिलेको गीत केही फरक छ त्यसैले पनि दर्शकले मन पराइदिनुभएको छ । गीत सार्वजनिक भएपछि जतिठाउँमा जान्छु गीतको राम्रो प्रतिक्रिया दिनुभएको छ, खुशी छु ।

अहिलेको गीतमा गाउँघर अथवा टिपिकल कुराहरूलाई जोडदिनुभएछ नि ! कारण ? 

पहिलो गीत केही रक स्टाइलको थियो । अब फेरि त्यही जनराको गर्नुभन्दा केही फरक गरौं भनेर मौलिकता झल्किने गीत गाएकी हुँ । गीतमा गाउँघरमा घुम्न जाने कुरा छ, मलाई यस्तो घुम्नेकुरामा निकै मन पर्छ ।

काठमाडौंमै हुर्केको मान्छे गाउँघरमा कत्तिको जानुहुन्छ ? 

म अहिलेसम्म गाउँ पुगेकै छैनभन्दा हुन्छ । सानोछँदा पढाइ भयो, घुम्न जाने भन्ने हुन्थेनँ, आफ्ना आफन्त सबै यतै हुनुहुन्छ त्यसैले माहोल मिलेन र अहिले व्यस्त भएकाले जान पाएकी छैन । तर डाँडाकाँडा, हरियाली घुम्न निकै मनपर्छ । 


नेपाल आइडलभन्दा अघि बैंकमा जागिर खानुहुन्थ्यो अब त पूर्णरूपमा जागिर छाड्नुभएको होला नि !

नेपाल आइडल सकिने समयसम्म बिदामै थिएँ र धेरै लामो समय बिदा लिनुपर्ने भएकाले मैले समय दिन नसक्ने भएँ । अहिले पनि गीतसंगीतका लागि समय दिनुपर्ने त्यसैगरी सांगीतिक यात्राका लागि देश विदेश गरिरहँदा जागिरमा समय दिन सकेकी छैन । पूर्णरूपमा छाडेको होइन, पछि जुन समयमा आए पनि हुन्छ भनेर बैंकले व्यवस्था मिलाइदिएको छ ।


आफ्ना गीतमा मोडलिङ आफंै गर्ने हो ? 

मेरो पहिलो गीतमा मोडलिङ गरेकी थिइन् । धेरैले आफंै मोडलिङ गर भन्नुभयो र गरेपछि राम्रो प्रतिक्रिया आएको कारणले निरन्तरता दिन खोजेकी हुँ । दर्शकको चाहाना बमोजिम नै गरेकी हुँ र भोलिको दिनमा आफ्नो गीतमा आफंै अवश्य हुनेछु ।

चलचित्रमा अभिनय गर्ने सोंचमा हुनुहुन्छ कि ? 

चलचित्रमा अभिनय गर्नु साधारण कुरा होइन, धेरै कुरा सिक्नु आवश्यक छ । गीतमा मोडलिङ गर्नु र अभिनय गर्नु धेरै फरक कुरा हो, म्युजिक भिडियोमा हाउबाउले हुन्छ तर अभिनयका लागि धेरै कुरा सिक्नु जरुरी हुन्छ त्यसैले अहिले नै चलचित्रमा अभिनय गर्दिन र भोलिको दिनमा अफर आउने र मेरो इच्छा अनि सिकाइ सबै मिल्यो भने गर्नेछु ।

नेपाल आइडलमा नआएको भए गायिका बन्नुहुन्थ्यो ? 

मलाई नेपाल आइडलले ठूलो अवसर दिएको हो । मैले गीत केही मात्र गाउँने गरेकी थिएँ, तर गायिका नै बन्छु भन्ने लक्ष्य बोकेकी थिइन् त्यसैले पनि यदि नेपाल आइडलमा नआएको भए म अहिले जागिर खाएर बसेकी हुन्थेँ । बैंकको जागिरमै हुन्थेँ ।


Views: 103