19th September | 2019 | Thursday | 2:24:03 PM

हस्तकलामा पुस्तान्तरण चुनौतीपूर्ण : धर्मराज शाक्य, अध्यक्ष, नेपाल हस्तकला महासंघ

हिमालय टाइम्स   POSTED ON : पुष २७, २०७५ (१२:०५ PM)

हस्तकलामा पुस्तान्तरण चुनौतीपूर्ण : धर्मराज शाक्य, अध्यक्ष,  नेपाल हस्तकला महासंघ

स्वदेशी श्रम, सीप र कच्चापदार्थमा आधारित नेपालको हस्तकला व्यवसायले रोजगारी र स्वरोजगारी सिर्जनाका साथै निर्यात व्यापारमासमेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ । नेपाली विविध कला, संस्कृति झल्काउने मौलिक हस्तकला निर्यातले व्यापारघाटा न्यूनीकरणमा मात्रै नभई नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने काम पनि गरेको छ । त्यसो त नेपाली हस्तकलाले लामो इतिहास बोकेको विविध समस्याका कारण अपेक्षाअनुसार उत्पादन र निर्यात भने बढ्न सकेको छैन । विगत लामो समयदेखि हस्तकलाको निर्यात स्थिर देखिनु चिन्ताको विषय हो । पुँजी, प्रविधि, दक्ष जनशक्ति र प्रवद्र्धनमैत्री नीतिको अभावमा नेपाली हस्तकला अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न नसकेकै कारण निर्यात बढ्न नसकेको बताइएको छ । पुँजी र प्रविधिको भरपुर उपयोग गरी छिमेकी मुलुक भारत र चीनले सस्तोमै हस्तकला उत्पादन गरी निर्यात गर्दै आएका छन् । 

उत्पादन लागत बढी भएकाले नेपाली हस्तकला महँगो हुने गरेकाले छिमेकी मुलुकसँग प्रतिस्पर्धा गर्न नसक्दा निर्यात घट्न गएको हो । प्रस्तुत छ, यिनै विविध विषयमा नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यसँग हिमालय टाइम्सका लेखनाथ पोखरेलले गरेको कुराकानी । 

हस्तकला व्यवसायको वर्तमान अवस्था कस्तो छ ?

विगत वर्षको तुलनामा नेपालको हस्तकला व्यवसाय निकै राम्रो भएको छ । उत्पादन बढ्नुका साथै बजारसमेत विस्तार हुँदै गएको छ । तत्कालीन समयमा हस्तकला सांस्कृतिक रूपमा मात्रै उत्पादन र उपयोग हुने गथ्र्यो, हस्तकलाको बिक्रीवितरण हुँदैनथ्यो, जसका कारण यो परम्परागत पेशा नै लोप हुने अवस्थामा पुगेको थियो । तर अहिले हस्तकलाले काठमाडौं उपत्याकामात्रै नभई देशैभर व्यावसायिकरूप लिइसकेको छ, नेपाली हस्तकलाले आयआर्जन, स्वरोजगारी र रोजगारी सिर्जनामा महŒवपूर्ण भूमिका खेलिरहेको छ । खासगरी हस्तकला महासंघले परम्परागत हस्तकला खरिद गर्ने, परम्परागतरूपमा हस्तकला व्यवसायलाई अघि बढाइरहेका व्यवसायीलाई गुणस्तरीय उत्पादनका लागि तालिम दिन थालेपछि यसले विस्तारै व्यावसायिकरूप लिन थालेको हो । हालसम्म आइपुग्दा नेपालबाट निर्यात हुने प्रमुख वस्तुहरूमा हस्तकलाले पनि महत्वपूर्ण स्थान ओगट्दै आएको छ ।

सबै जिल्लामा हस्तकला व्यवसाय विस्तार भएको छ ?

विगतमा काठमाडौं उपत्याकामा मात्रै सीमित रहेको हस्तकला व्यवसाय हाल नेपालका सबै जिल्लामा विस्तार भइसकेको छ । पहिले काठमाडौं उपत्याकाका नेवार समुदायलेमात्रै उत्पादन गर्ने हस्तकला अहिले बाहुन, क्षेत्री, गुरुङलगायत सबै जात जाति लागेका छन् । नेपाल विविध जात, जाति र कला संस्कृति भएको मुलुकको हो, हरेक जातिले आफ्नै मौलिक हस्तकला उत्पादन गर्दै आएका छन् । वास्तवमा हस्तकला उत्पादन नहुने कुनै जिल्ला नै छैनन्, हरेक जिल्लामा हस्तकलाका आफ्नै कच्चा पदार्थ उपलब्ध रहेकाले हस्तकला निर्माण र बिक्रीवितरणको प्रचुर सम्भावना रहेको छ । तथापि कतिपय दुर्गम जिल्लामा अझै व्यावसायिकरूप लिन सकिरहेको अवस्था भने छैन । ती जिल्लामा पनि व्यापार मेलामार्फत हस्तकलाको प्रवद्र्धनको काम महासंघले गरिरहेको छ ।

कसरी प्रवद्र्धन गरेको छ ?

महासंघले हरेक वर्ष काठमाडौंमा आयोजना हुने हस्तकला व्यापारमेला गर्दै आएको छ । यस्ता मेलामा महासंघले आफ्ना जिल्ला संघहरूलाई निःशुल्करूपमा स्टल उपलब्ध गराउने गरेको छ । संघले आफ्नो जिल्लामा उत्पादित हस्तकला सामग्री संकलन गरेर मेलामा ल्याई प्रदर्शन तथा बिक्री गर्ने गर्छ, मेलामा स्थानीयस्तरमा निर्मित हस्तकला सामग्रीको धेरै अर्डरसमेत आउने गरेको छ । जसबाट केही रूपमा स्थानीय हस्तकलाको प्रवद्र्धनमा टेवा पुगेको छ ।

हस्तकला निर्यातको अवस्था चाहिँ कस्तो छ ?

हस्तकलाको उत्पादन र निर्यात दुवै बढेको छ । वार्षिक ६ अर्ब रुपैयाँभन्दा बढीको नेपाली हस्तकला आधिकारिकरूपमै निर्यात हुँदै आएको छ भने अन्य स्रोतबाट सोही बराबरको हस्तकला बाहिर गइरहेको हाम्रो अनुमान छ । यस अर्थमा वार्षिकरूपमा झण्डै १२ अर्ब रुपैयाँबराबरको हस्तकला निर्यात भइरहेको छ तर चालु आर्थिक वर्ष २०७५÷७६ मा भने करिब २ प्रतिशतले निर्यात घट्न गएको छ । डलरको भाउ, लेवरको ज्याला र बजार भाउ पनि बढ्न गएका कारण अर्डरमा कमी आएको हो । 

अपेक्षितरूपमा हस्तकलाको निर्यात बढ्न नसक्नुका कारण ?

यसमा दुई÷तीजवटा कारण रहेका छन् । हस्तकलाको प्रवद्र्धनका लागि सरकारले खासै सहयोग गरेको छैन, प्रवद्र्धन नीति नै छैन, यसपटक भने सरकारले निर्यातमा २ देखि ५ प्रतिशत अनुदानको व्यवस्था गरेको छ, जुन हामीले विगत १० वर्षदेखि उठाउँदै आएको विषय थियो । अर्को कुरा, हस्तकलाको कच्चा पदार्थ सहजरूपमा उपलब्ध हुन सकेको छैन, सो सम्बन्धी नीति नहुँदा यस्तो समस्या आएको हो । निर्यात प्रक्रिया छिटो छरितो नहुँदा विदेशी व्यापारीले अर्डर क्यान्सिल गर्ने समस्या छ । त्यसैगरी हस्तकलमा पुँजी र प्रविधिको अभावमा नेपाली हस्तकला मूल्यमा प्रतिस्पर्धी बन्न सकेको छैन, बैंक ब्याजदर चर्को छ । यसका बाबजुद पनि छिमेकी मुलुक चीन र भारतसँग हामीले प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ ।

विगतमा दिएको निर्यात अनुदान चाहिँ व्यवसायीले कत्तिको उपयोग गरेका छन् ? विगतमा यसबाट व्यवसायीले खासै लाभ लिन सकेनन्, प्रक्रियागत जटिलताका कारण पनि प्रभावकारी देखिएन । अहिले आएको नीतिले भने आशावादी बनाएको छ । अहिलेको नीति निर्माण गर्दा अर्थ मन्त्रालयले निजी क्षेत्रलाई पनि सहभागी गराएकाले राम्रो गृहकार्य भएको छ । नयाँ नीतिले निर्यात कम्पनीका लागि निर्यात अनुदानको व्यवस्था गरेको छ ।

नयाँ नीतिले हस्तकला उत्पादन र निर्यात कति वृद्धि होला ?

निर्यात प्रवद्र्धन नीतिको प्रभावकारी कार्यान्वयन, कच्चा पदार्थको सहज आपूर्ति, प्रविधिमा सहयोग, दक्ष जनशक्ति र भन्सार सहजीकरणलगायत व्यवस्था भएमा २० देखि ५० प्रतिशतसम्मको वृद्धि हुनसक्छ । विगतमा सरकारको सहयोगविना पनि हस्तकला व्यवसाय टिकिरहनसक्नु नै ठूलो कुरा हो जस्तो लाग्छ । 

हस्तकलामा दक्ष जनशक्तिको अवस्था कस्तो छ ? 

हस्तकला क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ । वास्तवमा हस्तकलालाई परम्परागत पेशकर्मीले नै टिकाइरहेको अवस्था छ । हस्तकला क्षेत्रको जनशक्ति उत्पादन गर्ने सरकारीस्तरको कुनै निकाय नै छैन, निजी क्षेत्रस्तरमा पनि हस्तकलासम्बन्धी स्कुल कलेज छैनन् । हाम्रो महासंघ र महासंघअन्तर्गतका केही संघसंस्थाले सञ्चालन गर्ने तालिम कार्यक्रमबाट केही जनशक्ति उत्पादन हुने गरेको छ र सोही जनशक्तिबाट यो क्षेत्र टिकिरहेको छ । 

तालिममा आकर्षण चाहिँ कस्तो छ ?

हस्तकलाका तालिममा आकर्षण छ किनभने सरकारले सञ्चालन गर्ने तालिमभन्दा हामीले दिने तालिम फरक खालको छ । काठमाडौं उपत्याका साथै जिल्लाहरूमा पनि तालिम सञ्चालन गर्छौं र तालिमपछि जवको पनि ग्यारेन्टी गर्छौं । तालिमपछि विभिन्न उद्योग उनीलाई लिंकअप गराइदिन्छौं, उनीहरू अरूको उद्योगमा काम गर्न चाहे पनि गर्न सक्छन्, आफंै स्वरोजगार बन्न सक्छन् । त्यस्तै महिलाहरूलाई नै केन्द्रित गरेर महिला उद्यमशीलता विकासका लागि हामी अन्तर्राष्ट्रियस्तरको व्यापारमेला पनि गर्ने गरेका छौं ।

स्वदेशी जनशक्तिले धानेको छ कि बाहिरबाट ल्याउनुपरेको छ ?

हस्तकला भनेको देशको माौलिक कला भएकाले नेपाली कालीगढ नै प्रयोग गर्नुपर्ने हुन्छ । हालसम्म नेपाली जनशक्तिबाटै धानिएको छ । कच्चा पदार्थ नेपालकै प्रयोग भइरहेको छ । बाहिरको कालीगढ प्रयोग गर्दा आफ्नो देशको मौलिकता गुम्ने भएकाले सकेसम्म हस्तकलामा स्वेदशी कालीगढकै प्रयोग गर्नुपर्ने हुन्छ ।

यो व्यवसायमा पुस्तान्तरणको अवस्था कस्तो छ ? 

पुस्तान्तरणको भने डरलाग्दो अवस्था रहेको छ । विगतमा बाबुले छोरालाई काम सिकाउँदै जाने क्रमका यो व्यवसाय अघि बढेको थियो । तत्कालीन समयमा सीपको प्रमाणपत्रको आवश्यकता थिएन तर अब एकेडेमिकरूपमा अघि बढ्नुपर्ने अवस्था छ । कामसँगै सीपको प्रमाणपत्र पनि आवश्यक भएकाले त्यसका लागि हामीले सरकारसँग लविङ गरिरहेका छौं, सीप त हामी दिन्छौं तर प्रमाणपत्र दिन सकिएको छैन । त्यसैले नेपाली हस्तकला व्यवसायीको परम्परागत सीपका आधारमा उनीहरूलाई सरकारले नै प्रमाणपत्र उपलब्ध गराउन आग्रह गर्दै आएका छौं । अन्यथा यो पेशा नै लोप हुनसक्छ, नयाँ पुस्ता यसमा इन्टे«ष्ट नै छैन, बाबुको पेशालाई छोरा निरन्तरता दिन चाहँदैन । बाबुआमाले पनि छोराछोरीलाई यसमा लगाउन चाहँदैनन्, किनभने आफूल दुःख पाएकाले छोराछोरीलाई पनि किने दुःख दिने भनेर छोराछोरीलाई डाक्टर, इन्जिनियर पढाउने, विदेश पढाउने परिपाटी देखिएको छ । यसबाट पुस्तान्तरणमा ठूलो धक्का लागेको छ । पुस्तान्तरणमार्फत हस्तकला व्यवसायको प्रवद्र्धनका लागि हस्तकला नीति आवश्यक छ । महासंघले हस्तकला विकास नीतिको मस्यौदा तयार गरेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाएको भए पनि त्यत्तिकै थन्किएर रहेको छ । महासंघले तत्कालीन मन्त्री नवीन्द्रराज जोशी नीतिको मस्यौदा बुझाएको थियो, अहिलेका उद्योगमन्त्रीलाई पनि नीतिकाबारेमा जानकारी गराउने तयारीमा छौं । 

हस्तकला व्यापारमेला कत्तिको उपलब्धिमूलक छ ?

व्यापार मेलाले हस्तकलाको प्रवद्र्धनमा महŒवपूर्ण भूमिका खेलेको छ । स्वदेश तथा विदेशमा हुने व्यापारमेलाकै कारण हस्तकलाको प्रचारप्रचार र व्यापार विस्तार भएको हो । आन्तरिकरूपमा काठमाडौंमा दुईवटा व्यापारमेला आयोजना गर्ने गरेका छांै भने विदेशमा हस्तकलाको सिंगल कन्टी सो आयोजना गर्ने गरेका छांै । यस वर्ष हङकङ, मलेसिया, चीनलगायत मुलुकमा सिंगल कन्ट्री शो को आयोजना गरेका छौं ।

नेपालमा हस्तकला संग्राहालय छ ?

काठमाडौं उपत्याका नै हस्तकलाको संग्राहालय हो, तथापि संग्राहालय आवश्यक छ । यसमा काठमाडौं महानगरपालिकाले नै पहल गर्नुपर्ने हुन्छ । विभिन्न मुलुकले हृयाण्डिक्राफ्ट काउन्सिलमार्फत हरेक प्रदेशमा हस्तकलाग्राम स्थापना गरेका छन् । नेपाल पनि प्रदेशिकस्वरूपमा गइसकेकाले सातवटै प्रदेशमा हस्तकलाग्राम स्थापना गरी हस्तकला संग्राहालयका सञ्चालन गर्न सकिन्छ । 

महासंघका हालसम्मका उपलब्धि ?

महासंघ स्थापनाकालदेखि नै हस्तकलाको संरक्षण, विकास, विस्तार तथा प्रवद्र्धनमा लागिरहेकै छ । मेरो तीन वर्षे कार्यकालमा महŒवपूर्ण काम भएका छन् । अन्तर्राष्ट्रियस्तरको कार्यक्रम वल्र्ड उड डे काठमाडौंमा आयोजना गरिएको थियो, उक्त कार्यक्रमममा उड कार्भिङसँग सम्बन्धित चार सयजनाभन्दा विज्ञकोे सहभागिता थियो । त्यस्तै वल्र्ड क्राफ्ट काउन्सिलको साधारणसभा पनि काठमाडौंमै भएको थियो, जसमा एक सयभन्दा बढी विदेशी हस्तकला विज्ञको सहभागिता थियो । ललितपुर नगरलाई वल्र्ड क्राफ्ट सिटी घोषणा गरिएको छ । सार्क डिजाइन सेन्टरको उद्घाटन भएको छ । त्यस्तै ७० वर्ष नाघेका कलाकारलाई खोजीखोजी सम्मान गरिएको छ । त्यस्तै काठमाडौंलगायत विभिन्न जिल्लामा भूकम्पबाट क्षतिग्रस्त मन्दिरहरूको पुनर्निर्माण र जीर्णोद्धारका लागि महासंघले काठमाडौं महानगरपालिका, पुरातत्व विभागसँगको समन्वयमा कलाकारहरूलाई तालिम आवश्यक जनशक्ति आपूर्तिमासमेत सहयोग पु¥याउँदै आएको छ ।

Views: 319