26th March | 2019 | Tuesday | 1:45:01 AM

अश्विनीको कोरियोग्राफी मोह

हिमालय टाइम्स   POSTED ON : फाल्गुन १५, २०७५ (६:५६ AM)

अश्विनीको कोरियोग्राफी मोह

काठमाडौं । पछिल्लो समय नेपालमा हुने फेशन शो र ब्युटि पेजेन्टमा कोरियोग्राफी गर्नेमध्ये अग्रपक्तिंमा आउने नाम हो अश्विनी कान्त झा । विगत एक दशकदेखि अश्विनीले थुप्रै फेशन शो र ब्युटि पेजेन्टमा कोरियोग्राफी गरिसकेका छन् भने उनी फेशन कोरियोग्राफी र ब्युटि पेजेन्टको कोचको रूपमा पनि काम गर्दै आएका छन् । 

सर्लाहीको कबलासी नगरपालिका घर भएका अश्विनीले भारतका विभिन्न शहरबाट फेशन कोरियोग्राफी र ब्युटि पेजेन्टको बिषयमा ट्रेनिङ लिएर नेपालमा काम सुरु गरे । दशकको सुरुवातका समयमा कोरियोग्राफीकाम गर्दै अनुभव बटुलेका अश्विनीले अहिले वर्षमा पचासभन्दा बढी फेशन शो र ब्युटि पेजेन्टमा कोरियोग्राफीको काम गर्छन् । नेपालमा फेशन शो र ब्युटि पेजेन्ट वर्षमा तीन सयभन्दा बढी आयोजना हुने गर्दछन् । ती मध्ये नाम गनिएका फेशन शोहरूको कोरियोग्राफी उनले नै गर्छन् । 

उनले हालसम्म मिसेस नेपाल इन्टरनेशनल, मिसेस नेपाल टुरिजम, मिसेज नेपाल ग्ल्याम, मिसेस ब्युटिफूल नेपाल, मोडल अफ द इयर, मिस्टर एण्ड मिसेस एसइई अफ द इयर, मिस्टर एण्ड मिस टिन इन्टरनेशनल, मिस्टर एण्ड मिस नेपाल आइकन, मिस्टर एण्ड मिस टिन शेर्पा, मिस्टर एण्ड मिस सुदूरपश्चिमलगायत कोरियोग्राफी गरिसेकका छन् ।

उनै अश्विनीसँगै पछिल्लो समय नेपालको पढ्दो फेशन शो र कोरियोग्राफीको विषयमा हिमालय टाइम्सका गोपिकृष्ण चापागाईंले केही सवालजवाफ गरेका छन् । 

तपार्इंले बुझाइमा कोरियोग्राफी भनेको के हो ? 

मेरो बुझाइमा कुनै पनि फेशन शोमा एक ¥याम्प हुन्छ, त्यसै ¥याम्पमा कहाँबाट कसरी हिँड्ने भनेर लाइन कोर्नु नै कोरियोग्राफी हो । कोरियोग्राफी सँगै स्टेजमा गर्ने अन्य सबैकामको गु्रमिङ गर्ने काम गर्छु । 

फेशन शो र ब्युटि पेजेन्टको फरक के छ ? 

ब्युटि पेजेन्टमा कुनै एक ब्युटिलाई विजेता बनाउने काम गरिन्छ भने फेशन शोमा एक मोडललाई प्रयोग गरिन्छ । ब्युटि पेजेन्टको कुनै पनि प्रतियोगीलाई हेर्नुभयो भने आफू कसरी स्टेजमा राम्रो देखिने भन्नेमा ध्यान हुन्छ, हरेकले स्माइलमा निकै ध्यान दिएको देख्न सक्नुहुन्छ । तर फेशन शोमा मोडलहरूले आफू एक ‘डमी’को रूपमा प्रस्तुत भएर कुनै पनि ‘प्रोडक्ट सेल’ गरिरहेका हुन्छन् । जस्तै कुनै ड्रेस, मोबाइल सेल गर्नुपर्नेछ भने त्यहीअनुसार ‘प्रोडक्स सेल’मा ध्यान दिइरहेका हुन्छन् ।

ब्युटि पेजेन्ट र फेशन शो निकै फरक छ । ब्युटि पेजेन्टमा विजेता भएकाहरूलाई फेशन शोको विषयमा ज्ञान नभएको पनि हुनसक्छ । कोही पनि मोडलिङको माध्यम फेशन शो हुन्छ तर ब्युटि पेजेन्ट नहुनसक्छ ।

कोरियोग्राफर बन्छु भन्ने सोंच कहाँबाट आयो ? 

म सर्लाहीमा जन्मिएको मान्छे, सुरुमा मोडलिङ गर्छु भन्ने लागेको थियो, विस्तारै मोडलिङ गर्न विभिन्न फेशन शोमा भाग लियो भने सजिलो हुन्छ भन्ने थाहा पाएँ, भारतमा केही समय बस्ने क्रममा फेशन शोबारे धेरै बुझ्न पाएँ, आदरणीय सुरुहरूसँग ट्रेनिङ लिने अवसर पाएँ । भारतमा फेशन शोको मार्केट निकै ठूलो देखेँँ र आफ्नै देशमा किन नगर्ने भनेर लागेको हुँ ।

हालसम्म वर्षमा कतिवटा फेशन शोमा कोरियोग्राफी गर्नुभएको छ र एक फेशन शोलाई कति समय दिनुपर्छ ? 

पछिल्लो समय वर्षमा मैले ५० वटा फेशन शोमा समय दिन भ्याएको छु । धेरै लिनुभन्दा थोरै तर राम्रो गर्नुपर्छ भन्ने मनशाय हो । समयको कुरा गर्दा एउटा फेशन शोलाई पचास घण्टा दिँदा पुग्छ भन्ने लाग्छ । दिनको हिसाबमा बीसदेखि २२ दिनसम्ममा कोरियोग्राफीको सबै काम पूरा हुन्छ । 

तपाईंको दिमागी सिर्जनालाई नेपाली आयोजकले पूरा गर्न सकेका छन् ? 

मैले प्रत्येक कोरियोग्राफीमा नयाँनयाँ सोंच दिन सकुँ भन्ने लाग्छ, कसरी फरक र राम्रो बनाउँ भन्ने सोंच हुन्छ । तर सबै फेशन शो आयोजना गर्नेको बजेट ठूलो हुन्छ भन्ने हुँदैन । त्यसैले बजेटको दायराभित्र बसेर काम गर्नुपर्ने हुन्छ । 

तपाईंको राम्रो शो कुन हो भनेर सोध्दा औंलामा गनेर देखाउनु पर्नेहुन्छ, यसको मत्लब यो होइन कि गनिएका बाहेक अन्यमा सिर्जनशील छैन । कहिले आफंैलाई लाग्छ मैले बजेटका कारण यो शो राम्रो गर्न सकिनँ । 

नेपालमा यतिधेरै फेशन शो र ब्युटि पेजेन्ट आयोजना हुने गर्छन्, के आवश्यक छ ? 

जो कोही थोरै जानकारी हुने बित्तिकै फेशन शो र ब्युटि पेजेन्ट आयोजना गरेको देखिन्छ । कतिपयले पैसा कमाउने उद्देश्यमात्र राखेर आउनुहुन्छ त्यस्ता आयोजकले प्रतियोगी दक्ष बनाउन जोड नदिएको पाइन्छ । फेशन शो र ब्युटि पेजेन्ट गरी वर्षमा तीनदेखि चार सय पटक आयोजना हुन्छन् । यी सबै पक्कै आवश्यक छैन । फरक–फरक गर्नुभन्दा बरु आयोजक–आयोजक मिलेर गुणस्तरमा ध्यान दिइयो भने एक दक्ष प्रतियोगी निकाल्न सकिएला । 

एक कार्यक्रमको कोरियोग्राफी अर्कोमा नदोहोरियोस् भन्न के फरक गर्नुहुन्छ ? 

कोरियोग्राफी गर्दा ¥याम्प कसरी आकर्षक बनाउँ भन्ने सधैं सोचिरहेको हुन्छु । कोरियोग्राफी शैली एकै भयो भने आफैंलाई चित्त बुझ्दैन त्यसैले आफूभन्दा सिनियरको कोरियोग्राफीबाट सिक्ने गर्छु, आजभोलि त इन्टरनेटको जमाना छ विदेशमा हुने फेशन शो हरूमा के भइरहेको छ त्यो पनि हेर्नेगर्छु । त्यसैले हरेक कार्यक्रममा केही न केही फरक दिने कोसिस गरिरहेको हुन्छ ।

एक फेशन शोमा तपाईंको कोरियोग्राफीको बजेट कति हुन्छ ? 

कुनै पनि फेशन शोको बजेट भेन्यू हेरेर हुन्छ । कत्तिको साम्रगी प्रयोग गर्ने त्यसमा बजेट निर्धारण हुन्छ । साधारणतया पाँच लाख रुपैयाँबाट सुरु हुन्छ । त्यसमा कोरियोग्राफी, स्टेज, लाइटका कुरा पर्छन् । अब त्यो भन्दा माथि जति पनि बजेट लाग्छ सक्छ, यदि कुनै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेलिब्रेटीहरू ल्याउँछौं भने १० लाख, २० लाख गर्दै ५० लाखसम्म पुग्न सक्छ ।

पछिल्लो समय ब्युटि पेजेन्ट धेरै हुन्छन् कुनै संस्था छ कि छैन जसले यसलाई कन्ट्रोल गरोस् ?

जो कोही मापदण्डविना यतिकै ब्युटि पेजेन्ट आयोजना गरिरहेको पाइन्छ । कोही व्यक्ति केही समय एक ब्युटि पेजेन्टमा समय बितायो भने अर्को ब्युटि पेजेन्टको आयोजना गरिदिएको पाइन्छ । 

ब्युटि पेजेन्टसँग सम्बन्धित ठूलो अनुभव बटुलेका व्यक्ति मिलेर ब्युटि पेजेन्ट एसोसिएसन नेपालको स्थापना हुँदैछ । गोपाल सुन्दरलाल कक्षपतिको अध्यक्षतामा स्थापना भएको यो संस्थाले कुनै पनि ब्युटि पेजेन्ट आयोजना गर्दा केके कुरामा ध्यान दिनुपर्छ, न्यूनतम मापदण्ड कति हुनुपर्छ जस्ता कुराहरूको विधान बन्दैछ । यो संस्थाबाट नयाँ आयोजकहरूले सिक्न सक्नुहुनेछ । यस संस्थामा म पनि आफ्ना केही अनुभव शेयर गर्छु भनेर आबद्ध भएको छु ।


Views: 45